साेलुखुम्बु । हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको उद्धार गर्न आएको सशस्त्र प्रहरीको गोताखोर टोलीले आज बिहानदेखि काम शुरु गरेको छ ।
मङ्गलबार हेलिकोप्टरमार्फत नाम्चे पुगेको टोलीले आज बिहान ९ः४५ बजेदेखि काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो । ४८ मिटर गहिरो सो हिमतालमा डुबेर बेपत्ता विद्यार्थीको टोलीले उद्धार गर्ने विश्वास लिइएको छ ।
उद्धारका लागि सम्पूर्ण व्यवस्थापनको जिम्मा खुम्बु पासाङल्हामु गाउँपालिकाले लिएको छ । भौगोलिक विकटताको कारण पैदलयात्रामार्फत पुग्न सक्ने सम्भावना नभएपछि हेलिकोप्टरको माध्यमबाट आउने जाने गरिएको छ ।
हेलिकोप्टरसहितको व्यवस्थापनको सम्पूर्ण कामको जिम्मेवारी खुम्बु पासाङल्हामु गाउँपालिको लिएको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताउनुभयो ।
शैक्षिक भ्रमणमा लैजाने शिक्षक निलम्बित
विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनको निर्णयलाई लत्याउँदै जबर्जस्ती शैक्षिक भ्रमणमा लैजाने दुई शिक्षकलाई निलम्बन गरिएको छ । गाउँपालिकाको निर्देशनमा विद्यालय व्यवस्थापन समितिको आइतबार बसेको बैठकले शिक्षकलाई निलम्बन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाले बताउनुभयो ।“घटनाको सत्यतथ्य छानबिन गरी कारवाही प्रक्रियामा सहयोग गर्ने उद्देश्यले शिक्षकलाई निलम्बन गरिएको हो,” शेर्पाले भन्नुभयो ।
हिमालयन ट्रष्टको सहयोगमा खुम्जुङका स्थानीय छुङजिङ दोर्जे शेर्पा र भक्तपुरका रञ्जित बललाई विद्यालय प्रशासनले मौसम प्रतिकुल भएकाले शैक्षिक भ्रमण रद्द गर्न आग्रह गरेको थियो । तर विद्यालय प्रशासनको उक्त भनाइलाई लक्षित गर्दै उनीहरुले सामाजिक सञ्जालमा प्रशासनको आलोचनासमेत गरेका थिए । “विद्यालय प्रशासनको निर्देशन विपरीत काम गर्नेलाई कारवाही गर्न गाउँपालिका सकारात्मक छ,” अध्यक्ष शेर्पाले भन्नुभयो ।
पौडी खेल्ने क्रममा पौडन नजानेर ती बालक डुबेको श्रव्यदृश्यसमेत सार्वजनिक भएको छ । श्रव्यदृश्यमा पाँच छ जनाको टोली तालको छेउमा पौडी खेलेको देखिन्छ । छोटो समय पौडी खेल्दै गर्दा एक जनाले आफूले लगाएको गञ्जी समेत फुकालेर राख्छन् र पुन पौडन जान्छन् । सोही क्रममा अर्का एक जना बालक पनि पौडन जान्छन् र पौडन नजानेपछि तालको गहिराइतिर गएको देखिन्छ ।
सोही क्रममा गञ्जी फुकालेर पौडने बालक पनि उनलाई उद्धार गर्न गएजस्तो देखिन्छ । दुवै जना झन तालको गहिराइतिर जान्छन् । सोही समयमा अर्का एक जना पनि उद्धार गर्न गएजस्तो देखीन्छ ।
उक्त समयमा माथिबाट हेरिरहेका विद्यार्थी उनीहरुको नाम बोलाउँदै काराउँछन् । पानीमा पौडदै गरेका साथीलाई उद्धार गर्न अर्का एक जना कालो कपडा लगाएका जान्छन् र एक जनालाई भने तानेर उद्धार गर्न सफल भएको श्रव्यदृश्य सार्वजनिक भएको छ । त्यस समयमा केही विद्यार्थीले डोरी दिनुपर्छ भन्ने पनि आवाज आउँछ ।
हिमतालको पानी अत्यधिक चिसो भएको र पौडन नसक्ने भएको कारण बालकको मृत्यु भएको अनुमान गर्न सकिने प्रहरीले जनाएको छ । तत्काल पौडी खेल्न सक्ने व्यक्ति भएको भए उनीहरुलाई उद्धार गर्न सकिने सोलुखुम्बुका प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक रेशमबहादुर पराजुलीले बताउनुभयो ।