–कृति भट्टराई
आई लभ यू, माई डियरएकाबिहानै एक जनाले मेसेन्जरमा मेसेज ग¥यो (अपरिचितले) पहिले त हाँसो लाग्यो ..... यो दुनियाँ नि अजीब छ हो.... आइ लभ यू रे... यसो हेरेको प्रोफाइल फोटो श्रीमतीलाई झुक्याउन हो कि मान्छेहरु.... श्रीमतीसँगको सुन्दर फोटो राखेको रहेछ .... के हो मानसिकता पनि कस्तो कस्तो होला है, त्यो व्यक्तिप्रति रिस होइन त्यो व्यक्तिको सोचप्रति चाँहि कठै भन्न मन लाग्यो.......
माथिका यी हरफहरु सापटी लिएकी हुँ, केही दिनअघि एक साथीले सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । पोष्टमा कमेन्टहरु पनि पढेँ । केहीले हल्का लिएका थिए । केही आई लभ यू न भनेको हो, त्यसलाई उसको मानसिकतासँग दाँज्नुभन्दा बेवास्ता गरिदिए भैगयो भन्ने सल्लाह पनि दिँदै थिए ।
मनमा लाग्यो, हो नि ! हिजोआज आई लभ यू यति हल्का भएको छ कि जसले जसलाई भन्दा पनि खासै अर्थ लाग्ने देखिँदैन । यसो सोच्दै गर्दा मैले आफ्ना फेसबुकका केही साथीहरु सम्झेँ । जो विवाहित छन् वा कसैसँग प्रेमिल सम्बन्धमा रहेको बताउँछन् । प्रोफाइलमा श्रीमतीको फोटो छुटाएका छैनन् । अझ छोराछोरीका आदर्श मातापिताका प्रतिरुपमा जन्मदिवस, वैवाहिक वर्षगाँठ जस्ता उपलक्ष्यमा विशेष सन्देश पनि राख्ने गर्छन् । सम्झेँ, तिनले बेलाबेला पठाएका सन्देश । हिजोआज सामाजिक सञ्जालले मानिसलाई जोड्दै छ वा भएका सम्बन्धलाई अवमूल्यन गर्न सिकाउँदै छ ?
सामाजिक प्राणी भनिने मानिसलाई समाजसँग जोड्दैछ वा समाजबाट अलग अराजकताको पराकाष्ठातर्फ धकेल्दैछ ? यी तमाम प्रश्न फेरि मनभित्र खेल्न थाले । समाज बदलिँदै छ । हिजोसम्म चुलोचौकामा सीमित छोरीचेली पुरुषसँग काँधमा काँध र कदममा कदम मिलाई घर बाहिर होस् वा भित्र, एउटा दरिलो भर बनेका छन् । हिजो सायद एउटी छोरी हुँदा सानोमा बुबा वा दाजुभाइ, विवाहपछि श्रीमान् अनि बुढेसकालमा छोरा बाहेकका पुरुष साथ संगत सामाजिक अनुशासन खिलाफ मानिन्थ्यो ।
तर आज हामी महिला भएकै कारण कुनै पनि किसिमका भेदभावरहित जीवन बाँच्न सक्ने र स्वःनिर्णय गर्न सक्ने अधिकार प्रदत्त समाजमा छौँ । जहाँ हरदिन नौला संगतिहरु पनि भेटिन्छन् । अझ सामाजिक सञ्जालकै कुरा गर्ने हो भने यसले दायरा धेरै फराकिलो बनाइसकेको छ ।
हिजो केटा र केटीबीचको मित्रता त परै जाओस् सामान्य बोलचालसमेत किन र कसो भन्ने यही समाजका अघि आज हामी निर्धक्क फलानो मेरो साथी भन्न सक्ने भइसकेका छौँ । अझ आजका युवा पिंढीका कुरा गर्ने हो भने साथीबीच अंकमाल, गालामा चुम्बन सामान्य शिष्टाचार बन्दै गएको छ । साथीबीच बोलिने भाषाको त कुरै नगरौँ ।
त्यसमा थपिएका सामाजिक सञ्जालका बहुआयामिक पक्ष । सायद यिनै कारणले हुनसक्छ, आई लभ यु, माई डियर, डार्लिङ, मेरो बाबा जस्ता शब्दहरु निकै फिका बन्दै गइरहेको भान हुन्छ । सम्बन्ध आत्मीयतामा होइन आत्मरतिमा बन्न थालेका छन् । हिजोको विश्वास, आजको क्षणिक रोमाञ्चकतामा धुमिल हुँदैछ । त्यसैले पनि होला सामाजिक सञ्जालमा श्रीमान् श्रीमतीको सुन्दर तस्बिर जति मुस्कुराइरहे पनि वास्तविकतामा न श्रीमतीको जीवन खुलेको भेटिन्छ न श्रीमान्को ।
आधुनिक समाजमा सामान्य शिष्टाचार मानिएका यस्ता धेरै विषयहरु छन् जो हामीलाई सिकाइएको अनि हामीले मान्दै आएको परम्पराभन्दा फरक छन् । समयानुकुल परिवर्तन पक्कै आवश्यक छ । तर यसको अर्थ हिँड्दै छ, पाइला मेट्दै छ भने झैँ आफू उभिएको धरातल नै बिर्सिनु हो त ? कस्मेटिक दुनियाँमा रमाउन आफ्नै आत्मालाई कहिलेसम्म कस्मेटिक बनाउन तत्पर हुने हामी ? सामान्य बोलचालबाट शुरु हुने मित्रता, माया, आत्मियता सबैमा ‘वासना’को छद्मलेपन गर्ने, अनि क्षणिक आत्मरतिमा सुख खोज्ने हो भने, त्यो भन्दा ठूलो भ्रम र विखण्डन अरु केही होला र ?