आशीषबहादुर सिंह
बझाङ । २० वर्षपछि जनताले जनप्रतिनिधि पाउँदा जनताका मुहारमा खुसी छायो तर त्यो खुसी रहिरहन सकेन । स्थानीयस्तरमा जनप्रतिनिधि आएको एक वर्ष नबित्दै जनताका मुहारबाट हाँसो हराएको छ । यतिबेला गाउँगाउँमा सिंहदरबार होइन, ‘सिंह’ पुगेको आभाष गरेका छन् जनताले ।
जनता भन्छन्, ‘जनप्रतिनिधि आउदा सुख पाइन्छ भन्ने लाग्थ्यो, यहाँ त नेताहरुले रगतपसिना चुसेको जस्तो आभाष भएको छ ।’प्रसंग हो विकट हिमाली जिल्ला बझाङको । बझाङको अति दुर्गम सैपाल गाउँपालिकास्थित खोला र नदीहरुमा पर्याप्त पुल तथा झोलुङ्गे पुल छैनन् । कहीँ कतै भए पनि त्यो पर्याप्त छैन र उपयुक्त ठाउँमा पनि छैन । र, प्रत्यक्ष मारमा परेका छन् स्थानीय ।
गाउँमा कोही बिरामी परिहाले त्यो भन्दा बढी दुःख र आपत अरु केही हुँदैन । सुत्केरी महिला र बुढापाकालाई जिल्ला अस्पतालसम्म पु¥याउन तीनदेखि चारदिन पैदल हिँड्नु पर्छ । गाउँपालिकाकै स्वास्थ्य चौकीमा लैजान दिनभर हिँड्नु पर्छ । कैयौँ खोला–खोल्सा पार गर्नुपर्छ । न हिँड्न राम्रो बाटोघाटो छ, न खोलाखोल्सा पार गर्न पुल पुलेसा नै । '
कति बिरामीले समयमा अस्पताल नपुगेर अकालमै ज्यान गुमाउनु परेको छ । कति सुत्केरीको बिचल्ली हुने गरेको छ । लेखाजोखा नै हुँदैन । वर्षायाममा पानीको बहाब बढेपछि खोला तर्न सक्ने सम्भावना नै हुँदैन तर नतरी सुखै छैन ।
नेताले चुनावका बेला जनतालाई सुख, शान्ति, समृद्धिको बाचा घरघरमै दिएमन थिए । तर एक वर्र्ष नबित्दै भुसुक्क बिर्सनु जनताका लागि मात्र पीडा होइन स्वयम् नेताको भविष्यान पनि दाग हुन सक्नेछ । चुनाबका बेला घरघरमा पुग्ने नेता सिंहदरबार छोड्न नसक्ने भएका छन् । स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारका नजरमा जनता पर्नै सकेन् । गाउँमा कतिपय बिरामी उपचार नपाई ज्यान गुमाउनु परेको छ भने कतिपय गाउँकै जडिबुटी सेवन गरी बाँच्नुलाई भाग्य मानिरहेका छन् । अझ त्यो भन्दा विकराल समस्या त के छ भने, बिरामी बोक्नेहरु पनि खोलानाला पार गर्दा डुबेर ज्यानै जानसक्ने जोखिमबाट मुक्त हुन सकेनन् ।
प्रदेश नम्बर ७ को विकट हिमाली जिल्ला बझाङमा १२ स्थानीय तहमध्ये २ नगरपालिका र १० गाउँपालिका छन् । तिनै स्थानीय तहमध्येको एक साइपाल गाउँपालिका । सदरमुकामबाट झण्डै ४ दिन पैदल यात्रा गर्नुपर्छ । यहाँका जनता सधैँ परिवारको कोही गुमाएजस्तो–हराएजस्तो गरी मुहारमा हाँसोरहित देखिन्छन् । प्रदेश सरकार र संघीय सरकारको नजरबाट समेत यो क्षेत्र ओझेलमा परेपछि स्थानीयलेको गुनासोको चाङ बनाउने नै भए ।
सम्रग बझाङलाई पाँचवर्षमा समृद्ध बनाउने माननीयहरुको पहिलो चुनाबी एजेन्डा पनि थियो । तर बाचा पूरा हुनु त कहाँ, कामको सुरुवातसम्म भएन । जनतालाई लागिरहेको छ, ‘विकासका कुरा नेताहरुको भोट माग्ने भाषणकला मात्र हो, हाम्रो दुःख हामीसँगै छ ।’ जनता भनिरहेका छन्, ‘जुन जोगी आए पनि कानै चिरेको ।’