–रेखा शाहीकाठमाडौं । २७ वर्ष देश विदेशका डाडाँपाखामा नेपाली झण्डा बोक्दै कुदेका धावक हरिबहादुर रोकायाको स्वास्थ्यमा सुधार आएको छ । उपचारपछि सामान्य हिँडडुल गर्न सक्ने रोकायाको अस्पताल धाउने दैनिकी भने घटेको छैन । तर, देशलाई संसारभर चिनाउने रोकाया बिरामी परेको खबर सरकारको कानसम्म नपुगेको टिप्पणी हुन थालेको छ । दुईपटक ओलम्पिक खेलकुद र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका रोकायाको जिन्दगी काठमाडौंको साँघुरो कोठामा खुम्चिएको छ । तर मन भने हिमाली जिल्ला जुम्लाको डाडाँपाखाका हावा झैँ सुसाइरहेका छन् । जहाँ, रोकायाका स्वर्ण सपना हुर्कदैछन् । खेलाडीहरु रोकायाको स्वागतार्थ बाटोभरि आँखा ओच्याइरहेका छन्, प्रार्थना गरिरहेका छन् मनैदेखि कि निको होस् गुरूलाई ।
रोकाया अन्तरराष्ट्रिय अल्ट्रा धावक हुन् । एकपछि अर्को आफ्नै विश्व रेकर्ड तोड्नेमा पर्छन् । नेपालको नाममा २७ वर्ष दौडिए । ३० अन्तरराष्ट्रिय प्रतियोगितामा सहभागी भए । अब्बल अल्ट्राधावक रोकायालाई कुनै संयोगले एकाएक यस्तो झोक चल्यो, ‘म भन्दा अब्बल खेलाडी उत्पादन गरेर संसारलाई चकित पार्नेछु ।’ अनि, रोकाया पुगे जुम्लामा प्रशिक्षण गराउन । तर, असार १ गते, थचक्क बसेका रोकायामा देखियो हातखुट्टा नचल्ने संक्रमण ।
उपचारका लागि काठमाडौं आए । बाँसबारीस्थित न्युरो अस्पतालमा भर्ना भए । केहीदिन उपचारपछि बिस्तारै हात खुट्टा चल्न थाले । हातखुट्टा मात्र होइन उनको टुक्रिएको सपना नै जोडिदैँछ भनौँ । फेरि पनि मन अशान्त छ । देशका लागि गरेको दुःख सम्झिँदै आँखाभरि आँशु पार्छन् रोकाया । सरकारले एकलाख रुपैयाँ दिएको छ उनलाई । सहयोगप्रति आभारसमेत व्यक्त नगरौँ झैँ भएको छ मनमा । ‘देशका लागि जीउज्यान लगाएर दौडिएँ तर सरकारले मेरो दुःखमा नून पो दले झैँ भएको छ,’ रोकाया थप्छन्, ‘आफूजस्तै समस्यामा परेका खेलाडीका लागि अक्षय कोष बनाउनेछु । मजस्तै अरु खेलाडीले समस्या भोग्न नपरोस् ।’
स्वास्थ्यमा केही सुधार आएका ५७ वर्षीय रोकायामा उत्साह भने १६ वर्षेजस्तै छ । प्रशिक्षार्थीहरुसँग उनको मनमुटु जोडिएको छ । प्रशिक्षार्थीका सपना दौडिएका छन् रोकायाको मन । ६ महिनामा पूर्णरुपमा निको हुने आशा राखेका रोकायामा पहिलाजस्तो दौडिने क्षमता नभए पनि खेलाडीलाई दीक्षित गरिरहने हुटहुटि नघटेको बताउँछन् । गिनिज बुकमा नाम लेखाएर देशलाई संसाभर चिनाउने रोकाया बिरामी पर्दा सरकारको नजरमा नपर्दा आफ्नै देशमा बिरानो भएका छन् । आम खेलाडीले गर्ने औसत गुनासो भन्दा फरक पाएनन् हरिबहादुरले पनि राज्य र सरकार ।
https://www.youtube.com/watch?v=elUqwqKAlaM