भारतको पुनामा नसिरुद्दिनका डेरा पार्टनरबदलिँदो आकाशमा नायकको अफर, नायिकाको दाजुमा अभिनयजीवन्त अभिनयले चेलिबेटी बेचखिन दलालको परिचयपहिलो भेटमै सुनील थापासँग जुत्ता साटियो, जम्यो दोस्ती
–विना श्रेष्ठत्यो दिन स्कुलमा शिक्षकले जबर्जस्त नाटकमा अभिनय गर्न नलगाएको भए आज टीका पहारी कहाँ हुन्थे होलान् ? जवाफ स्वयम् टीकासँगै छैन । सायद ती शिक्षकले उनीभित्र लुकेर रहेको भविष्यको भेट्रान अभिनेता टीका पहारीलाई त्यतिबेलै पहिचान गरिसकेका थिए । त्यसैले त उनै शिक्षकले देखाएको बाटो पहिल्याउदै जानेक्रममा पहारी नेपाली रंगमञ्च र चलचित्र अभिनयका रोलमोडल बन्न सफल भएका छन् ।
बुबा अमरबहादुर तथा आमा योगकुमारीका पाँचौ सन्तानमध्ये कान्छा सन्तान टीका २००६ चैत १९ गते नवलपरासी लेवडामा जन्मिएका हुन् । हुन त बाल्यकालको मज्जा नै जिद्धीपन र जिद्दीपनपछि पाएको चिजमा रमाउनु हुन्छ । टीका पनि बाल्यकालमै साहै« जिद्धी स्वभावका थिए । आँखाले देखेको र मन परेको चीज नपाएसम्म उनको जिद्धीपन रोकिँदैन थियो ।
दालप्रेम र त्यो परालको आगोः
उसो त दाल मन पर्ने खाना थिएन । तर बालापनको जिद्धीपनका कारण खाने थालमा दाल देखिनु जरुरी थियो । बिहानबेलुकी खानामा दाल नभए खाना खानै बस्दैनथे उनी । बाल्यकालमा उनको दालमोह देखेर घरको भान्सामा मात्र होइन, आफन्तकहाँ जाँदासमेत उनकै लागि भए पनि दाल अनिवार्य पाक्थ्यो ।
बाल्यकालमा गरेका अनेकौँ बदमासीमध्ये उनका कारण गाउँमा आगलागी भएको गोप्य कुरा सम्झँदा पनि झसँग हुन्छन् उनी । एकदिन काकीले बिँडी र सलाइ किन्न पठाउँदा फर्किने क्रममा बाटोमा राखिएको कुन्युको पराल तान्दै थुपारेर बाल्दै निभाउँदै, फेरि अलि पर पुगेर त्यसरी नै पराल बाल्दै खेल्दै आउने क्रममा एकाएक आगोले डढेलोको रुप लियो । डढेलो निभाउन नसक्दा भागेर घरमा गएर दिनभर खाटमुनि लुकेर बसेको बालापनको त्यो उट्पट्याङ सम्झँदा कताकता रोमाञ्चित हुन्छन् उनी ।
भविष्यमा कलाकार बन्छु भन्ने उनको कुनै सपना थिएन, न त बाल्यकालमा नाटक खेल्ने रहर थियो । तर एकदिन स्कुलमा भएको सांस्कृतिक कार्यक्रममा स्वास्थ्यसम्बन्धी जनचेतना फैलाउने नाटकका लागि शिक्षकले उनलाई चयन गरे । अभिनयबारे केही थाहा नभए पनि शिक्षकले जसोजसो गर भनेर सिकाए, त्यसै त्यसै गरे उनले । दुईदिन प्रशिक्षण लिएपछि उनले पहिलोपटक स्कूलको प्राङ्गणमा अभिनय गरे । त्यहीँबाट उनको अभिनय यात्रा शुभारम्भ भयो ।
उनले कक्षा आठसम्म गाउँकै विद्यालयमा अध्ययन गरे । त्यतिबेलाको समयमा गाउँमा पर्याप्त स्कुल थिएन । त्यसैले उनका दाजुले उनलाई थप पढाइका लागि भारतको गोरखपुर लगे । उनका दाजुको ंपनि कलाकारितामा राम्रो रुची थियो । त्यसैकारण पनि होला, दाजु फिल्मका सौखिन थिए । यसैक्रममा एकदिन दाजुले टीकालाई पनि फिल्म देखाउन लगे । पहिलोपटक दाजुसँग फिल्म हेर्न गएका टीकाले फिल्मको विषयबस्तु केही नबुझे पनि उनमा फिल्मीमोहको बिज रोपिदियो । अनि के चाहियो ? त्यसपछिका दिनहरुमा टीका कहिले दाजुसँग त कहिले साथीभाइसँग फिल्म हेर्न जान थाले ।
सधैँ तर्सारहने फिल्मी भूत
फिल्म हेर्दाहेर्दै बिस्तारै उनको मनमा पनि अभिनयको भूत चढ्दै जान थाल्यो । आफूले पर्दामा हेरेका कलाकार जस्तै आफूलाई पनि पर्दामा हेर्ने उत्कट रहर जाग्यो । गोरखपुरमा हुने नाटकमा उनी आक्कलझुक्कल देखिन थाले । दुई वर्षपछि हाइस्कुलको शिक्षा सकिएसँगै अभिनय सिकेर कलाकार बन्न्ने सपना बोकेर काठमाडौं फर्किए । त्यतिबेला नेपाली चलचित्र ‘हिजो आज भोलि’ बनाउने हल्ला चलिरहेको थियो ।
चलचित्रमा काम गर्ने रहरले उनले पनि चलचित्रका लागि अडिसन दिए तर छानिएनन् । कलाकार बन्ने रहरलाई मूर्त रुप दिलाउन उनी अभिनय सिक्ने ठाउँ खोजीमा लागे । त्यतिबेला अभिनय प्रशिक्षण दिने निजीस्तरका कुनै संस्था थिएन । सरकारीस्तरको राष्ट्रिय नाचघर र प्रज्ञा प्रतिष्ठान मात्र थियो । त्यहाँ पनि नाटक भन्दा गीतसंगीत नै बढी हाबी थियो । त्यसैले नेपालमा अभिनय सिक्ने ठाउँ नभेटेपछि उनी अभिनय सिक्न २०३० सालमा भारतको पुना पुगे ।
पुनामा कोठा भाडामा लिने क्रममा उनको भेट कलाकार नसिरुद्दिन शाहसँग भयो । नसिरुद्दिन पनि कोठा भाडामा बस्न पार्टनर खोजीमा थिए । टीकासँग भेट भएपछि दुवै एउटै कोठामा बस्न थाले । पछि शाहकै सल्लाहमा इण्डियन पिपुल्स थियटर एसोसिएसन इप्टा’ थियटरमा टीकाले पनि नाटक खेल्न सुरु गरे । उनले भारतको पुनामा त्यही पनि प्रतिस्पर्धाबाट छानिएर पहिलो पटक डा. शंकर शेषको ‘एक और द्रोणाचार्य’ नाटक खेल्ने अवसर पाए ।
टीकाले द्रोणाचार्यको भूमिका पाएका थिए । भूमिकामा टीकाको अभिनयबाट नाटक हेर्न आएका दर्शक निकै प्रभावित भए । उनको अभिनय हेरेर फ्यान बनेका हजारौँमा एक थिए महेश भट्ट । महेशले टीकाको नाटक १० पटक हेरे । किनकी उनी आफूले बनाउने चलचित्रमा टीकालाई लिने मुडमा पुगिसकेका थिए । त्यसरी पहिलो नाटकबाट अभिनयका माध्यमबाट आम्रो छाप छोड्न सफल टीकाको त्यसपछिका दिनमा थियटरमा ‘वाहवाही’ हुन थाल्यो । उनका सहकर्मी उनको प्रगति देखेर तीन छक्क पर्थे ।
थियटरमा काम गर्दै जानेक्रममा टीकाको चिनजान धेरैसँग बढ्दै गयो । उनको हिन्दी भाषा राम्रो थियो । त्यसमाथि ओजिलो आवाज । त्यही भएर उनले विभिन्न भारतीय रेडियो तथा टेलिभिजन विज्ञापनमा आवाज दिने काम पाउन थाले । त्यहीक्रममा उनलाई साउथ इन्डियन ग्रुपले फिल्मको जिङ्गल नेपालीमा उल्था गर्ने ठूलो प्रोजेक्टमा समेत काम गर्ने मौका पाए । प्रोजेक्टमा उनले आफूसँगै नेपालबाट बोलाएर उदितनारायण झा, मुरलीधर र सुष्मा श्रेष्ठलाई समेत काम दिलाइदिएका थिए ।
टीकाको शक्ति उनको आवाजमा छ भन्नेहरु धेरै छन् । आवाजकै कारण उनले धेरै अवसर पनि पाएका छन् । त्यसैले उनको जीवनमा उनको आवाजको भूमिका निकै महत्वपूर्ण रहँदै आएको छ । उनको आवाजकै कारण विक्रम सम्वत २०३३ मा शक्ति सामन्तको हिन्दी चलचित्र ‘अनुरोध’ मा उनले कार्यक्रम प्रस्तोताको भूमिकामा अभिनय गर्ने अवसर पाए । त्यही चलचित्र उनको अभिनय करियरको पहिलो चलचित्र थियो ।
छुट्यो बलिउड मोह
भारतीय चलचित्र क्षेत्रमा अभिनय करियरले बिस्तारै उकालो गति लिइरहेकै अवस्थामा टीका पहारीको जीवनमा मातृ बात्सल्य रोज्ने कि करियर भन्ने अवस्था आइपर्यो । स्वाभाविक रुपमा उनले मातृ बात्सल्य नै रोजे र नेपाल फर्किए । तर झ्यालढोका थुन्दैमा जूनको उज्यालोलाई कसले छेक्न सकेको छ र ? अर्थात् भारतीय चलचित्रबाट प्राप्त अवसर छोडेर आएका प्रतिभाशाली टीकालाई नेपाली चलचित्र क्षेत्रले ढोका खोलेर स्वागत गर्यो ।
पहिलो हिन्दी चलचित्र ‘अनुरोध’ मा काम गरेपछि टीकाले अन्य चलचित्रमा काम गर्ने अवसर पाउँदै थिए । तर मातृभूमिको बिछट्टै माया गर्ने टीका नेपालमा नै आएर केही गर्न चाहन्थे । त्यसैले नेपालमा नै केही गर्ने सोचले उनी नेपाल फर्किए र फिल्म निर्माणसम्बन्धी एउटा कम्पनी दर्ता गराए । तर चलचित्र बनाउने उचित वातावरण नमिलेपछि उनी फेरि बम्बई (मुम्बई) फर्किए ।
भारतीय चलचित्रमै काम शुरु गरेका टीकाले त्यसपछि ‘सत्ते पे सत्ता, दशेरा, जमाना’लगायत आधा दर्जन चलचित्रमा अभिनय गरे । भारतीय चलचित्र ‘उची उडान’ को १५ दिनको शुटिङक्रममा टीकालाई नेपाल आउने सन्जोग जुर्याे । त्यही चलचित्रको शुटिङक्रममा नेपाल आएका टीकाको कानमा आमा सिकिस्त बिरामी हुनुभएको खबर भाउजुमार्फत आइपुग्यो ।
चिकित्सकहरुले आमा बढीमा तीन महिना मात्र बाँच्नुु हुने बताएको थाहा पाएपछि चलचित्रको शुटिङ सकाएर ‘उची उडान’ टोली मुम्बई फर्कदा टीका नेपालमै बसे । टीकाले चलचित्र क्षेत्रमा उकालो लाग्दै गरेको आफनो करियरभन्दा पनि त्यतिखेर जीवनको अन्तिम घडीमा रहनुभएकी आमाको साथलाई बढी मूल्यवान ठाने ।
नेपालमा रहँदा टीकालाई चलचित्रमा अफर आयो । चलचित्र थियो ‘बदलिदो आकाश ।’ हुन त बदलिँदो आकाशभन्दा अगाडि चेतन कार्की र अम्बर गुरुङमार्फत नेपाली चलचित्र जीवनरेखाका लागि साइन गरिसकेका थिए तर कारणबस टीकाले त्यो चलचित्र खेलेनन् । ‘बदलिदो आकाश’ मा नायिकाको दाजुको भूमिका थियो ।े कुशल अभिनयले पात्रलाई जीवन्त बनाइदिए । हुन त चलचित्र बदलिँदो आकाशमा उनलाई नायककै अफर आएको थियो । त्यसका लागि फोटो शुटसमेत गराएका थिए । तर आफनो कला राम्रो देखाउन सकिने रोल छान्नेक्रममा नायिकाको दाजुको पात्रलाई छाने ।
रियलमा पनि भिलेन
हरेक पात्रलाई पूर्ण न्याय गर्नसक्ने उनको अभिनय खुबीका कारण दर्शकसमेत झुक्किन्थे । चलचित्र चेलिबेटीमा उनले निभाएको नेगेटिभ पात्रका कारण उनलाई धेरैले साँच्चैको चेलिबेटी बेच्ने दलाल ठान्थे । उनलाई देख्नासाथ भाग्ने, गाली गर्ने गरेको कयौँ पल टीकाले अनुभव गरेका छन् । हुन त सकारात्मक र नकारात्मक दुवै रोलमा उनले अभिनय गरेका छन् । तर सकरात्मक भन्दा पनि नकरात्मक रुपमा निभाएको पात्र बढी हाबी भयो, धेरैले उनलाई त्यसैमा रुचाउँथे । त्यसैले त आजसम्म पनि उनलाई धेरैले डरलाग्दो भिलेनको रुपमा चिन्दछन् ।
कलाकारिता क्षेत्रमा पाँचदशक बितिरहँदा उनको खातामा करिब आधा दर्जन भन्दा बढी हिन्दी चलचित्रको साथै बदलिँदो आकाश, चेलिबेटी, युगदेखि युगसम्म, दर्पणछाँया, भीष्मप्रतिज्ञालगायत झण्डै सय नेपाली चलचित्र छन् । त्योभन्दा पनि बढी आफनो अभिनयले हरेक पात्रलाई जीवन्त बनाइसक्ने उनको खुबीका कारण उनी पर्दामा भिलेन बने पनि दर्शकहरुको मनमष्तिस्कमा सधैँ हिरो बनेका छन् ।
केटीको फोटो हेर्ने अडान
भारतीय तथा नेपाली चलचित्र क्षेत्रमा आफनो बेग्लै पहिचान बनाइसकेका टीकाको विवाहको प्रसँग जति फिल्मी छ, उति नै फिल्मी छ उनको पारिवारिक जीवन । त्यतिबेला आफन्त या चिनजानका व्यक्तिले ल्याएको प्रस्तावका भरमा विवाह हुन्थ्यो । त्योभन्दा बढी भए केटा वा केटीले फोटोसम्म हेर्न पाउँथे । आफन्तले ल्याएको प्रस्तावका भरमा उनका बुबाआमाले टीकाको विवाह गर्ने निर्णय गरिसकेका थिए । तर टीकालाई त्यो मञ्जुर थिएन ।
उनले एकचोटी केटी हेर्छु, अनि मात्र बिबाहका लागि राजी हुने अड्डी कसे । उनको प्रस्ताबलाई केटी पक्षले स्वीकारेपछि केटी हेर्ने कार्यक्रम तय भयो तर पछि केटी पक्षले फिल्मलाइनमा लागेको त्यसमाथि भारतमा बस्ने भनेर छोरी दिन मानेनन् । टीकाले आफू भारत छाडेर नेपालमा नै बस्ने गरी फर्किएको जानकारी गराएपछि बल्ल दुवै तर्फबाट कुरा मिल्यो र बिक्रम सम्वत २०३८ फागुनमा टीका र मञ्जु स्वाँर वैवाहिक बन्धनमा बाँधिए ।
उनीहरु बैबाहिक बन्धनमा बाँधिएको ३७ वर्ष पूरा भएको छ । हाल पहारी दम्पतिका तीन सन्तान छन्, गौरव पहारी, सौरभ पहारी र सुलभ पहारी । सायद उनको रगतको प्रत्येक थोपामा अभिनयरस घुलिएको रहेछ वा उनले घरको वातावरण नै फिल्मी बनाए । त्यसैको प्रभावस्वरुप उनका तीनैभाइ छोराहरुले बाबुकै कर्मलाई पछ्याएका छन् । तीनै भाइ छोराहरुले बुबाको विरासत थामेका छन् ।
पुराना भनिदिँदा दुख्ने मन
जेठो छोरा गौरव पहारी नेपाली चलचित्र क्षेत्रका युवापुस्ताका आशालाग्दा अनुहार बनिसकेका छन् । उनी बुबाको अभिनय कला र ओझिलो आवाजबाट निकै प्रभावित छन् । उनी बाल्यकालमा पर्दामा बुबाले चलचित्रमा निभाएको नेगेटिभ पात्र हेर्दा घरमा पनि बुबादेखि निकै डर लाग्ने गरेको रमाईलो प्रसंग सम्झन्छन् ।
करिब पाँचदशक लामो कलाकारिता यात्रामा लागेर टीकाले थुप्रै शुभचिन्तक तथा साथीभाइ कमाएका छन् । त्यही मित्रताको घेराभित्र पर्दछन् वरिष्ठ कलाकार सुनील थापा । पहिलो भेटमौ जुत्ता साटासाट गरेर बाँधिएको मित्रताको डोरी आज पनि उत्तिकै कसिलो रहेको बताउछन् कलाकार थापा । टीकाको अभिनय प्रतिभा र निष्ठावान समाजसेवाबाट आफू निकै प्रभावित रहेको सुनील बताउँछन् ।
टीकाले कलाकारितामा लागेर के पाएँ वा के गुमाएँ ?भनेर हिसाबकिताब गरिसकेका छैनन् । दर्शकबाट प्राप्त मानसम्मान र आफ्नो छुट्टै पहिचानलाई नै उनले आफ्नो जीवनको ठूलो कमाइ ठानेका छन् । राज्यले सम्झिदिएनन् भनेर खासै चित्त दुखाइ पनि छैन उनको । बरु पर्दामा निभाइएको चरित्रका आधारमा भिलेन र पूराना कलाकार भनिदिँदा भने कहिलेकहीं मन दुख्ने गरेको अनुभव छ । किनकी उनले कलाकारिता क्षेत्र न कहिल्यै छोडे न अहिले नै छोड्ने मुडमा छन् ।