नारायण भण्डारी
विश्वको महान् तीर्थस्थल कैलाश मानसरोवरमा तीर्थयात्रीको लस्कर लागेको छ । भगवान शिवको दर्शन पूजनका लागि साउन महिना उत्तम मानिने हुँदा कैलाश परिक्रमा गर्न जानेको ताँती लागेको हो ।
कैलाश मानसरोवर चीनको स्वशासितक्षेत्र तिब्बतमा पर्ने भएता पनि धेरै तीर्थयात्री नेपालको बाटो भएर जाने गर्दछन् । नेपाल,भारत,बंगलादेश तथा विश्वका विभिन्न राष्ट्रबाट आएका कैलाशयात्रीहरुमध्ये कति नेपालको रसुवागढी केरुङ भएर तिब्बत जान्छन् त कति हुम्लाको सिमकोट ताक्लाकोट भएर मानसरोवर पुग्ने गर्दछन् ।
नेपालको बाटो हुँदै मानसरोवर पुगेका तीर्थ पर्यटकहरुले पवित्र जलाशयमा स्नान गर्नुका साथै यज्ञ होम गर्दछन् । यसरी मानसरोवरको जलाशयमा स्नान गरी जलपान गर्नाले जीवनभरको पाप नाश हुने विश्वास गरिन्छ । यहाँ श्राद्धतर्पण गर्नाले पितृमोक्ष हुने पौराणिक प्रसंग छ ।
मानसरोवरसँगै राक्षसताल नामको विशाल जलाशय छ, तर यसमा भने जलस्नान तथा तर्पणको काम गरिन्न । यिनै जलाशयबाट कर्णाली,गंगा,सिन्धु ब्रह्मापुत्र लगायतका विश्वविख्यात नदीहरु निस्केका छन् ।
राक्षसताल नामको विशाल जलाशय छ, तर यसमा जलस्नान तथा तर्पणको काम गरिन्न
मानसरोवरमा तीर्थ स्नान गरेपछि तीर्थयात्रीहरु कैलाश परिक्रमा कोराका लागि उत्तर लाग्दछन् । धार्चेनबाट यात्रीहरु पैदलयात्रा गरी यमद्वार पार गर्दै डेरापुक पुग्छन् । डेरापुकबाट कैलाश पर्वतको उत्तरी मोहडा प्रष्ट देखिन्छ ।
अर्को दिन केही उकालो चढेर कैलाशपूर्वमा पर्ने ५ हजार ६ सय ४० मिटर उचाइको डोल्मा भञ्ज्याङ पार गरी गौरीकुण्ड पुग्दछन् । त्यसपछिको ओरालो झरेर गुम्बा हुँदै ५२ किलोमिटर पदयात्रा गरी कैलाश परिक्रमा पूरा गर्दछन् ।
कैलाश मानसरोवर परिक्रमा गर्न पाउनु जीवनको अहोभाग्य मानिन्छ । हिन्दु, बौद्ध, जैन बोन धर्मावलम्बीहरु कैलाश परिक्रमामा बडो उत्साहका साथ सहभागी भएको देखिन्छ । चीनले नेपाली पर्यटन व्यवसायीहरुलाई दक्षिणबाट तीर्थपर्यटकलाई कैलाश पुर्याउने सुविधा प्रदान गरेको छ ।