एउटा कामको सिलसिलामा सफल युवा सञ्चारउद्यमी रेडियो अडियोका प्रबन्ध निर्देशक दीपेन्द्र खनियाँसँग भेट भयो । देख्नेबित्तिकै उनको सोधनी थियो, तपाईंको टेलिभिजनमा ‘मानव टेलिश्रृंखला’ कहिलेदेखि प्रसारण हुने हो ? प्रोमो हेरिसकेपछि कहिले हेर्न पाउँला भन्ने हुटहुटि बढेको छ ।
[caption id="attachment_56335" align="alignleft" width="180"]
–दीपेन्द्र दोङ तामाङ[/caption]
कुराकानीक्रममै उनले निर्देशक बद्री अधिकारी र मानव महाकाव्यका रचयिता मोदनाथ प्रश्रित दुवैको व्यक्तित्व र कृतित्वले ‘मानव टेलिश्रृंखला’को प्रतीक्षा गर्न बाध्य बनाएको रहस्य खोले ।
भन्दै थिए, ‘म बद्री दाइको टेलिश्रृंखलाहरुको फ्यान हूँ । नेपाली जनजीवनलाई पर्दामा दुरुस्त उतार्ने र यसअघि नै लोकप्रिय भइसकेका कृतिलाई पनि आफ्नो निर्देशकीय क्षमताले नयाँपन दिनसक्नु उहाँँको विशेषता हो । मानवको प्रोमो मात्र हेरेका भरमा अनुमान लगाइसकेँ कि मानवलाई उत्कृष्ट बनाउन कुनै ‘कम्प्रोमाइज’ गरिएको छैन ।’‘मानव’ प्रसारणपछि खनियाँसँग भेट भएको छैन ।
चाबहिलकी लक्ष्मी खतिवडा विशुद्ध गृहिणी हुन् । उनी टेलिभिजनका खाँटी दर्शक हुन् । भनिन्, ‘म त हिन्दी टिभी सिरियल सकेसम्म छुटाउँदिनँ, हेर्ने लत नै बसिसक्यो ।’
कुराकानीक्रममा नागिन–३ सिरियल सबैभन्दा मनपर्ने हिन्दी सिरियल रहेको बताइन् । नेपाली टेलिभिजन च्यानलमा खासै टेलिफिल्म नआउने भएकाले नेपाली च्यानल कम हेर्ने गरेको बताइन् । नेपाली च्यानलले अनावश्यक समाचारलाई मात्र प्राथमिकता दिइरहेकाले चित्त बुझ्दैन’रे । समाचार थाहा पाउन टेलिभिजन हेरिहरनु पर्दैन, अनेक विकल्प छन् । तर राम्रो सिरियल वा कार्यक्रमका लागि त्यही टेलिभिजन हेर्नुको विकल्प नहुने उनको दाबी छ ।
जनता टेलिभिजनको ‘लोकमाला र मानव टेलिश्रृंखला’ नियमित हेर्ने गरेको उनको भनाइ छ । गुल्मी स्थायी घर भएका कारण पनि मानवले मोहनी लगाउन थालेको खुलाइन् । भनिन, ‘सानोमा गाउँमा जे देखेको थिएँ, मानवमा त्यही हेर्न पाउँदैछु । मानवका हरेक पात्र मैले भेटेकै पात्र जस्ता छन् । त्यसैले हरेक शनिबार मानव नछुटाइ हेर्छु । एकपटक हेरेर चित्त बुझ्दन, त्यसैले भोलिपल्ट पुनः प्रसारण हुँदा दोहोर्याएर हेर्छु ।’तर यति राम्रो सिरियल २०–२५ मिनेटमा सिध्याउदा लक्ष्मीलाई कहिलेकहीँ झोक पनि चल्दो रहेछ । ‘बल्ल रस बस्न शुरु गरिसकेको हुन्छ, फ्याट्ट सकिहाल्छ । अनि अर्को शनिबार कुर्नुको विकल्प छैन,’ उनले मुख खुम्च्याउदै भनिन् ।
पाटन क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत रश्मी विकको अनुभव बेग्लै छ । एकदिन क्याम्पसको क्यान्टिनमा उनी चिया खाजा खाँदै थिइन् । पल्लोपट्टिको बेञ्चमा चारजना केटा गफिँदै थिए । गफकै सिलसिलामा एउटा केटोले जिस्किदै बोल्यो, ‘तेरीमा कमिनी ।’ ऊसँगैका साथीहरु गललल हाँसे ।
उसले साथीहरुसँग जिस्किने निहूँमा मलाई नै घोचेजस्तो लाग्यो । रिसले औडाहा भो । तर आफूलाई कन्ट्रोल गरेँ । धेरैपछि थाहा पाएँ, ‘त्यो डाइलग त जनता टेलिभिजनमा प्रसारण हुने मानव टेलिश्रृंखलाको रहेछ ।’ साथीबाट जनता टेलिभिजनमा हरेक शनिबार मानव टेलिश्रृंखला प्रसारण भइरहेको थाहा पाएपछि हेर्न शुरु गरेको बताइन् । ‘६ भाग प्रसारण भइसकेको रहेछ । त्यसदिनदेखि नियमित हेर्दै आएकी छु । यसअघिका भागहरु छुटे पनि अहिलेसम्मको कथा बुझे जस्तो लाग्छ,’ रश्मीले भनिन् ।
शुरुमा त उनलाई अहिलेको जमानामा पनि जातीय भेदभाव र छुवाछुतको कथा कसले हेर्ला भन्ने लागेको रहेछ । यस्तो कथामा त कति फिल्म, टेलिफिल्म हेरिसकेँ । सानोमा दलन टेलिश्रंंखला हेरेकी थिएँ । ‘तर मानव हेरेपछि पहिलोपटक आफ्नै उत्पीडन र दमनको कथा हेर्दैछु जस्तो लाग्छ । कथाभित्र बहकिँदै गएर आफ्नै घर र टोलबस्तीका पात्र पर्दामा आएजस्तै लाग्छ,’ आँखा रसिलो पार्दै मुस्कुराइन् उनी ।हरेक पात्रलाई सुहाउदो कलाकार र उनीहरुका जीवन्त अभिनयले मानवलाई उत्कृष्ट बनाएको रश्मीले सुनाइन् । लजाउँदै भनिन्, ‘बाहुनको छोरा र कमिनीबीचको प्रेमले यो टेलिश्रृंखला हेर्न झन लोभ्याउँछ । उनीहरुको प्रेम कहाँ गएर टुंगिन्छ भन्ने खुल्दुली लागिरहन्छ ।’माथि भेटिएका रियल पात्रहरुले दिएका प्रतिक्रियाले मानवसँग जोडिन पाउँदा खुशी र गर्व महसुस गराउँछ ।
जनता टेलिभिजनले आफ्नै लगानीमा निर्माण गरेको टेलिश्रृंखला हो मानव । हावादारी हिन्दी सिरियलले नेपाली दर्शकको मनोविज्ञानमा प्रहार गरिरहेको अवस्थामा आफ्नै कथा र परिवेशको टेलिश्रृंखला हेर्न अभिप्रेरित गर्ने उद्देश्यले मानव टेलिश्रृंखला निर्माण गरिएको हो । १४ भागसम्मको प्रसारणमा दर्शकहरुबाट प्राप्त सकरात्मक प्रतिक्रियाले उद्देश्य पूरा हुँदैछ भन्ने सुखद अनुभूति हुन्छ । लगभग एउटा सेल्युलाइड फिल्म निर्माण गर्न पुग्ने लगानी यसमा गरिएकोमा कुनै पछुतो छैन ।
मानवले दर्शकहरुको यसरी मन जित्नुको सबैभन्दा मूल कारण मानवको विषय नै हो । देशको कानुनले जति क्रान्तिकारी व्यवस्था लागू गरेपनि आमनेपालीको मानसिकता पुरातनवादी छ । जातीय छुवाछुत र भेदभावको शैली र मात्रा मात्र फेरिएका छन्, निमिट्यान्न भइसकेको छैन । यस्तो अवस्थामा चरम प्रगतिशील समाजको वकालत गर्ने मानवको ‘हाइहाइ’ हुनु अस्वाभाविक होइन । मानव महाकाव्यका लागि लेखक मोदनाथ प्रश्रितलाई २०२३ सालमै प्रतिष्ठित मदन पुरस्कार दिइएको त्यत्तिकै होइन भन्नेमा मानव हेरेपछि जोसुकै तुरुन्तै ‘कन्भिन्स’ भइहाल्छ ।त्यसमाथि कोरस, अविरल बग्दछ इन्द्रावती जस्ता उत्कृष्ट टेलिश्रृंखला निर्देशन गरेर वाहवाही कमाइसकेका वरिष्ठ निर्देशक बद्री अधिकारीले मानवलाई सुनमाथि सुगन्ध बनाइदिएका छन् ।
स्क्रिप्ट लेखन, लोकेशन र पात्र चयन, लाइटिङ, फ्रेमिङ र शट साइज हरेक कुराले यसअघि नै पढिसकेको कृतिमा आधारित भए पनि उनले मानवलाई बोझिलो हुन दिएका छैनन् । त्यसैले त मानवको लोकप्रियता दिनदिनै बढ्दैछ । यसले मौलिक नेपाली टेलिश्रृंखला हेर्ने दर्शकको सपना पनि पूरा गर्दैछ । सँगै नेपाली दर्शकलाई आफ्नै देशको टेलिभिजन हेर्ने बानी पार्दैछ । एउटा टेलिभिजनकर्मीकालागि योभन्दा ठूलो उपलब्धी अरु के चाहिएला र ?
दर्शकलाई सन्तुष्ट बनाउन सकेँ
[caption id="attachment_56330" align="alignleft" width="354"]
–बद्री अधिकारी, निर्देशक, मानव[/caption]
मानव टेलिसिरियल मात्र होइन, यो नेपाली इतिहास हो । नेपाली समाजको दस्तावेज हो । धेरै कृतिमा काम गरेँ, यसपटक मदन पुरस्कार प्राप्त मोदनाथ प्रश्रितको कृतिमाथि काम गर्न पाउँदा साह्रै गर्व लागेको छ । नयाँ पुस्ताका लागि पुरानो नेपाली समाजको ऐना हो मानव । काव्यको भाव ल्याउनु र पात्रलाई जीवन्त बनाउनु पक्कै चुनौतिपूर्ण काम हो । यसमा सकभर न्याय गरेको छु । लेखक र दर्शक दुवैलाई सन्तुष्ट बनाउन सकेँ, त्यही मेरो कामको जीत हो ।
मानवमा यो साताहरेक शनिबार बेलुकी ८ः४५ बजे प्रसारण हुँदै आएको मानव टेलिश्रृंखलाको यो शनिबार १४ औँ भाग प्रसारण हुँदैछ । मानवको यसपटकको श्रृंखला विभिन्न रहस्यले भरिएका छन् ।मानवको यो भागमा लाहुर गएका कालेको चिठी लिएर प्रकाशसँगै पत्रबाहक कालेको घरमा आइपुग्छ । पत्रमा लेखिएको व्यहोराले कालेकी स्वास्नी खुशी हुन्छिन् । पण्डितका छोरा प्रकाशले कालेकी स्वास्नीको हातले दिएको पानी घट्घट पिएको देखेर पत्रबाहक खुशीले भावविह्वल बन्छन् र प्रकाशसँग भन्छन्, ‘सबै विष्ट तपाईं जस्तै कहिले बन्लान् ?’ प्रकाश जवाफ दिन्छन्, ‘समयले सबैलाई सुल्टो पार्छन् ।’
यता मुखियाको मन स्थिर छैन । उनलाई कताकता अज्ञात भय र चिन्ताले सताइरहेको छ । गाउँमा महिलाबीच माइली मुखिनी फेरि दुई जिउकी भएको कानेखुशी हुन्छ । छ वटी छोरी जन्मेर पनि छोरा नै चाहिने मुखिया र त्यसको पक्षपोषण गर्ने शास्त्रको टिकाटिप्पणी गर्छन् महिला । मुखियाको छट्पटी देखेर माइली मुखिनी यसपटक छोरा नै जन्मिनेमा आश्वस्त पार्छिन् । फेरि पनि छोरी जन्मिए कान्छी श्रीमती भित्र्याउन सल्लाह दिन्छन् र निराश हुँदै भन्छिन्, ‘मुखियाले त जतिवटी विवाह गरे पनि पाइन्छ क्यारे !’
उता मुखियाको घरमा हुँदा अज्ञात कालो छायाँले छोपेकी पुतली विक्षिप्त जस्तै बनेकी छिन् । आफ्नै घरमा फर्केकी उनी सपनामा तर्सिने, आत्तिने र विपनामा पनि आफैँ टोलाउने, रोइरहने गर्छिन् । मुखियाको मनको डरको कारण के हो ? पुतली किन अचानक विक्षिप्त बनिन् ? पत्रमा कालेले के लेखेर पठाए ? यी सबै जिज्ञासाहरु मेटाइदिन मानव टेलिश्रृंखलाको भाग १४ हेर्नुपर्छ ।
टेलिश्रृंखलाः मानव लेखकः मोदनाथ प्रश्रितपटकथा-सम्वाद-निर्देशनः बद्री अधिकारीकलाकारहरुः सुशील पोखरेल, श्याम खड्का, शारदा अधिकारी, अस्मिता बस्नेत, एना देउजा, अञ्जान शर्मा, अर्जुन न्यौपाने लगायत । प्रसारण हुने टेलिभिजनः जनता टेलिभिजनप्रसारण समयः हरेक शनिबार राति ८ः४५ बजे ।
(दोङ जनता टेलिभिजन र मानव टेलिश्रृंखलाका कार्यकारी निर्माता हुन् )