बढी सुरक्षाकर्मी लिनेमा ज्ञानेन्द्र शाहपछि शेरबहादुर देउवानिधन भइसकेका पूर्वमन्त्री खुमबहादुर खड्का र माधव घिमिरेका घरमा अझै प्रहरीकांग्रेस सांसद अमरेशकुमार सिंहलाई प्रहरीको गाडीसहित पाँच सुरक्षाकर्मीग्लोबल आइएमइ बैंक अध्यक्ष चन्द्र ढकाल र ठेकेदार शारदा अधिकारीलाई पनि सुरक्षागार्ड
काठमाडौं । विशिष्ट व्यक्ति सुरक्षा (व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन–२०७० को परिच्छेद ४ को विविध अन्तर्गत १३ नम्बरमा भनिएको छ, ‘सुरक्षाकर्मी खटाउँदा लाग्ने तोकिएबमोजिमको खर्च र त्यस्तो सुरक्षाकर्मीको बसोबासको व्यवस्था सुरक्षा माग गर्ने व्यक्तिले नै व्यहोर्नु पर्नेछ ।’
तर यो नियम लत्याउँदै उच्च ओहोदामा बसेका र ‘भूतपूर्व’ भएकाहरुले सुरक्षाकर्मी माग्ने क्रम बढ्दो छ । अनि जनताको सुरक्षामा खटिनु पर्ने प्रहरी नेताको घरदैलो, बार्दलीमा सहायक र अर्दलीमा सीमित बनेका छन् । सरकारले मन्त्री, पूर्वमन्त्रीहरु, सांसद मात्र होइन सर्वोच्च, उच्च र जिल्ला अदालतका न्यायाधीशलाई पनि सुरक्षाकर्मी दिएको छ । निजीक्षेत्रका बैंक अध्यक्षले समेत सुरक्षाकर्मी पाउने मुलुक हो यो ।यसरी सुरक्षामा पाउनेमा पूर्वराष्ट्रप्रमुखका लागि १० जना तोकिएको छ । ज्ञानेन्द्र शाहले ११० जना लिएका छन् । पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले पाउनुपर्ने ९ जना तर डिएसपी कोमल शाहको कमाण्डमा ४८ सुरक्षाकर्मी पठाइएको छ ।
पूर्वमन्त्री कमल थापासँग १५ जना सुरक्षाकर्मी छन् । पूर्वमन्त्री एवम् कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पूर्वगृहमन्त्रीका हैसियतमा १६ जना लिएका छन् । पूर्वगृहमन्त्रीकै हैसियतमा नेकपाका नेता जनार्दन शर्माले पाउनुपर्ने २ जना हो । तर, शर्मासँग २० जना सुरक्षाकर्मी छन् । मन्त्री पनि भइसकेका म्यानपावर व्यवासयी टेकबहादुर गुरुङसँग एक जना हतियारधारी प्रहरी छन् । दाङका कांग्रेस नेता तथा पूर्वमन्त्री दीपक गिरीसँग २, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग ११ प्रहरी छन् । भूपू गृहमन्त्रीकै हैसियतमा पूर्णबहादुर खड्काले १४ जना सुरक्षाकर्मी लिएका छन् । प्रकाशमान सिंहले भूपू उपप्रधानमन्त्रीको हैसियतले दुई जनासम्म पाउनुपर्नेमा १३ जना अंगरक्षक छन् । भूपू मन्त्रीको हैसियतमा प्रकाशशरण महतले १० जना, बालकृष्ण खाँणले दुईजना, बुद्धिमान तामाङले एक जना लिएका छन् ।
पूर्वरक्षा तथा गृहमन्त्रीको हैसियतमा नेकपाका नेता भीम रावलले १८ जना सुरक्षाकर्मी राखेका छन् । कांग्रेस नेता रामचन्द्र पौडेलले दुई जना पाउनुपर्नेमा १८ जनालाई सँगै हिँडाएका छन् । पूर्वअर्थमन्त्री रामशरण महतले सात जना, पूर्वउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले दुई पाउनुपर्नेमा १३ जना, विजयकुमार गच्छदारले १३ जना, विमलेन्द्र निधिले दुई जना पाउनुपर्नेमा १५ जना सुरक्षाकर्मी लिएका छन् । वैद्य समूहबाट सरकारविरुद्ध आन्दोलन चलाइरहेका अध्यक्ष मोहन वैद्यसँग दुई र सीपी गजुरेलसँग एकजना सुरक्षाकर्मी छन् । वनमन्त्री शक्तिबहादुर बस्नेतसँग ११ जना छन् । सरकारले दिवंगत नेताका नाममा पनि सुरक्षाकर्मी खटाइएको छ । कांग्रेस नेता स्वर्गीय खुमबहादुर खड्काका नाममा दुई जना छन् । त्रिशुलीमा बेपत्ता भएको तीन वर्ष बितिसकेका पूर्वगृहमन्त्री माधव घिमिरेको घरमा अझै पनि दुई जना सुरक्षाकर्मी देखिन्छन् ।
प्रहरी प्रधान कार्यालय सुरक्षा महाशाखाको रेकर्ड, भिआईपीहरुका निवासको स्थलगत अध्ययन र सशस्त्र प्रहरी बल मुख्यालय, हल्चोकस्थित कार्यालयको अभिलेख रुजुपश्चात निक्लिएको हिसाबअनुसार कांग्रेस सांसद अमरेशकुमार सिंहसँग सशस्त्र र नेपाल प्रहरीको गाडीसहित पाँच जना सुरक्षाकर्मी छन् । देशैभरिको बाटो हत्याएर काम नगर्ने ठेकेदार शारदा अधिकारी र आइएमई समूहका अध्यक्ष चन्द्र ढकालले एक–एक जना अंगरक्षक राखेका छन् । राप्रपा –प्रजातान्त्रिक( का अध्यक्ष पशुपतिसमशेर राणाले दुई जना, संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले एकजना, राजपाका नेता रामेश्वर राय यादवले एक जना सुरक्षाकर्मी लिएका छन् । अख्तियारका आयुक्त राजनारायण पाठकसँग चार जना सुरक्षाकर्मी छन् । पूर्वआइजिपी मोतिलाल बोहोरासँग दुई जना, राजपा अध्यक्ष महन्थ ठाकुर र महेन्द्र राय यादवसँग दुई-दुई जना, कांग्रेस नेता मीनेन्द्र रिजाल, कांग्रेसकै मोहम्मद आफ्ताव आलम, राजपाका राजेन्द्र महतो, नेकपा स्थायी कमिटी सदस्य भीम आचार्यसँग एक–एकजना सुरक्षाकर्मी छन् ।
मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले कार्यविधिको व्यवस्थाअुनसार ९ जना पाउनुपर्नेमा १० जना लिएका छन् । नेकपा वरिष्ठ नेता झलनाथ खनालले पनि चारजना बढी सुरक्षाकर्मी लिएका छन् । प्रथम राष्ट्रपति रामवरण यादवले १३ पाउनुपर्नेमा दुई बढी छन् । राप्रपा नेता लोकेन्द्रबहादुर चन्दले पूर्वप्रधानमन्त्रीको हैसियतमा पाँचजना बढी सुरक्षाकर्मी पाएका छन् । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि १२ जना बढी सुरक्षाकर्मी रहेको अभिलेखमा देखिन्छ । बाबुराम भट्टराईसँग दिइनेजति नै छन् । पूर्वसभामुखको हैसियतले ओनसरी घर्तिले दुई जना पाउनुपर्नेमा १५ राखेकी छन् ।
भारतको सिक्किममा सुरक्षा गार्ड राख्नेले नै तलब दिनु पर्ने व्यवस्था छ । तर नेपालमा तलब सरकारले नै बेहोर्छ । जसले नियम बनाए, उनीहरुले नै आवश्यकता भन्दा बढी सुरक्षाकर्मी लिएपछि सुरक्षाका लागि भन्दा पनि अघिपछि लगाए रवाफ देखाउन ‘सुरक्षा’ माग्नेको संख्या बढ्दो छ । तस्बिर गुगलबाट लिइएको हो ।