मनोरञ्जन डेस्क
काठमाडौं । नौ वर्ष अघि निर्देशक सुदर्शन थापाको डेब्यू फिल्म मेरो एउटा साथी छ र अर्का निर्देशक निरक पौडेलको फिल्म कुसुमे रुमाल २ एकसाथ रिलिज भएको थियो । चर्चा र व्यापार दुवैमा मेरो एउटा साथी छ अब्बल ठहरिएको थियो । नौ वर्षपछि त्यतिखेरको त्यो भीडन्त अहिले फेरि सतहमा आएको छ । उनै निर्देशकद्धय सुदर्शन थापा र निरक पौडेल पुनः आफ्ना नयाँ फिल्म एकैदिन जुधाउन तयार भएपछि यसलाई व्यक्तिगत प्रतिशोधसँग समेत दाँजेर हेर्न थालेका छन् ।
अभिनेता प्रदीप खड्काको प्रमुख भूमिका रहेको ’रोजी’ आफ्नो फिल्मसँग भिड्न तयार भएपछि ’रामकहानी’ की अभिनेत्री तथा निर्मात्री पूजा शर्माले आक्रोश व्यक्त गरेपछि यस घट्नाले थप चर्चा पाएको हो ।
फेसबुकमा लामो स्टाटस अपलोड गरी पूजाले चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलमाथि आक्रोश पोखेकी हुन् । निर्देशक निरक, बोर्ड अध्यक्ष निकिताका भाइ हुन् । पूजाका अनुसार अध्यक्ष निकिताकै ’मास्टर प्लान’ मा ’रोजी’ आफ्नो फिल्मसँग भिड्न लागेको हो ।
’अधिकारिक संस्थाको अध्यक्ष भएर चलचित्रकर्मीलाई साथ र सहयोग गर्दै सबैलाई मिलाएर चलचित्रको विकासमा ध्यान दिनुभन्दा एउटा महिलाले नै निर्माण गरेको चलचित्रसँग जुधाएर कुन चाहिँ विकासको लागि लड्दै हुनुहुन्छ ?’ पूजाले निकितामाथि प्रश्न तेर्साएकी छन् ।
पूजा लेख्छिन्– ’तपाईले मेरो चलचित्र ’रामकहानी’ सँग जुधाउनु पर्छ भनेर गरेको प्लानबारे पनि जानकारी पाइसकेको छु । यो कस्तो चलचित्रको विकास गर्दै हुनुहुन्छ ? जबकि तपाइलाई थाहा छ मैले ६ महिना पहिलानै भदौ २२ गतेको दिन ’रामकहानी’ प्रदर्शन गर्दैछु भन्ने ! तर पनि यसरी जुध्न आउनु राम्रो हो र ? मेरो चलचित्रसँग तपाईले आफ्नो चलचित्र रिलिज गर्नुमा मलाई कुनै आपत्ति होइन तर तपाई जुन संस्थामा बसेर चलचित्रको विकासको कुरा गर्नु हुन्छ त्यो कुरामा आपत्ति हो, अध्यक्षज्यूको सोचप्रति आपत्ति हो । ’
अभिनेत्री पूजाले आफ्नो स्टाटस अभिनेता भुवन केसी, अभिनेत्री रेखा थापा, संगीतकार अर्जुन पोखरेल, वितरक गोपालकाजी कायस्थ, निर्देशक सुव्रत आचार्य, निर्माता सुवास गिरीसहित दर्जन बढी पत्रकारलाई ट्याग गरेकी छन् ।
पूजाको स्टाटसप्रति बोर्ड अध्यक्ष निकिता र फिल्म रोजी पक्षबाट कुनै प्रतिक्रिया आइसकेको छैन ।