लक्ष्मण शर्माकञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ महुलिया, उल्टाखाम घर भएकी १३ वर्षिया निर्मला पन्तको गएको बिहीबार दिउँसो बलात्कारपछि हत्या भयो । साथीको घरमा अध्ययन गरेर फर्किने क्रममा उनको बलात्कार पछि हत्या भएको हो । उनको शव भोलिपल्ट बिहान मात्रै परिवारले भेटे । यो त बलात्कारको पछिल्लो प्रतिनिधि घटना मात्र हो ।
पछिल्लो समय नेपालमा बलात्कारका घटना बढ्दै गएका छन् । एकपछि अर्को गरेर बलात्कारका घटना बढदै जाँदा बलात्कारीलाई कारबाहीको विषय पेचिलो बन्दै गएको छ । कारबाही गर्ने दरिलो कानुन नहुँदा नेपालमा यस्ता प्रकृतिका घटनामा बढोत्तरी भएका छन् । पछिल्लो चार महिनामा मात्रै नेपालका विभिन्न ठाउँमा ७८ जना बालिका बलात्कारको शिकार भए ।
आफन्त, छिमेकी, साथी र चिनेजानेकाबाट नै धेरै बलात्कारका घटना भइरहेका छन । शिक्षकदेखि जन्म दिने बाबुबाट पनि बालिकाहरु हिंसामा परेका छन् । सुचना प्रविधिको बढ्दो दुरुपयोगसँगै बालबालिकामाथि बलात्कार र यौनजन्य हिंसा बढ्दै गएका हुन । बालकले समेत बालिका बलात्कार गरी हत्या गरेका घटना बाहिर आएका छन । बलात्कारका घटना बढ्दै जाँदा दोषीलाई अपराध अनुसारको कारबाही हुन नसकेको नागरिकको बुझाइ छ ।
निर्मला पन्तको हत्यापछि आक्रान्त बनेका कञ्चनपुरबासीले हत्यारालाई कारबाहीको माग गर्दै आन्दोलन नै गर्नु प¥यो । आन्दोलनमा होमिएका उनीहरुले निर्मलाको शव बुझन मानेनन् । पाँच दिनको आन्दोलनपछि आइतबा राति जिल्ला प्रहरी कार्यालयमा मृतक पन्तका परिवार र आफन्तले गरेको सहमतिअनुसार हत्या भएको पाँच दिनपछि आज दाहसंस्कार गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान गर्न कुनै कसर बाँकी नराखी सत्यतथ्य रुपमा अनुसन्धान गर्ने र दोषीलाई हदैसम्मको सजाय गर्ने प्रतिबद्धता जनाएपछि मृतकका परिवार र आफन्त दाहसंस्कार गर्न तयार भएका हुन् ।
हत्यापछि अनुसन्धानका लागि कञ्चनपुर पुगेको सिआइबीको टोलिले हत्यारा पत्ता लगाउने विषयमा अनुसन्धान गर्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाएको छ । टोलीले आइतबारदेखि नै अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । आज बिहान महाकाली आर्यघाटमा निर्मलाका बुवा यज्ञराज पन्तले उनको मृत शरीरमा दागबत्ती दिनुभएको हो । दागबत्ती दिँदा निकै भावुक देखिनु भएका यज्ञराजले आफ्नी छोरीलाई बलात्कार गरी हत्या गर्नेलाई कडा कारबाहीको माग गर्नुभयो ।
बलात्कार पछि हत्याको विषयमा नेपालमा कानुनी व्यवस्था के छ ?
नेपालमा प्रचलित मुलुकी ऐनमा भएको व्यवस्था अनुसार बालिका बलात्कारको घटनामा १० वर्ष भन्दा मुनीका बालिका बलात्कारीलाई १० देखि १५ वर्षसम्मको कैद सजायको व्यवस्था रहेको छ । १० वर्षमाथि १४ वर्षसम्मका बालिका करणीको अभियोगमा १२ वर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ । १४ वर्षदेखि १६ वर्षसम्मका बालिका करणी गर्नेलाई ८ देखि १२ वर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ ।
त्यस्तै बलात्कारको प्रकृति हेरेर १६ वर्षदेखि २० वर्ष उमेर समूहका महिलालाई जबरजस्ती करणी गर्नेलाई ५ देखि ८ वर्षसम्म कैद तोकिएको छ । २० वर्षभन्दा माथिका महिला बलात्कार गर्नेलाई ५ वर्षको कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ । मुलुकी ऐन अनुसार श्रीमति बलात्कार गर्नेलाई ३ देखि ६ महिनासम्म कैदको व्यवस्था कानुन उल्लेख गरिएको छ । तर नेपाल सरकारले यही भदौ १ गतेदेखि लागु हुने गरी बलात्कारीलाई कारबाही गर्ने नयाँ कानुन निर्माण गरेको छ ।
कानुनमा भेद
नेपालमा बलात्कारका घटना बढ्दै जानुमा कानुनी व्यवस्था फितलो रहेको कानुनका जानकारहरुको तर्क छ । बलात्कारपछिको हत्याका घटनाका सम्बन्धमा छुट्टै कानुनी व्यवस्था छैन । यदी बलात्कारपछि हत्या भयो भने यो काण्डमा मृत्युदण्डको लागि भएको कानुनी प्रावधान अनुसार कारबाही गरिन्छ । यसमा बलात्कारको घटना गौण घटनाको रुपमा लिइने गरिन्छ ।
छिमेकी राष्ट्र भारतमा बलात्कारपछि हत्या गरिएका घटनामा दुईवटा घटनामा मुद्वा चलाएर कारबाही गर्ने प्रावधान रहेको छ । नेपालमा भएको यही कमजोर कानुनी व्यवस्थाका र राजनैतिक हस्तक्षेपका कारण घटनामा बढोत्तरी भएको कानुनविदहरुको भनाइ छ ।
विश्वमा बलात्कारका घटनामा कानुनी व्यवस्था के छ ?
बलात्कारका विषयमा विश्वका विभिन्न देशमा भिन्नाभिन्नै व्यवस्था गरिएको छ ।भारतः भारतमा बलात्कार गर्नेलाई जन्मकैदको व्यवस्था रहेको छ । तर भारतका विभिन्न प्रदेशमा बलात्कार घटनाका प्रकृति हेरेर भिन्न कानुनको पनि व्यवस्था गरिएको छ ।
फ्रान्सः फ्रान्समा बलात्कारीलाई १५ वर्षको कैद सजाय हुने कानुनी प्रावधान रहेको छ ।
चीनः चीनमा बलात्कार गर्नेलाई घटनाको प्रकृति हेरेर मृत्युदण्डदेखि जन्मकैद सम्मको कानुनी व्यवस्था रहेको छ ।
साउदी अरेबियाः मुस्लिम देश साउदी अरेबियामा बलात्कार गर्नेलाई कुटेर मार्ने कानुनी व्यवस्था रहेको छ ।
उत्तर कोरियाः उत्तर कोरियामा बलात्कार गर्नेलाई गोली ठोकेर मार्ने कानुनी व्यवस्था रहेको छ । अफगानिस्तानमा पनि बलात्कारीलाई गोली हानेर मार्ने कानुनी व्यवस्था रहेको छ ।
इजिप्टः इजिप्ट र इरानमा बलात्कार गर्नेलाई झुन्डाएर मृत्युदण्ड दिने कानुनी व्यवस्था रहेको छ । त्यस्तै नर्वे, इजिप्ट र इजरायलमा पनि घटनाको प्रकृति हेरेर जन्मकैदसम्मको सजाय गरिने कानुनी व्यवस्था रहेको छ ।
[video width="1920" height="1080" mp4="https://45.77.241.73/wp-content/uploads/2018/07/ASRUGUSS____AVO-SARITA.mp4"][/video]