-इच्छा गुरुङ
मानिस जन्मेसँगै धेरै किसिमका नातासम्बन्धमा बाँधिदै हुर्कन्छ । अझ भनांै जीवन नै सम्बन्धहरुको साङ्लो हो । आफ्नो परिवारपछि अर्को सबैको प्रिय सम्बन्ध हो–साथी । कति कुरा परिवारसँग भन्दा साथीसँग साट्दा मन हलुका महसुस हुन्छ भन्नेहरु धेरै छन् । त्यही भएर होला रगतको नाता भन्दा भावनाको नाता बलियो हुन्छ भनिन्छ । यही मित्रताको सम्मानकालागि हरेक अँगे्रजी महिना अगस्टको पहिलो आइतबार मित्रता दिवस अर्थात फेन्डसीप डे मनाइन्छ ।
भनिन्छ साथी बिनाको जिन्दगी निरस हुन्छ । हुन पनि हो साथी विनाको जिन्दगी साँच्चिकै निरस नै हुन्छ । मान्छे बाल्यकालमा होस् की किशोर अवस्थामा,अथवावा बृद्ध अवस्थामा भए पनि उनीहरुलाई आफ्नो उमेर अनुसारको साथीको आवश्यकता पर्दछ । जीवनको रंगीनन पलहरुमा मात्र होइन दुखले छियाछिया बनाएको समयमा समेत साथीहरुको साथले धेरै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । एकजना साथीले भनेको याद छ मलाई “साथी भनेको सधै सँगै कहाँ हुन सकिन्छ र ? आ–आफ्नो कर्मगरी खानैपर्यो । कुनैबेला कता हो कता टाढा रहेको साथीले एक कल गरेर साथी तिमी सन्चै छौ भनेर सोधिदिए मात्र पनि लाख हुन्छ । त्यति धेरै खुशी जिन्दगीमा कहिल्यै लागेको थिएन भन्ने लाग्दो रहेछ....” । साँच्चै साथीहरुबिच हुने हाँसो ठट्टा, मस्ती अनि कहिलेकाही ठुस्स रिसाउनु,फकाउँदा फकिनु अनि आइपर्दा काँधमा काँध मिलाउनुको मज्जा बेग्लै हुन्छ,जुन बिना कुनै स्वार्थ मित्रताको सम्बन्धमा रहेकाले मात्र बुझ्न सक्दछन् ।
एउटा भनाइ नै छ–असल साथी त्यही हुन् जसले तिम्रा असफलता,कमजोरी र सफलता सबैलाई सहिदिन्छ ।
द्धापरयुगमा कृष्ण र सुदामाको मित्रताको कथा त सबैले सुनेकै हो । त्यस्तै मित्रतालाई लिएर हलिउडदेखि बलिउड र कलिउडसम्म फिल्म समेत निर्माण भएका छन् । यसबारेमा धेरैले किताव र लेख लेखे । फेन्डसीप डेको सेलेब्रेसनको १० औ बर्षको अवसर पारेर ख्याती प्राप्त ब्याण्ड बील्टसले १९६७ मा “विथ लिटल हेल्प फ्रम माई फ्रेन्ड...” रिलिज गरेका थिए । जुन संसारभर आजसम्म पनि उत्तिकै लोकपिय रहेको छ । बलिउडमा मित्रताकै कथामा दोस्ती, आनन्द, शोले, यारना, दिल चाहाता हे जस्ता फिल्महरु नै बनेका छन् । त्यस्तै नेपाली फिल्मका नायक राजेश हमालको एउटा फिल्मी डायलग “साथीकालागि यो हात सलाम हो, दुश्मनका लागि यो हात फलाम हो ” नेपाली यारहरुकाबीच निकै लोकप्रिय रहेको छ ।
फेन्डसीप डेको सेलेब्रेसनको १० औ बर्षको अवसर पारेर ख्याती प्राप्त ब्याण्ड बील्टसले १९६७ मा “विथ लिटल हेल्प फ्रम माई फ्रेन्ड...” रिलिज गरेका थिए । जुन संसारभर आजसम्म पनि उत्तिकै लोकपिय रहेको छ ।
फेन्डसीप डे किन अगस्टको पहिलो आइतबार नै मनाइन्छ त ?
हलमार्क कार्डका संस्थापक जोस हलले सन् १९१९ मा फेन्डसीप डे मनाउन शुरुवात गरेको इतिहास पाइन्छ । त्यसपछि सन् १९३५ मा अमेरिक युनाइटेड स्टेटस् कांग्रेसले अगस्टको पहिलो आइतबार फेन्डसीप डे मनाउने घोषण गरेसगै यस दिवसलाई पहिलोपटक अमेरिकामा धुमधामसँग मनाइएको थियो । यस दिनमा साथीहरुबिच फूल, कार्ड, उपहार दिने चलन रहँदैआएको छ । तर केही अमेरिकी देशहरुमा भने जुलाइ ३० मा नै फेन्डसीप डे मनाउने गरिन्छ । ब्राजिल, अर्जेन्टिना, इक्वाडोर आदि देशहरुमा जुलाई २० मा फ्रेन्डसीप डे मनाइन्छ ।
-एजेन्सीको सहयोगमा