–प्रतिमा चौधरीइर्ष्या के हो ? इर्ष्या एउटा भाव हो । जुन कोहीसँग कुनै यस्तो बस्तु हुनाले आउन सक्छ, जुन तपाईं प्राप्त गर्न चाहनु हुन्थ्यो अथवा यदि कुनै बस्तु कोहीसँग तपाईं भन्दा बढी छ । यदि तपाईंमा कुनै किसिमको अपूर्णता छ, जसका कारण अरुका अगाडि तपाईंलाई राम्रो अनुभूति हुँदैन भने यसले गर्दा पनि धेरैपटक इर्ष्या हुन सक्छ ।
इर्ष्यामा मुख्यरूपले अपूर्णताको भाव लुकेको हुन्छ । यदि तपाईं आनन्दभावले पूर्ण हुनुहुन्छ भने तपाईंभित्र कसैप्रति पनि इर्ष्याभाव हुँदैन । जब तपाईंलाई लाग्छ कि तपाईंको आसपासमा बसेको मान्छेसँग तपाईं भन्दा केही बढी छ वा तपाईंले आफूलाई उसको भन्दा कम ठान्नु हुन्छ भने अनि इर्ष्या भाव जन्मिन्छ । तर यदि तपाईं आफूमै मस्त हुनुहुन्छ भने इष्र्याको ठाउँ नै हुँदैन ।
मानिस विपरीत भावहरुको जालमा उल्झिँदै बाँच्छ । उसको केही भाव सकारात्मक हुन्छ त केही नकारात्मक । प्रेम, सद्भाव, सेवा र त्यागको प्रवृत्ति जहाँ जीवनको उत्थानका कारण बन्छन् त्यहीँ अर्कातर्फ क्रोध, इर्ष्या, द्वेष जस्ता भावले मानिसलाई कति नोक्सान गर्छ भन्ने यसको अनुभूति ऊ स्वयम्ले पनि थाहा पाउँदैन ।
इर्ष्या एक नकारात्मक भाव हो, जसको तीव्रता कहिले मन्द त कहिले तीव्र प्रतीत हुन्छ । कहीँ कहीँ त अत्यधिक इष्र्याग्रस्त प्राणी अरुलाई हानी पुर्याउनुका साथ स्वयम् आफ्नो विनासतर्फ अग्रसर हुँदै जान्छ । यदि चिन्ता चितासमान हो भने इष्र्या उसको अग्नि हो । त्यसैले त यसलाई जलनको संज्ञा दिने गरिन्छ । स्वभावमा इर्ष्या हुनु कहीँ न कहीँ आफूमै पछौटेपनको परिचायक हो ।
मानिस प्रत्येक क्षेत्रमा सफल हुन सक्दैन, तर अविवेकी मानिस यो मान्न थाल्छन कि म अग्रणी हो, म भन्दा राम्रो वा योग्य अरु कोही छैनन् । यस्तो परिस्थितिमा जब उसले त्यो प्राप्त गर्न सक्दैनन् जुन अरुले सजिलै भोगिरहेका हुन्छन् अनि ऊ इर्ष्याभावले ग्रस्त हुन थाल्छ । यो भाव उसको प्रकृति र संस्कारको अंश बन्न थाल्छ । त्यसपछि इर्ष्याले जन्म दिन्छ क्रोध र घृणालाई, जो अझै भयंकर परिणामको कारण बन्छ ।
मनोवैज्ञानिकहरुले पनि यो तथ्यको पुष्टि गरेका छन् कि एक सीमाभन्दा अगाडि इर्ष्याले मानिसलाई एककिसिमको रुग्णावस्थामा पुर्याइदिन्छ । तर दुर्भाग्य उसलाई त्यो विषम परिस्थितिको ज्ञानसम्म हुँदैन कि इर्ष्याको मनोदशाले उसलाई कुन दलदलमा धसाउँदैछ । इर्ष्या एक यस्तो लुकेको भाव हो, जसलाई मानिसले जान्दाजान्दै बुझ्दाबुझ्दै पनि अस्वीकार गरिरहन्छ । वैज्ञानिक विश्लेषणले पुष्टि गरेको छ कि, क्रोध र इष्र्याको स्थितिमा शरीरमा नोक्सानी गर्ने हार्मोनको स्राव धेरै हुन्छ ।
इर्ष्याग्रस्त प्राणीले स्वयम् आफैँलाई नै पीड़ा दिन्छ । यदि अरुसँग व्यर्थको होडबाजी न गरी संयमतापूर्वक मानिसले आफूलाई माथि उठाउन प्रयासरत रह्यो भने कुनै कारण छैन कि इर्ष्या जस्तो आगोबाट बच्न नसकियोस् ।