-शिलु अधिकारी
काठमाडौँ । भनिन्छ तन बूढो भएपनि मन बूढो हुनुहुँदैन । मनले चाह्यो भने चाहेको कार्य गर्न सकिन्छ । कुरा हो ८२ वर्षका गायक जगतमर्दन थापाको । गायक थापा ८२ वर्षका भए । तर यो उमेरमा पनि उनले सङ्गीत यात्रालाई निरन्तरता दिइरहेका छन् । उनले चौथो एकल आधुनिक गीति एलबम म पतझड तिमी मधुमास मङ्गलवार सार्वजनिक गरेका छन् ।
मंगलबार लाजिम्पाटस्थित नेपाली चूलोमा थापाको चौथो एकल एल्बमलाई शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको प्रमुख आतिथ्यमा विमोचन गरिएको हो । प्रायःजसो विमोचन कार्यक्रममा मुस्किलले ५०/१०० जनाको उपस्थिति हुने गरेको छ । तर थापाको एलबम विमोचनमा चार सय बढी व्यक्तिको उपस्थितिले हलनै खचाखच भरिएको थियो ।कार्यक्रममा गायक थापाले प्रत्यक्ष रुपमा आफ्ना केहि गीतहरु समेत सुनाएका थिए । उनको गायनले दर्शकहरु मन्त्रमुग्ध मात्र भएनन् उत्साहित पनि बनेका थिए ।
कार्यक्रममा थापालाई उनकै नाति–नातिनीले गिटार बजाएर साथ दिएका थिए । नातिले हजुरबुबाको सम्मानमा गीत समेत गाएका थिए ।
एल्वममा उनले एउटा गीत प्रसिद्ध भारतीय गायिका उषा मंगेस्करसँग गाएका छन् । ५१ वर्षअघि नै गायिका मंगेस्करसंग गीत गाउने योजना बनेको भएपनि परिस्थितिले साथ नदिएको गायक थापाले स्मरण गरे । तर आज आएर त्यो सपना पनि पूरा भएकोमा उनले खुशी व्यक्त गरे । उषा मंगेस्करको स्वर सहित विभिन्न शैलीका गीतहरु भएका कारण एल्वमका गीतहरुलाई सबै वर्गले मनपराइदिने थापाको विश्वास छ ।
कार्यक्रमका सभापतित्व गरेका वरिष्ठ चलचित्र निर्देशक तथा गीतकार चेतन कार्कीले गायक थापाको एलबम ऐतिहासिक उपलब्धी भएको बताए । गायिका सुक्मित गुरुङले गायक थापाको संगीतप्रतिको लगाव देखेर आफूलाई पनि नयाँ गीत निकाल्न प्रेरित गरेको बताईन् ।
कार्यक्रममा गायक थापालाई काठमाडौँ वडा नं. २ लाजिम्पाट तथा फ्रेन्स अफ लाजिम्पाटले सम्मान गरेको थियो । कुल ७ गीत संग्रहित एल्बममा थापाकै शब्द सहित रत्नशमशेर थापा, विश्व बल्लभ, सहदेव ढुंगाना, मोहितमर्दन थापाको शब्द रचना छ भने शिखर सन्तोष, किरण कँडेल, मनाहर सुनाम, राजु सिंह, मदन सिंह र महेन्द्र सङ्गीत निकेतनको सङ्गीत सिर्जना रहेको छ ।
वि.सं. २०१८ र २०२२ सालमै गीत रेकर्ड गराएका थापाले जागिरका कारण निरन्तरता दिन पाएका थिएनन् । पछि उनले २०५८ सालमा पहिलो एलबम ४० वर्षअघि ४० वर्ष पछि, २०६८ मा दोस्रो एल्वम मनको शान्ति र २०७३ मा तेस्रो एल्वमका रुपमा माया लुकाई लुक्दैन सार्वजनिक गरेका थिए । उनले ७३ वर्षको उमेरमा भारतको इलाहावाद प्राज्ञ सङ्गीत समितिबाट बि म्यूजिक समेत गरेका छन् ।
साधारणतया नेपालीहरु ६० वर्ष कटेपछि अवकाश जीवन बिताउने प्रचलन छ । ८० वर्ष कटेपछि त झन् अरुको सहारा बिना जीवन यापन गर्नै मुस्किल पर्छ । तर सङ्गीत क्षेत्रमा जगतमर्दन थापाको सक्रियता साँच्चिकै लोभलाग्दो रहेको धेरैको प्रतिक्रिया थियो ।