मनोरञ्जन डेस्क
काठमाडौं । यो हाप्ता युट्युव नेपाल ट्रेण्डिङको उत्कृष्ट पचासमा ६ गीत परेका छन् । पछिल्लो समय युवा पुस्ताबीच लोकप्रिय रहेका र्यापर समीर घिसिङ अर्थात भिटेनको नयाँ म्यूजिक भिडियो कथा ट्रेण्डिङको पहिलो नम्बरमा रहेको छ ।
चार दिन अघि गत शुक्रवार सार्वजनिक भएको समीरको कथा गीतको भिडियोले सोमवार अपरान्हसम्ममा कुल ६ लाख ९४ हजार बढी भ्यूज पाएका छन् । गायक समीरको आफ्नै कन्सेप्टमा तयार पारिएको कथा गीतको भिडियोको निर्देशन भने उमन वाइवाले गरेका छन् । गीतमा अर्का गायक धर्मेन्द्र सेवनलाई फिचरिङ गरिएको छ ।
मनविनको धन गीतबाट यसअघि नै युट्युव भाइरल बनेका बाल गायक अशोक दर्जीको नयाँ गीत झिलमा फूलु कि हिलोमा फुलु बोलको गीत यो साता नेपाल ट्रेण्डिङको चौथो नम्बरमा परेको छ । मञ्जुल मितेरीको शब्द र संगीत रहेको गीतको भिडियोलाई सुमन तामाङले निर्देशन गरेका छन् भने स्माइल धिताल,कौशिला राई र दीपक न्यौपानेको अभिनय रहेको छ । सुगन्ध एल्वममा समावेश अशोकको यस गीतको भिडियोले ३ लाख ६८ हजार भ्यूज पाएका छन् ।
यो साता नेपाल ट्रेण्डिङको २२ औं नम्बरमा गायक स्वप्न सुमनको शायद तिम्रो मेरो भेट फेरि होला नहोला बोलको गीत परेको छ । गीतमा उनलाई सारंगीवादक किरण नेपालीले साथ दिएका छन् । यस गीतले सोमवार अपरान्हसम्ममा ५ लाख ४ हजार भ्यूज पाएका छन् ।
गत साता नेपाल ट्रेण्डिङमा सबैभन्दा अघि अर्थात १० औं नम्बरमा रहेको गायक समीर आचार्यको पिच रोड गीत यो साता भने २९ औं नम्बरमा पुगेको छ । हाल अष्ट्रेलियामा बस्दै आएका गायक समीर आचार्य र गायिका विद्या तिवारीको आवाजमा रहेको तिमी हिड्ने पिच गर्दिन्छु रोड बोलको गीतमा नायिका आँचल शर्मा र सुशान्त खत्री फिचरिङ छन् । गीतको शब्द,संगीत सन्तोषकुमार र राजेन्द्र भट्ट अर्थात मिर आरजेले संयुक्त रुपमा तयार पारेका हुन् । जुलाइ २० मा अपलोड भएको पिच रोड गीतको भिडियोले सोमवार अपरान्हसम्ममा १९ लाख ४० हजार बढी भ्यूज पाएका छन् । गत साताको तुलनामा यो झण्डै ५ लाख भ्यूज बढी हो ।
प्रसिद्ध लोकगायिका विष्णु माझीको नयाँ तीज गीत मार्यो दैया पनि नेपाल ट्रेण्डिङमा पर्न सफल भएको छ । शुक्रवार रिलिज भएको गायिका माझीको यस गीतलाई तीन दिनमा १ लाख ३३ हजार बढीले हेरिसकेका छन् । सुन्दरमणि अधिकारीको शब्द तथा संगीत रहेको गीतको भिडियोमा नायिका निता ढुङ्गानाले आकर्षक नृत्य गरेकी छिन् । भिडियोको निर्देशन शिव विकले गरेका हुन् ।
यो साता युट्युव नेपाल ट्रेण्डिङको ४० औं नम्बरमा गायक पुष्कल शर्माको कमेडी तीज गीत हिरो रहेको छ । नायिका अनु शाह फिचरिङ यस गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका हुन् । गीतको शब्द तथा संगीत गायक शर्माकै रहेको छ । यस गीतको भिडियोले सोमवार अपरान्हसम्म १ लाख ७४ हजार भ्यूज पाएका छन् ।
गत साता नेपाल ट्रेण्डिङमा रहेका गायिका राधिका हमालको तीज गीत आमा,गायक रेशम सापकोटाको वृद्धाश्रम तथा गायक सरोज ओली र गायिका स्मिता दाहालको आवाजमा रहेको कार्टुन्ज क्रुज फिचरिङ गीत पानी कुवाको यो साता भने ट्रेण्डिङबाट बाहिरिएका छन् ।