भिम चौधरीकैलाली । ७ नम्बर प्रदेशको अस्थायी मुकाम धनगढीमा बसोबास गर्ने थारु समुदायले सामूहिक गुरही पर्व मनाउँने भएका छन् । गुरही पर्व तयारी सम्बन्धमा जानकारी दिन धनगढीमा आयोजित पत्रकार सम्मेलनमा धनगढीमा बसोबास गर्ने थारु समुदायले साउन ३१ गते धनगढीको क्याम्पस चोकमा सामूहिक गुरही पर्व मनाउँने जानकारी दिईयो ।
छरिएर मनाउँने गरिएको गुरही पर्वलाई एकैसाथ रमाईलो गरी मनाउँदै पर्वलाई संस्थागत गर्न केही वर्ष यतादेखि धनगढीको गुरही चोकमा थारु सम्वद्ध विभिन्न संस्थाको संयुक्त आयोजनामा यो पर्व मनाईदै आएको सखी संजाल कैलालीका अध्यक्ष ईन्दु चौधरीले बताउँनुभयो । थारु कल्याणकारिणी सभा कैलालीका सचिव माधब चौधरीले पश्चिम नेपालका थारु समुदायले सदियोदेखि गुरही पर्व मनाउँदै आएपनि कहिलेदेखि मनाउँन सुरु गरिएको भन्नेबारे लिखित ईतिहास नरहेको बताउँनुभयो । परापूर्वकालदेखि नागपञ्चमीको दिन थारु समुदायले गुरही पर्व मनाउँदै आएकोले यो पर्व संगै अन्य पर्वको शुभारम्भ हुने सचिव चौधरीले बताउँनुभयो ।
खेतीपाती सकिएपछि धानबालीमा किरा नलागोस भनेर गाँउका युवतीहरु गाँउभन्दा टाढाको चोकमा गई कपडाले बनाइएका स–साना गुरही (गाइने किराको प्रतिक) चोकमा असराउने (सेलाउने) र सेलाइएका गुरहीलाई गाउँका युवाहरुले सजाएर ल्याएका सोप्टाले पिट्ने चलन रहि आएको थारु कल्याणकारिणी सभाका केन्द्रिय सदस्य इन्दिरा चौधरीले बताउँनुभयो ।
गुरही गाँउबाट पर गएर सेलाउँदा धानबालीमा किरा नलाग्ने विश्वास रहिआएको थारु महिला सभाका अध्यक्ष दुर्गा कुश्मीले बताउँनुभयो । गुरही पर्वलाई बालबालिकासंग सम्बन्धित पर्वको रुपमा लिने गरेको बताउँदै कुश्मीले गुरही सेलाउँदा साना बालबालिकाहरुमा आँखा पाक्ने, ज्वरो आउने, खटिरा आउने, बान्ता हुने जस्ता रोग निको हुने गरेको विश्वास रहि आएको छ ।
पर्वले सामाजिक सद्भाव, आपसी मित्रता बढाउँनुको साथै गाउँमा भएको दुःख, कष्ट, संकत, बिपत्ति भाग्ने थारु नेता फोनीराम चौधरीले बताउनुभयो । थारु नेता गयाप्रसाद कुश्मीले पहिल्यैदेखि थारु समुदायमा गुरही पर्व गाँउ–गाँउमा मनाउदै आएता पनि गुरही पर्वलाई संस्थागत गर्न धनगढीमा छरिएर रहेका थारुहरुले एकैसाथ रमाइलो गरि गुरही मनाउँने गरेको बताउनुभयो । थारु विद्यार्थी समाजका केन्द्रीय उपाध्यक्ष ठाकूरप्रसाद करियाप्रधानले धनगढीको गुरहीचोकमा विगत केही वर्षदेखि विभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा गुरही मनाउँन सुरुवात गरेपछि यो पर्व संस्थागत हुदै गएको बताउनुभयो ।