सल्यान । सल्यानमा नयाँ प्रविधि अपनाएर तरकारी खेती गर्न शुरु गरिएको छ । जिल्लाको सिद्ध कुमाख गाउँपालिकामा थ्रीजी (घन्) प्रविधि अपनाएर लौका खेती गर्न शुरु गरिएको हो । सिद्धकुमाखको ढोरचौरका किसान कुलाराम रेउलेले गाउँपालिकामा रहेको कृषि शाखाको सहयोगमा यो प्रविधि अवलम्बन गरि तरकारी खेती शुरु गरेको जनाए ।
कम लागत र उत्पादन धेरै गर्ने लक्ष्यका साथ यो प्रविधि अपनाएका कृषक कुलारामले, थ्रीजी प्रविधिबाट लौका खेती गर्दा अरु तरिका भन्दा दोब्बर उत्पादन हुने बताए । तरकारी खेतीबाटै मनग्य आम्दानी लिइरहेका उनले लौकाको लहराको मुन्टा काटेर धेरै फल पाउन सकिने यो प्रविधि गज्जव लागेको बताए ।
लौकाको फुल फुल्नु अगाडी नै मुख्य लहराको मुन्टा काटिदिने प्रविधि नै थ्रीजी वा फोरजी प्रविधि भएको उनले बताए । सिद्धकुमाख गाउँपालिकाका कृषि शाखा प्रमुख भिमसेन विकले भने, ‘यस प्रविधीमा लौकाको फुल फुल्नु अगावै यसको मुख्य लहरा १० देखि १२ पातको भएपछि मुन्टा काटिदिनु पर्छ ।’
लौकाको लहराको मुन्टा हटाइसकेपछि तलवाट निस्केका शाखा हाँगाहरू मध्य दुईवटा जति पाल्ने र वाँकी सवै हाँगाहरू हटाउनु पर्ने विकले बताए । ‘यसरी पालेका हाँगाहरू दोस्रो पुस्ता हुन्,’ उनले भने । यी दोस्रो पुस्ताको हाँगारूमा भाले फुलहरू धेरै हुने भएको हुनाले फेरि १० देखि १२ पात भएपछी लहराको मुन्टा काटेर हटाउने र यसरी मुन्टा हटाइसकेपछि फेरि अरु हाँगाहरु आउने उनले बताए । विकका अनुसार यी पछि आउने हाँगाहरू तेस्रो पुस्ताका हुन् । र यसलाइ नै थ्रीजी (थर्ड जेनेरेशन) प्रविधि भनिन्छ ।
‘यी तेस्रो पुस्ताका हाँगामा माउ फुल धेरै हुने हुँदा प्रत्येक आँख्लाहरूमा फल लाग्छ र सामान्य प्रविधिमा भन्दा दोब्बर उत्पादन लिन सकिन्छ,’ कृषि शाखा प्रमुख विकले भने । यसरी फेरि तेश्रो पुस्ताका हाँगालाइ पनि त्यसरी नै १० देखि १२ पात पुगेपछि मुना हटाउने हो भने आउने हाँगाहरू चौथो पुस्ताका हुन् ।
यसलाइ फोरजी कटिङ प्रविधि भनिने उनले बताए । ‘यि हाँगाहरूको प्रत्येक आँख्लाहरूमा २ वटा फल लाग्छ र उत्पादन तेब्बर वढी लिन सकिन्छ,’ उनले अघि भने, ‘यो प्रविधी अपनाउन सकेमा उहि लागतमा उत्पादन दोब्बर बढाउन सकिन्छ ।’ गाउँपालिकाभरि नै यस प्रविधिलाइ विस्तार गर्ने योजना रहेको सुनाउँदै विकले थ्रीजी तथा फोरजी प्रविधि लहरे तरकारी वालिहरू काक्रो, करेला, घिरौला र भाण्टामा पनि अपनाउन सकिने बताए ।
सल्यानमा काउली, मूला, गाजर, बन्दा, गोलभेडा, भेडेखुर्सानी, स्कुस, काँक्रो, अदुवा, लसुन आदि धेरै तरकारी र मसला बालीहरु लगाउन सकिन्छ । यस क्षेत्रमा व्यापक मौसमी विविधता रहने भएकोले व्यवसायिक तरकारी खेतीको लागि ज्यादै उपयुक्त स्थान हो । यस क्षेत्रमा समय मिलाएर सबै प्रकारको तरकारी खेती गर्न सकिन्छ । बेमौसमी तरकारी खेतीका लागि पनि यो क्षेत्र सबैभन्दा उपयुक्त छ ।
र थ्रीजी तथा फोरजी प्रविधि जस्तै नयाँ नयाँ तरिकाहरुबाट तरकारि र फलफुल खेती गरेमा किसानको आर्थीक अवस्था निकै माथी उठ्ने सम्भावना छ । यसमा यहाँका स्थानीय सरकारको पनि योजना र लगानी हुन आवश्यक देखिन्छ । तरकारि खेतीलाइ व्यवस्थीत र व्यवशायीक बनाउन सकेमा मात्रै पनि यहाँका स्थानीय तहहरु समृद्धितर्फ अगाडी बढ्नलाइ ठूलो सहयोग पुग्ने देखिन्छ ।