राजन पौडेल/‘सुखीलाई सुखै सुख ,दुःखीलाई दुःखै दुःख यो भगवानले पनि मान्छे चिन्न जानेको रहिन्छ बाबू ।’ आमा दिनहरु कसरी काट्दै हुनुहुन्छ ? यो प्रश्न भुईँमा खस्न नपाउँदै उनको मुटु भक्कानिए जस्तो भयो । गहभरी आँसु छचल्किए अनि पछ्यौरीको सप्कोले आँखा पुछ्दै उनले जवाफ फर्काइ हालिन् । किन यसरी आँखाबाट आँशु झार्नु भएको आमा ?
फेरि प्रश्न सोध्दा उनले भनिन, ‘मेरा छोराले पनि यसरी आमा तपाईँलाई कस्तो छ ? भनेर सोधेका छैनन् । तपाईंले त सिधैँ चिनेको जस्तो गरी बोलाउनुभयो । थाहा नपाईँ आँशु झरेछन् बाबू ।’ उनी हुन् कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित लुम्लेकी सेती नेपाली । उमेरले ६० वर्ष पुगेकी नेपालीलाई न त दिन बैंशमा डोको र नाम्लोले छोड्यो । न त बुढेशकालमा नै । ‘बाह्र छोरा तेह्र नाति, बुढीको धोक्रो काँधैमाथि’ भनेजस्तै उनलाई ३ छोरा र २ छोरी जन्माउँदा पनि जीवनमा कहिल्यै सुख मिलेन ।
उनका श्रीमान् रामबहादुर नेपाली ६१ वर्षका पुगे पनि उनको पारा अझै पनि अल्लारे भएको सेतीले सुनाइन् । श्रीमानको दैनिकी बिहानै उठेर रक्सी पिउँछन्, गाउँघर डुल्छन्, खाने बेलामा घर आइपुग्छन् । अनि खाना खाने सुत्ने । यत्ति हो उनको दैनिकी । सेतीको काममा सघाउने कोही नभएका कारण नै उनी बिहान ४ बजे नै उठछिन् । गाउँमा कसका घरमा काँक्रा फलेका छन् । उसैकोमा पुगेर खरीद गर्छिन् अनि बिहानको ७ बज्दा नबज्दै डोकाभरी काँक्रा, कुरकुरे, चाउचाउलगायतका ‘ड्राइफूड’ बोकेर १ घण्टाको पैदल यात्रा गर्दै ढावा नेरको ठूलो घुम्तीमा आइपुग्छिन् ।
उनले बिहान उठ्दा साथ खाना पकाउँछिन, गोठालो र घर धन्दा सकेकी हुन्छिन् । अनि आफूलाई चाहिने खाना टिफिनमा राखेर घुम्तीमा आउँछिन् । दिनभर सडकमै व्यापार गर्छिन् बेलुका घाम डाँडामाथि बसेपछि मात्र घर फर्कि्न्छिन् । उनका सबै छोराहरू बाबु आमाबाट छुट्टिएर बसेका छन् । तीनैजना छोरीहरूको विवाह भएर आफ्नै घर ततेरीरहेका छन् । श्रीमानले त काममा सघाउने कुरै भएन । त्यही पनि ८ वर्षीय नाति भने हजुर आमालाई साथ दिँदै अगाडि पछाडि लागेका हुन्छन् । नातिले सघाउने पनि विद्यालय बिदाको दिन पर्दा मात्र हो । त्यसबाहेक त उनी एक्लै नै हुन्छिन् ।
सेतीले बुढेसकालमा थाप्लोमा राखेको नाम्लो र पिठ्यूँमा राखेको डोकोले नै उनको घरधन्दा चलेको छ । घरका लागि चाहिने खाद्यान्नः नुन, तेल, चामल, चिनी आदि काँक्रा बिक्री गरेर आएको पैसाले नै चलाउँछिन् उनले । उनले मलीन अनुहार लगाउँदै अगाडि थपिन,‘यहाँ आएर गाडी रोकिदिए त यसो अलिअलि कमाई हुने थियो होला ।
गाडी रोक्दैन उही बाइक र ट्याक्सीले रोकेर चुरोट, काँक्रा, कुरकुरे खान्छन् ।’ त्यही पनि जसोतसो लगानी कटाएर दिनमा ६०० जति रुपैयाँ कमाई हुने गरेको उनले सुनाइन् । २०७२ सालमा गएको भुकम्पले सेतीको घर पनि आंशिक रुपमा भत्काएको थियो । ‘धन्न पूरै भत्केन। अलि अलि काम चलाउन पाल टाँगेर बस्न मिलेको छ। पैसा पाइन्छ रे भन्थेँ। गाउँकाले त ल्याए रे, खोई मलाई त कहाँ हो ? कसो हो ? केही पत्तो भएन ।’ उनले थपिन, ‘सुख पाउने त जानेका बुझेकाले मात्र रहेछ बाबु ।
अब म बूढी कहाँ जाम ? के गरम? बुढाको चाल उही हो के रे भनी हालेँ ।’ अब त धेरै बाँच्ने उमेर पनि नभएको सुनाउँदै उनले भनिन्, ‘दिन बैंशमा त डोकोले छोडेन बाबू, हा...अब बुढेसकालमा त झन के छोडोस ? यस्तै रै छ मर्नी जानी चोला ।’