अर्जुन थपलिया/राधिका जोशी
काठमाडौं । समाज कल्याण परिषदका सदस्यसचिव डिल्लीप्रसाद भट्ट भ्रष्टाचार आरोपमा निलम्वित भएका छन् । पदको दुरुपयोग गरेर भ्रष्टाचारजन्य काम गरेको उजुरी पछि छानबिनका लागि भन्दै उनलाई निलम्बन गरिएको हो ।
समाज कल्याण परिषद्का सदस्य सचिव डिल्लीप्रसाद भट्ट भ्रष्टाचार आरोपमा निलम्बनमा परेका छन् । शुक्रबारको मन्त्रिपरिषद बैठकले समाज कल्याण परिषदमा भएको भ्रष्टाचार छानबिन गर्न विशेष अदालतका पूर्वन्यायाधीश मोहनरमण भट्टराईको अध्यक्षतामा पाँच सदसीय समिति गठन गरेको थियो ।
समाज कल्याण परिषदको भोगाधिकारमा रहेको भृकुटी मण्डपको एक सय ९६ रोपनी जग्गा बिना टेण्डर विभिन्न कम्पनीलाई १५ देखि २५ वर्षसम्मका लागि अति कम मूल्यमा भाडामा दिई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल सरकारमा पटकपटक उजुरी परेको थियो ।
सदस्य सचिव भट्टले भृकुटी मण्डपस्थित ६० रोपनीमा फैलिएको फन पार्क टेण्डर नै नगरी परिषद कार्यसमितिको निर्णयबाट मासिक ५ लाख रुपैयाँ मात्र भाडा आउने गरी २५ वर्षका लागि भाडामा दिएर करोडौँ कमिसन खाएको उजुरी परेको छ । त्यसैगरी, भृकुटीमण्डप अन्तर्गतको टुकुचा किनारको तरकारी बजार २ करोड ५० लाख कमिसन लिएर बिनाटेण्डर मासिक ९ लाख रुपैयाँ भाडाम २५ वर्षका लागि ठेक्कामा दिएको आरोप छ । त्यसैगरी, भृकुटी मण्डपस्थित बगैँचा ठेक्का नलगाई समाज कल्याण परिषद आफैँले अमानतमा सञ्चालन गरेको र दैनिक आम्दानीको ७५ प्रतिशत रकम बाँडिचुडी खाने गरेको पनि आरोप छ । भृकुटी मण्डपस्थित एक हजार एक सय छाप्रो पसलहरुबाट ९ रुपैयाँ प्रति युनिट पर्ने विद्युत् महसुल ३३ रुपैयाँ युनिटका दरले उठाउने गरेको उजुरी परेको छ । भृकुटी मण्डपस्थित खुला चौर प्रदर्शनीका लागि भाडामा दिँदा आधा रकम कमिसन खाने र आधा मात्र आम्दानी बाँध्ने गरेको पनि भट्टमाथि आरोप छ ।
सदस्य सचिव भट्टले समाज कल्याण परिषदमा रहेको तालिम हलको भाडाबापत उठ्ने रकम पनि भ्रष्टाचार गरेको उजुरी परेको छ । उनको कार्यकालमा मात्र परिषदको बेरुजु २४ करोड रुपैयाँ नाघेको छ भने ५ करोड रुपैयाँ भन्दा अधिक भाडाबापतको रकम बक्यौता छ । भट्टबारे लागेका आरोपको जनता टेलिभिजनको लोकप्रिय कार्यक्रम बाइलाइनमा प्रसारित विभिन्न एपिसोडहरु हेर्नुहोस्ः
https://www.youtube.com/watch?v=riZDCj8P7qchttps://www.youtube.com/watch?v=TyxyaxCrcyYhttps://www.youtube.com/watch?v=eL0uG1fCCdwhttps://www.youtube.com/watch?v=2fXTEkH0nSIhttps://www.youtube.com/watch?v=SD0kH0yuQN0