धनुषा । दक्षिण एसियाकै दुई मुलुक जोड्ने पहिलो जनकपुर–जयनगर रेलको सफल परीक्षण गरिएको छ । ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको जयनगर–जनकपुर रेल सेवाको बुधबार भारतीय पक्षले सफल परीक्षण गरेको हो । भारतीय पक्षले नेपाल भू–खण्डको जयनगर रेलवे स्टेसनबाट खजुरीसम्म साढे आठ किलोमिटर लामो इन्जिन र बोगीसहित परीक्षण गरेको नेपाल रेल्वेका साइट इन्जिनियर विनोद ओझाले जानकारी दिएका छन् ।
जयनगरबाट खजुरीसम्म इन्जिनसहित ५३ वटा बोगी गिट्टी (ब्लास्ट) बोकेर खजुरी स्टेसन सम्म पुगेको थियो । उक्त रेल खण्डमा आवश्यक भएको स्थानमा ब्लास्ट ओछाउने कार्यसमेत भएको ओझाले बताए । ‘इन्जिनसहित ५३ वटा बोगी लिएर आएको मालबाहक गाडीको परीक्षण गरिएको छ,’ ओझाले भने,‘पहिलो पटक इन्जिनसहित आएको मालबाहक रेलको परीक्षण सफल भएको छ ।’ भारतीय पक्षबाट गरिएको सफल परीक्षण पछि रेल सञ्चालनमा अब ज्यादै द्धिविधा नहुने उनको विश्वास छ । सिभिलतर्फका अन्य केहि बाँकी सम्पन्न भए लगत्तै अक्टोबरको अन्त्य वा डिसेम्बरको पहिलो साताबाट रेल सेवा सञ्चालन हुने इन्जिनियर ओझाले बताए ।
भारतीय पक्षले गरेको रेल परीक्षण हेर्न त्यस क्षेत्रका स्थानीयवासीहरुको ठुलो संख्यामा भिड जुटेको थियो । दुई मुलुक जोड्ने दक्षिण एसियाकै पहिलो रेल्वे स्टेसनमा समेत नयाँ बनेको ब्रोडगेजमा परीक्षण हेर्नेको भिड जम्मा भएको थियो । भारत सरकारको ७ सय करोडको सहयोगमा जनकपुर हुँदै जयनगर–कुर्था ब्रोडगेज रेलसेवा निर्माण अन्तिम चरणमा पुगेको छ । कुर्थासम्मको रेल खण्डमा पुलपुलेसा, रेलवे स्टेसन, हल्ट लगायतका निर्माण कार्य करिब करिब सम्पन्न भइसकेको छ ।
सरकारले करिब डेढ वर्षसम्म रेल भाडामा लिएर चलाउने मोडालिटी टुंग्याएको छ । आगामी डिसेम्बरदेखि जनकपुर–जयनगर रेल चनाउने तयारी भएको छ ।यो रेलमार्गमा भाडामा रेलगाडी ल्याएर कन्ट्रयाक्टमा चलाउन दिन तयारी अघि बढाइएको छ ।रेल्वे विभागले विदेशका अनुभवी कम्पनीलाई डेढ वर्षसम्म रेल चलाउने, व्यवस्थापन गर्ने र नेपालमा त्यसको सीप हस्तान्तरण गर्ने गरी आउटसोर्सिङको गर्न लागेको हो ।
आउटसोर्सिङ गर्दा नेपालीलाई रेल सञ्चालनको सबै सीप कम्पनीले नै सिकाउनुपर्ने सर्त राख्न लागिएको छ ।भाडामा ल्याएको रेल सञ्चालन गर्दा नेपाली जनशक्तिहरु पनि परिचालन गर्ने र नेपाली जनशक्ति दक्ष भएसँगै आफ्नै रेल गुडाउने विभागको तयारी छ । हालै कुर्था (जनकपुर जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोडगेजका रुपमा विस्तार गरिएको छ । यो विस्तारको काम सन् २०१४ बाट यसको सुरुवात भएको थियो, यसैकारण जनकपुर(जयनगर रेल सेवा विगत ४ वर्षदेखि बन्द अवस्थामा छ । ३५ किलोमिटरको रेलमार्गमा सानो आकारको रेलको लिक हटाएर ठूलो आकारको बनाइएको छ । कुर्थाबाट महोत्तरीको विजलपुरासम्म रेलमार्गलाई ल्याउने योजना रेल्वे विभागको छ । यो रेलमार्गलाई २ वर्ष्िभत्र बर्दिवासमा पूर्वपचिश्म रेलमार्गसँग जोड्ने योजना छ ।