८० वर्षीय वृद्ध बुबा आफ्नो घरको बार्दली छेउ कोठामा ४५ वर्षीय शिक्षित छोरासँगै सोफामा बसिरहेका थिए । अनायास, एउटा काग उनीहरु बसिरहेको कोठाको झ्यालमा आएर बस्यो ।
ती वृद्ध बुबाले छोरालाई सोधे, ‘यो के हो ?’ छोराले जवाफ दिए, ‘यो काग हो । केही समयपछि दोस्रोपटक सोधे, ‘यो के हो ?’ छोराले जवाफ दिए, ‘बुबा, मैले भर्खरै भनेको थिएँ, यो काग हो ।’ एकछिनपछि तेस्रोपटक ती वृद्ध बुबाले छोरालाई फेरि सोधे, ‘यो के हो ?’ यतिखेर भने छोराको अनुहारमा केही झर्कोपना देखिसकेको थियो । आवाजमा पनि त्यस्तै झर्कोपनासहित छोराले जवाफ दिए, ‘यो काग हो, काग हो, काग हो ।’
अनि फेरी केही समयपछि बुबाले त्यही प्रश्न चौथोचोपटक सोधे, ‘यो के हो ?’ यतिबेलासम्म छोरालाई सहिनसक्नु भइसकेको थियो । त्यसैले यसपटक उनले आफ्नो वृद्ध बुबालाई चिच्याउँदै जवाफ दिए, ‘तपाईं मलाई एउटै प्रश्न दोहो¥याई तेहे¥याई किन सोधिरहनुभएको छ, जबकि मैले तपाईंको प्रश्नको उत्तर पटकपटक दिइसकेँ कि त्यो काग हो । के यति पनि तपाईं बुझ्न सक्नुहुन्न?’
केही समयपछि बुवा आफ्नो कोठामा गए र एउटा पुरानो डायरी लिएर आए । त्यो डायरी जुन आफ्नो छोरा जन्मिएदेखि लेख्न थालेका थिए र ४५ वर्ष भइसक्दा पनि सम्हालेर आफूसँगै राखेका थिए । छोराको छेउमा आएर डायरीकोे पहिलो पाना पल्टाउदै पढ्न भने । बुवाले भनेजस्तै जब छोराले डायरी पढ्न थाले, त्यसमा यस्ता शब्दहरु भेटिए, ‘आज म मेरो ३ वर्षे छोरासँगै सोफामा बसिरहेको थिएँ, जतिबेला एउटा काग झ्यालमा आएर बस्यो ।
मेरो छोराले २३ पटकसम्म यो के हो भन्दै प्रश्न गरिरह्यो अनि मैले २३ पटक नै यो काग हो भनेर जवाफ दिएँ । उसले जतिपटक त्यो प्रश्न सोध्यो, त्यति नै पटक मैले मायाले उसलाई अंकमाल गर्दै जवाफ दिइरहेँ २३ पटक । २३ पटक एउटै प्रश्नको जवाफ दिँदा पनि मलाई बिल्कुलै झन्झट वा झर्को लागेन बरु झनै बढी माया लाग्यो र आत्मीयता महसुस गरेँ मेरो अवोध बालकप्रति ।’
एउटा बालक छोरोले एउटै प्रश्न २३ पटक सोध्दा पनि बुवा पटक्कै झर्को मान्दैनन् र जवाफ दिइरहन्छन् तर आज त्यही छोरालाई वृद्ध बुवाले ४ पटकमात्र एउटै प्रश्न सोध्दा ऊ झर्को मान्छ र चिढिन्छ । त्यसैले आज हाम्रा आमाबुबा वृद्ध हुनुहुन्छ भने तिनीसँग झर्किने वा तिनलाई बोझ ठान्ने नगरौँ । बरु मीठो बोलौँ, नरम व्यवहार गरौँ, आज्ञाकारी बनौँ र आत्मीयता अनि माया दशाऔँ । आजैबाट भनौँ अझ ठूलो स्वरले ‘म आफ्नो आमाबुवालाई सधैँ खुशी देख्न चाहन्छु’ । उहाँहरुले म सानो हुँदादेखि मेरो हेरचाह गर्नुभयो । विना स्वार्थ माया बर्साइरहनुभयो ममाथि । दुःखका कैयन पहाड छिचोल्नुभयो, आँधी झेल्नुभयो, मात्र म समाजमा बलियो गरी उभिन सकौँ भन्नका लागि ।’
भगवान्सँग प्राथना गरौँ कि म आफूले सकेको राम्रो भन्दा राम्रो तरिकाले बुबाआमाको सेवा गर्छु । उहाँहरुले जस्तोसुकै सम्झिनुहोस् वा व्यवहार गर्नुहोस्, म उहाँहरुका लागि सबै प्रिय वचन मात्र बोल्छु । (अनुदित सामग्री)