‘आज पनि सधैँजस्तै बा’ले आमालाई बेस्सरी पिटिरहदाँ मलाइ सधैँजस्तै पीडा भएको थिएन । बरु, मनमा कताकता रिस उठिरहेको थियो सायद ! यस्तै भइरहयो भने प्रत्येक दिन, मेरो हातबाट केही अपराध हुनेछ । र त्यो भन्दा अघि नै म यहाँबाट टाढिनु उचित हुन्छ ।’
थुप्रै दिनपछि आज ऊ बाहिर निस्किएको छ ।
झरी परिरहेको साँझ, एउटा हातमा रंगको कुची र क्यानभास, र अर्को हातमा पुरानो कालो छाता । कालो बादलजस्तै अँध्यारो । उसको मुहार । त्यो छाताले उसँगै उसको गाउँ छोडेर आएको हो । सायद, ऊ भन्दा कैयौं वर्ष जेठो पनि हो । अनेकौं झरीहरु, घामहरु, छेक्दै–खिईदै बित्यो छाता र छाता समाउनेको जिन्दगी ।
हरेक दिन जस्तै ऊ चुपचाप गयो र आफ्नो रंगलाई एकातिर राख्यो । क्यान्भासलाई अर्कातिर अड्यायो । कुर्न थाल्यो त्यसपछि । आउँछ कोही र भन्छ कि कतै ? जीवनका रंगहरुलाई यी रंगहरुमा उतार्नुस् । म किनेर लैजाने छु ।
ऊ कुरिरहेको छ । वर्षौदेखि यसरी । कुर्दाकुर्दै उसलाई रंग पनि मन पर्न छोडेको छ । उसलाई कुची क्यान्भास पनि मन पर्न छोडेको छ । जीवन पनि मन पर्न छोडेको छ । मन पर्ने केही छ ? त्यो केवल केही पनि होइन ।
ब्यस्त बजार । चोक । गल्ली । सबैतिर भौतारिँदै । अन्त्यमा यहीँ आइपुगेर अडियो हिजोजस्तै । अस्तिजस्तै । अस्तिको हिजो र त्यो भन्दा पनि हिजोजस्तै ऊ यहीँनेर अडियो । मानौँ, यो लेखिएको छ कि, हरेक दिन ऊ यसरी नै सबैतिर भौँतारिएपछि अडिनु पर्ने थलो यहीँ हो । तर ! सरासर यहीँ आउन खोज्दा कहिल्यै उसका पैताला चल्दैनन । कहिल्यै बाटाहरु सर्दैनन् ।
ऊ गरिब चित्रकार हो । चित्रकार छ, त्यसैले गरिब छ । किनकिन त्यसैपनि ऊ पृथक छ । रंगहरुसँगै बाँचेर रंगहीन छ ।
[caption id="attachment_53281" align="alignright" width="150"]
–अमि प्रिन्स[/caption]
पानीले भर्खर पखालिएका रुखका पातहरुमा उ हजारौँ घाम देखिरहन्छ । पुरानो टुँडालमा लगाएको माकुराको जालोमा उज्यालो अल्झिरहेको छ भनिरहन्छ र हरेक पटक हत्केलाले सूर्य छेकेर भनिरहन्छ, ‘म घामलाई जितिरहेछु ।’ ऊ चित्रकार हो, त्यसैले यस्तो छ । वा ऊ यस्तै छ, त्यसैले चित्रकार हो ।
हिजो उसँग सधैँजस्तै भेट्दा उसले मेरो हातमा एउटा डायरी थमाइदिएर गएको छ । खोलेर पढ्न थालेको पनि उसले दिएर गएपछिलगत्तै हो । डायरीको सुरुवातकै पानामा केही चित्रहरु छन् । केही अर्थ बोकेका अनर्थहरु छन् । ऊ चित्रकार हो त्यसैले यस्तो गरिरहेछ । ऊ यस्तो गरिरहेछ, त्यसैले ऊ चित्रकार हो ।
‘आज पनि सधैँजस्तै बा’ले आमालाई बेस्सरी पिटिरहदाँ मलाइ सधैँजस्तै पीडा भएको थिएन । बरु, मनमा कताकता रिस उठिरहेको थियो सायद ! यस्तै भइरहयो भने प्रत्येक दिन, मेरो हातबाट केही अपराध हुनेछ । र त्यो भन्दा अघि नै म यहाँबाट टाढिनु उचित हुन्छ ।’
केही लेखिएर खाली पानाहरु छन । उसले थमाइदिएका डायरीका पानाहरुमा । उसले चित्रजस्तै एबस्ट्र्याक्ट लेखेको छ शब्दहरु पनि । ऊ चित्रकार हो त्यसैले यस्तो छ । ऊ यस्तै छ, त्यसैले नै ऊ चित्रकार हो ।
‘भन्डारखाल । माघ ४, २०६८ । तीनवर्षसम्म मजस्तै हराएको डायरी आज पाएको छु र फेरि केही लेख्दै छु । के के भए यही अन्तरालमा, के के घटित भए यही समयको दुई कालबीचमा, के के बगिगए समयको आँधी हूरीमा, पत्तो छैन केही । सायद, बगेका आकाक्षाहरु थिए, जो बग्दैबग्दै गए र बिलाए । सायद ! बगेका रहरहरु थिए, जो कलिलै थिए, पौडिन नजानी डुबेर र फेरि तैरिए । यसरी डुब्दैडुब्दै तैरिँदै गर्नु पनि रहरहरुको धर्म हो ।
म हारिरहेको छु प्रत्येक दिन । थाहा छैन के स्वतन्त्रता खोज्दैछ मभित्रको मान्छे । यथार्थको धरातलमा उभिएर कहाँ कहाँ कल्पनाको जीवन जीउँदै हिँडिरहेको हुन्छु सधैँ ।
र, प्रत्येक हिँडाईका पाइलाहरुसँगै प्रश्नहरुको आक्रमणले म छेद्विच्छेद् भइरहन्छु
प्रश्नहरु यस्ता हुन्छन्ः–म को हूँ ?– म एक व्यक्ति हूँ ? कि मभित्र अर्को कोही जीवित छ ?– के छ त्यस्तो यो हृदयभित्र जुन निस्किएर फुत्त बाहिर उड्न चाहन्छ स्वतन्त्रको उडान ?– यथार्थमा बाँचेर म दर्शनको श्वास किन फेरिरहेको छु ?र अरु थुप्रै यस्तैयस्तै ।
जब केही नजान्ने थिएँ, तब सबै जान्दैथिएँ । जब केही जान्दै जान्दै जाँदैछु, अहिले मलाइ केही आउँदैन । म अज्ञानताको भूमरीमा लपेटिएर खरानी हुँदासम्म सकिइसकेको छु । अब एक झोका हावाले मलाइ उडाएर लैजान सक्छ
जहाँतहीँ । जताततै । म छुइनँ आफ्नै बसमा पनि । स्वयम् आफैँसँग बिदा मागेर म जाँदैछु । टाढा । धेरै टाढा । जहाँ । ब्याकुल मन । चञ्चल हृदय । सोच्मग्न मस्तिष्क । सबै सबै शून्य बन्नेछन् । र, म रंगहरुको सागरमा फेरि डुबुल्की मार्न पाउनेछु । म रंगहरुसँग फेरि रंगिन पाउनेछु ।
–अल्बिदा
ऊ चित्रकार हो । उसका चित्रहरु सुन्दर हुन्छन् । आज उसले दिएर गएको डायरीमा उसका जीवनका दुई दिनका घटनाहरुको केही विवरणहरु छन् । मेरो हातमा छन् । म अचम्मित छु । ऊ चित्रकार नै हो ? कि चित्रकार भन्दा पहिले अरु केही थियो ?
रंगहरु छरपस्ट छन् । जताततै । वरिपरि चित्र छन् । जताततै । ऊ चित्रकार हो, त्यसैले यसरी बसेको छ । ऊ यसरी बसेको छ, त्यसै ऊ चित्रकार हो । म चुपचाप ढोकाछेउबाट उसलाई चिहाइरहेछु । ऊ चुपचाप छ । रंगहरु उसका अघिल्तिर छरपस्ट छन् । रंगहरु अझै बाँकी नै छन । आधा–आधा । अधूरा ।
त्यतिकैमा कोही उसको नजिकैबाट कराउछ, हातमा एक टुक्रा कागज लिएर ‘धेरै राम्रो कला भएको मान्छे थियो यो । अनि त्यही कला भएरै खान नपाएर आत्महत्या गर्यो ।’
पानीले भर्खर पखालिएका रुखका पातहरुमा उ हजारौँ घाम देखिरहन्छ । पुरानो टुँडालमा लगाएको माकुराको जालोमा उज्यालो अल्झिरहेको छ भनिरहन्छ र हरेक पटक हत्केलाले सूर्य छेकेर भनिरहन्छ, ‘म घामलाई जितिरहेछु ।’ ऊ चित्रकार हो, त्यसैले यस्तो छ । वा ऊ यस्तै छ, त्यसैले चित्रकार हो ।