विपुल अधिकारी
फिदिम । संघीय सरकार, प्रदेश १ सरकार र स्थानीय प्रशासनको पहलमा विगत एक महिनादेखि रोकिएको टमाटर (गोलभेँडा)को भारत निकासी खुलेको छ । निकासी हुने कृषि उपजको सूचीमा नरहेको भन्दै भारतले टमाटर निकासी रोकेपछि पाँचथरको हिलिहाङ र याङवरक गाँउपालिकामा उत्पादित करोडौँ मूल्यको टमाटर बोटमै कुहिने अवस्थामा पुगेको थियो ।
संघीय सरकार र प्रदेश सरकारको निरन्तरको पहलबाट टमाटर निकासी तत्कालका लागि खुलेको प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले जानकारी दिनुभयो । “टमाटर नेपालबाट भारत निकासी हुने कृषि उपजको सूचीमा नपरेकै रहेछ” जनता समाचारसँगको टेलिफोन संबादमा मन्त्री आङ्बोले भन्नुभयो “भारतमा प्रशस्तै उत्पादन भएको सिजनमा टमाटर निकासी हुने सूचीमा छैन भनेर निकासीमा अवरोध गरिँदै आएको रहेछ ।”
भारतले स्वदेशी उत्पादनले नपुग्ने भएको अवस्थामा बिना रोकटोक टमाटर आयात गर्दै आएको पाइएको मन्त्री आङ्बोले जानकारी दिनुभयो । यस वर्ष भारतमा प्रशस्तै टमाटर उत्पादन भएको तथा माग पूरा गर्ने टमाटर भारतमै उत्पादन हुँदा भारतीय टमाटरको मूल्य कम भएकाले समेत नेपाली टमाटर निकासीमा अवरोध सिर्जना गरिएको पाइएको छ । पाँचथरको हिलिहाङ गाँउपालिका र याङवरक गाँउपालिकामा बर्षेनी करोडौँ मूल्य बराबरको टमाटर उत्पादन हुने गरेको छ । टमाटरको निकासी रोकिँदा यस क्षेत्रका कृषक मारमा परेका थिए ।
कृषकहरुले केही समय अघि विरोध स्वरुप विक्री हुन नसकेको टमाटर सडकमा फालेर विरोध समेत जनाएका थिए । यस्तै व्यापार प्रवद्र्धन केन्द्रका उपनिर्देशकसहितको टोलीले कृषकको समस्या स्थानीय स्तरमै पुगेर बुझेको थियो ।
पूर्वी पहाडमा उत्पादित कृषिजन्य उत्पादन झापाको कृषि थोक बजार हुँदै पश्चिम बंगालको सिलिगुडी निर्यात हुने गरेको छ । पाँचथर हिलिहाङ गाउँपालिका १, २, ३, ४, ६ र ७ नम्वर वडा तथा याङवरक गाउँपालिकाका वडा नं. ५ र ६ मा करिव १२ हजार किसानले व्यवसायिक रुपमा टमाटर उत्पादन गर्ने गरेका छन् । १० वर्ष अघिवाट व्यवसायिक रुप लिएको त्यस क्षेत्रको टमाटरवाट गत साल मात्रै रु. १५ करोड वढीको आम्दानी भित्रिएको कृषकहरुको भनाई छ । तर, यस वर्ष निकासीमा विभिन्न कारण देखाई भएको अवरोधपछि करिब रु. एक करोड रुपैँया मूल्यको टमाटर विक्री भएको उनीहरु वताउँछन् ।