-मनोरञ्जन डेस्क
काठमाडौं । युवा पुस्ताका लोकप्रिय अभिनेता प्रदीप खड्का अभिनित फिल्म ‘रोजी’ को पहिलो गीत सार्वजनिक भएको छ । ’फूल होइन...’ बोलको गीतमा प्रतापदास र प्रविशा अधिकारीको स्वर छ ।
राजेशकुमार श्रेष्ठको शब्द रहेको गीतमा संगीत एलिस कार्कीले सिर्जना गरेका छन् । टर्कीका पर्यटकीय थलो इस्तानबुल, साल्टलेक र कोनियामा दृश्यांकन गरिएको गीतको भिडियोमा प्रदीप र अभिनेत्री मिरुना मगर फिचरिङ छन् । दुवैको केमेस्ट्री मिल्दा गीतको भिडियो आकर्षक बनेको छ ।
नृत्य निर्देशक कविराज गहतराजले लोकेशन र छायांकन पक्षलाई निकै सुन्दर ढंगले प्रस्तुत गरेका छन् ।
महँगो पारिश्रमिक लिएर ‘रोजी’ मा अनुबन्ध भएका प्रदीपले यसमा अपराधिक अभियुक्तको भूमिका निर्वाहा गरेका छन् । फिल्म ‘रोजी’ ललितपुरकी रोजी महर्जनको हत्या प्रकरणमा आधारित रहेको आशंका गरिएको छ । आफ्नो मृत छोरीको विषयमा फिल्म निर्माण गरिएको आशंकामा रोजीका परिवारको दबाबमा गएको फिल्मको छायांकन समेत केही समयकालागि रोकिएको थियो । तर निर्माण टिमले भने विशुद्ध मौलिक कथामा फिल्म बनाएको दाबी गर्दै आएको छ । फिल्ममा अभिनेत्री परमिता आरएल राणा लिड रोलमा रहेकी छिन् ।
गोपीकृष्ण मुभिज र आरोही इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस फिल्ममा कर्मा शाक्य, बरुण आरएल राणा, रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोललगायतका कलाकारहरुको अभिनय छ । उद्धव पौडेल यसका प्रस्तुतकर्ता हुन् । फिल्मका निर्देशक निरक पौडेल हुन् ।
अर्जुन पोखरेलको संगीत रहेको ‘रोजी’ छायांकन सकिएको छोटो समयमा नै प्रदर्शन मिति तय गरेर प्रदर्शनमा आउन लागेको छ ।
https://www.youtube.com/watch?v=49l3WFQe0Q4