–रञ्जन भण्डारीमहोत्तरी । ‘लेख्न मन भए लेखिदिनु होला, यो गरिबको पीडा संसारमै पोखिदिनु होला । आफ्नै मृत्युदर्ता बोकेर भौतारिदै छु, सके यो संसारलाई मेरो स्वास अझै बाँकी रहेको भनिदिनु होला । हजुर म मरेको छैन अझै जिउँदै छु, आफ्नै मृत्युदर्ता बोकी जिउदै भएको प्रमाण खोज्दैछु । पत्याउदैनन कसैले म जिउँदै छु, भन्छन् मृत्युदर्ता बोकि हिँडछौ अनि कसरी भन्छौ, जिउदै छौ ? हजुर धन कमाउन परदेश गएँ, जवानी उतै बित्यो यहाँ आउदा सबै खाक भयो । अब छैनन कोही आफन्त भन्नलाई सबै भन्छन मलाई देखेर भूत आयो । हो, हजुर सरकारी कागजले मलाइ भूत बनायो । जिउँदैमा स्वर्ग र नर्क देखायो ।’
मृत्युदर्ता बोकेर जिउँदै भएको गुहार गरिरहेका औरही नगरपालिका वडा नम्बर ६ बैरियाका ५५ वर्षीय रामसेवक यादवको पीडा । पछिल्लो एक वर्षदेखि जिउँदै भएको प्रमाणित गराउन विभिन्न कार्यालयमा पुरानो चप्पल खियाइरहेका पात्र । तर न्याय सहज छैन ।
२०४३ साल माघ ८ गते वंशज नागरिकता लिएका उनले । नागरिकता नम्बर ४८६७०४०४ । त्यतिखेरै २६ वर्ष उमेर । नागरिकतासँगै उनी २०४५ असोज १० गते दर्ता भएको मृत्युदर्ता प्रमाणपत्रसमेत देखाउँछन । भन्छन्, ‘२६ वर्ष भारतको पञ्जाब बसेँ, जवानी त्यहीँ बित्यो, घर भित्र्याएको श्रीमतीसमेत भागेर पोइला गइन् । सौतेली आमाले मृत्युदर्ता बनाइदिएछन् । सम्पत्ति बेचिएछ । घर न जग्गा । रातभर मन्दिरमा सुत्छु र दिनभर पेट भर्न ज्याला मजदुरी गर्छु,’ लामो स्वासमा भने । ५ फिट ६ इञ्च शरीर । काम गर्न सक्छ र गर्दैछ पनि । अनि आफ्नै मृत्युदर्ताको प्रमाणपत्र बोकेर हिँड्नु, देशकै ‘सिस्टम’माथि शंका । कानुनीरुपमा पुनः जीवित भइ पाउँ भनेर डुलिरहेका एउटा पात्र ।
कथा यस्तो छःसाविक खोपी गाउँ पञ्चायत वडा नम्बर ४ र हाल औरही नगरपालिका वडा नम्बर ६ बैरियाका रामवृक्ष यादवका जेठी श्रीमती कौशल्यापट्टिका छोरा रामसेवक यादवको परिवार कुनैबेला सुखीसम्पन्न थियो । हजुरआमा (आमा पक्षका)ले नै छोरीबाहेकको सन्तान नभएपछि उनको लालनपालन औरही–७ भोइलमा गरे । मर्नेबेला करोडौँको सम्पत्ति नातिका नाममा गरिन् । यता बुबाले कान्छी आमासमेत भित्र्याएकामा कान्छी आमाको कोखबाट थप दुई भाइ जन्मिए । कान्छी आमाले सम्पत्ति लोभमा रामसेवक धन कमाउन भारत पञ्जाव गएको मौका पारेर उनी मरिसकेको भनेर मृत्युदर्ता बनाइ नजिकका नातेदार आफू भनी सबै सम्पत्ति जायजेथा बेचिन् ।
गाउँमा कान्छीआमा आफ्ना दुई छोरासँग आनन्दित जीवन बिताउँदैछिन् धनसम्पत्तिका अशली मालिक रामसेवक आमाकै माइतस्थित रामजानकी कुटीमा शरण लिएर बसिरहेका छन् । दैनिक ज्यालादारी गर्छन् र पेट पाल्छन् ।
रामसेवकसँग कानुनी उपचारमा जान रकम अभाव छ । तर भेटिएका छन् एकजना कृष्ण वकिल जो सुदामा रामसेवकको साथी बनेका छन् । जिल्ला अदालत जलेश्वरमा वकालत गरिरहेका अधिवक्ता विकरु यादवले रामसेवकको मुद्दा निशुल्क लड्ने भनेपछि आशा पलाएको छ । तर प्रश्न छः के पाउलान् त रामसेवकले आफू जिउँदै भएको प्रमाणपत्र ?