प्रिमेश सिवाकोटी
रौतहट । राष्ट्रिय महिला फुटबल खेलाडी लक्ष्मी कुमारी पौडेललाई एक पानी उद्योगले एक वर्षका लागि ब्रान्ड एम्वेस्टर नियुक्त गरेको छ ।
विगत एक दशक देखी लगातार रूपमा नेपालको राष्टिूय टिमबाट महिला फुटबल खेल्दै आएकी चन्द्रपुर नगरपालिका १ की पौडेललाई मङ्गलवार चन्द्रपुर नगरपालिका ५ मा रहेको मुनड्रप्सले एक वर्षका लागि ब्रण्ड एम्वेस्टर नियुक्त गरेको हो । एक वर्षको एक लाख ५० हजार दिने सर्तमा आफू नियुक्त भएको पौडेलले बताएकी छिन् ।
रौतहटकै खेलाडी भएकी पौडेल रौतहटकै सान भएकाेले पनि आफ्नो रौतहटकै कम्पनी भएकाले ब्रान्ड एम्बास्डर नियुक्त गरेको कम्पनीको कार्यकारी निर्देशक साहले बताए । पानी उत्पादन गर्दै आएको कम्पनीले खेलक्षेत्रमा आबद्ध खेलाडीको प्रोत्साहनका लागि लगानी गरेको कार्यकारी निर्देशक साहले बताए ।
महिला फुटबलको कारखानाको रूपमा परिचित रौतहट जिल्लाबाट फुटबल खेल्न थालेकी लक्ष्मी पौडेल अहिले सशस्त्र प्रहरीको एपिएफबाट व्यवसायिक रूपमा फुटबल खेल्दै आएकी छन् । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका १ बागमतीकी स्थायी बासिन्दा पौडेलले स्वर्गीय शेरबहादुर दर्लामीबाट फुटबल खेल्ने कला सिकेकी हुन् ।
नेपालकै चर्चित महिला फुटबल खेलाडी पौडेलले देश तथा विदेशमा भएका दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा आफ्नो खेल कौशलका कारण चर्चा बटुल्दै आएकी छिन् । २०६० साल देखी फुटबल खेल्न थालेकी पौडेलले २०६३ सालका एपिएफ क्लबसँग आबद्ध भएर व्यावसायिक रूपमा फुटबल खेल्न थालेकी हुन् ।
सन २०१०मा नेपालको राष्ट्रिय टिममा परेकी लक्ष्मीले त्यस भन्दा पछाडि कहिल्यै फर्कनु परेको छैन । निरन्तर नेपालको राष्ट्रिय टिमबाट खेल्दै आएकी लक्ष्मीले निरन्तर १४ वर्ष सम्म व्यावसायिक फुटबल खेलेकी छन् । रौतहट जिल्लाको बागमती बजार देखी विदेशका ठुला सहरसम्म आफ्नो खेल प्रदर्शन गरेर चर्चामा आएकी पौडेल सशस्त्र प्रहरीको एपिएफ क्लबकी होनहार खेलाडी हुन् ।
रौतहटका महिला फुटबल खेलाडीका लागि उदाहरण बन्दै आएकी लक्ष्मीको खेल कौशललाई पक्षयाउदै रौतहटमा सयौँ किशोरीहरूले फुटबल खेल्न सुरु गरेका हुन् । रौतहट जिल्लाबाट फुटबल खेल्ने पहिलो पुस्ताकी खेलाडी लक्ष्मी पौडेल हुन् । उनीसँगै फुटबल खेल्ने बागमतीकै अनु लामा नेपालको राष्ट्रिय टिमकी कप्तान समेत हुन् । फुटबलमै जीवन समर्पण गरेकी लक्ष्मीले देश विदेशमा कति गोल विपक्षीको गोल पोस्टमा छिराइन उनलाईनै थाहा छैन ।
रौतहटका महिला खेलाडीहरू व्यावसायिक रूपमा खेल खेलेर स्व रोजगार बनिरहेका छन् । नेपालमा महिला फुटबलमा गतिलो छाप बनाएको रौतहटका चेलीहरूलाई गतिलो साथ मिलेकाले महिला फुटबलमा नाम कमाएको पाइन्छ । हाल रौतहट जिल्लाका ३२ चेलीहरू व्यावसायिक रूपमा फुटबल खेलेर आत्मनिर्भर भएको पाइन्छ । व्यावसायिक फुटबल खेल्ने सिलसिलामा ११ जना सशस्त्र प्रहरी, १३ जना नेपाल आर्मी र ८ जना नेपाल प्रहरीमा रौतहटका चेलीहरूको आवद्दता रहेको छ ।
२०६२ साल देखी प्लान नेपालले नेपाली महिला फुटबल विकासका निम्ति प्रशिक्षण भत्ता देखी लिएर खेल सामाग्री वितरण गर्दै आएको छ ।