आशिष बहादुर सिंह
बझाङ । क्षेत्रफलका हिसावले नेपालकै ठुलो र सुविधा हिसावले सम्भवत सबै भन्दा विकट बझाङको साइपाल गाउ“पालिकाका अध्यक्ष राजेन्द्र धामी २०७४ साल चैत्र २२ गते ज्ञापन पत्र लिएर प्रदेश नं ७ को मुख्यमन्त्रीको कार्यालयमा पुगे । उनको मुख्य माग थियो, नेपाल र तिब्बतको सीमामा पर्ने साइपाल गाउँपालिकाको उरै भञ्जाङ नाकामा भन्सार कार्यालय र सुरक्षा पोष्ट स्थापना ।
यही माग लिएर सोही दिन उनले प्रदेश ७ का आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकास शाहलाई भेट्न पुगे । उनको तर्क थियो ‘बर्षेनी अर्वाै मुल्यको जडिबुटी यो बाटो भएर अबैध निकासी भैरहेको छ । यसलाई रोक्न सकियो भने मात्र बार्षिक ८/१० करोड भन्दा बढी राजश्व मात्रै संकलन हुन्छ । यसले गाउँपालिका मात्र नभएर जिल्ला र देशकै हित हुन्छ ।’
उनको अर्काे तर्क थियो ‘यही नाका भएर अबैध रुपमा तिब्बत तर्फ तस्करी हुने बन्यजन्तुका अखेटो पहारका कारण बझाङमा चोरी शिकार बढदै गएको छ । जसले गर्दा नेपाल सरकारले दुर्लभ र लोपोन्मुखको सुचीमा समावेश गरेका बन्यजन्तु अस्तित्व खतरामा छ ।’ उनको ज्ञापन पत्र बुझेका मुख्य मन्त्रीले यस विषयमा संघिय सरकारलाई लेखि पठाउने र आगामी निति तथा कार्यक्रममा पनि नाकामा सुरक्षा पोष्ट स्थापनाको माग समेटने आश्वासन दिएका थिए । आन्तिरिक मामिला तथा कानुन मन्त्रीबाट समेत उनले यस विषयमा पहल गर्ने प्रतिबद्धता पाएका थिए ।
जब प्रदेश सरकारको नीति कार्यक्रम आयो उनको मागको कतै सुनुवाई भएको रहेन छ । सुरक्षा पोष्ट राख्ने कुरा कतै उल्लेख नभएको थाहा पाएका उनले खिन्नता प्रकट गर्दै व्यंग्य मिश्रीत शैलीमा जनताकर्मी स“ग भने ‘भाषणमा समृद्धिका कुरा गर्छन । अर्बाै रुपैया बर्षेनी बगिरहेको देख्दैनन । सायद राजनिति भनेकै यही होकी ?’
हुन पनि उनले भने जस्तै बझाङको उरै भञ्जाङ नाका भएर वन्यजन्तुका अखेटोपहार, र बहुमुल्य जडिबुटी त तिब्बत तर्फ जान्छ नै । तातोपानी नाका बन्द भए पछि भारतबाट ल्याएर चिन तस्करी हुने रक्तचन्दन तस्करहरुले पनि यही नाकामा सुरक्षा पोष्ट नभएको फाईदा उठाउदै प्रत्येक बर्ष रक्त चन्दन तिब्बत पठाउने गरेको प्रत्यक्षदर्शीहरु बताउछन । २०५९ साल सम्म नेपाल प्रहरीको अस्थायी सुरक्षा क्याम्प सीमा भन्दा २ किलोमिटर वर कांलगा भन्ने ठाउ“मा बस्ने गरेको थियो । संकटकालमा यो क्याप हटाइयो । अहिले नेपालको सिमा सुरक्षा चौकी रहेको साइपाल गाउ“पालिकाको धुली गा“उमा छ । यो सीमा क्षेत्र भन्दा झण्डै ३० किलो मिटर वर नेपाल तर्फ रहेको छ । गाउ“पालिका अध्यक्ष राजेन्द्र धामीकै भाषामा भन्दा उता सीमा क्षेत्रमा ‘तस्करहरुको राज्य’ छ । साइपाल गाउ“पालिका कै मानबहादुर बोहरा भन्छन । ‘सिमा वरिपरि ठा“उ ठा“उमा अस्थायी टहरा नै खडा गरेर तस्करहरुले खुलेयाम कारोबार गरिरहेका हुन्छन । त्यहा“ कसैको पनि डर हुदैन ।’ असारदेखि कार्तिकसम्म खुला हिमाली पाटनमा टनका टन प्रतिबन्धित जडिबुटीहरु सुकाएको, अस्थायी टहराहरुमा बोराका बोरा जडिबुटी तिब्बत लैजाने तयारीमा राखिएको र जडिबुटी र अन्य प्रतिबन्धित सामानहरु लिएर दिउ“सै निर्धक्क हिडिरहेका खच्चर, भेडा, भरिया र तस्करीमा संलग्न व्यक्तीको ता“ती नै भेटिने गरेको उनले बताए ।
प्रतिबन्धित जडिबुटीको खुलेयाम व्यापार
‘यो सिजन (असार –कार्तिक) मा साइपाल गाउँपालिका हुँदै तिब्बत जाने बाटोमा पर्ने चौरहरुमा खुलेयाम रुपमा सुकाइएको जटामसी र कटुकीलगायतका जडिबुटी ठुलो परिमाणमा सहजै देख्न सकिन्छ ।’ मानबहादुरको भनाई थप्दै साइपाल गाउ“पालिका ५ का वडा अध्यक्ष धनजय रोकायाले भने ‘बझाङ, हुम्ला, दार्चुलादेखि मुग, कालिकोटका मान्छेहरुको ४ महिना बसोबास नै त्यही हुन्छ ।’ उनले नेपाल चीनको सीमा स्तम्भ रहेको उरै भञ्जाङबाट करिब ३० मिनेट ओरालो झरे पछि तिब्बतको पुराङ काउण्टी अन्र्तगत पर्ने ठाडोढुङ्गा भन्ने ठाउ“मा पुगिन्छ । यहा“ लहरै टा“गिएका अस्थायी पालले भर्खरै सडक पुगे पछि बनेको कुनै नया“ बजारको झल्को दिने गरेको स्थानीयहरु बताउँछन् । यीनै पाल भित्र भण्डारण गरेर राखिएको जडिबुटी, वन्यजन्तुको अखेटोपहार र रक्तचन्दनलगायतका प्रतिबन्धित सामाग्रीहरु असारदेखि कार्तिकसम्म तिब्बतको सिमावर्ती बजार ताक्लाकोट ओर्साने काम हुने गरेको छ ।
यो सिजनमा बझाङको साइपाल गांउपालिका देखी चिनको ताक्लाकोटसम्म जाने बाटोमा ओहोरदोहोर गर्नेहरु प्रशस्त भेटिन्छ । उनिहरु लाई लक्षित गरेर यही बाटोमा ३ दर्जन भन्दा बढी अस्थायी होटलहरु पनि खुलेका छन् । बझाङ, दार्चुला, हुम्ला, मुगु र कालिकोट सम्मका सर्वसाधारणहरु व्यापारीको रातो च्याउ लगायतका प्रतिबन्धित जडिबुटी बोकेर हिडिरहेका हुन्छन भने फर्किदा ज्यालाबाट आएको रकमले लक्ता कपडा जुत्ता मदिरा ल्याएर फर्किन्छन् ।
तिब्बतको लुक्पु (बझाङी भाषामा कठान) सिमा सुरक्षा पोष्ट नजिक विगत ६ वर्षदेखि होटल गरेर बस्दै आएका हुम्लाका बहादुर लामाले तिब्बत तर्फ आउने अवैध सामानको बारेमा जानकारी दिँदै भने ‘जडिबुटी, कस्तुरीको बिना, बाघको छाला हड्डी, बहुमुल्य, पथ्थर, रक्तचन्दन सबै यही बाटो भएर आउछ’ सयौं व्यापारी र भरियाहरु हिड्ने भएकोले ५ महिना जति यो बाटोमा मेला नै लाग्ने गरेको बताए । जडिबुटीमा बढी जसो रातो च्याउ, पा“चऔले, कटुकी, सतुवा, जटामसी, वनलसुन यो बाटो भएर तिब्बत जाने गरेको उनले बताए ।
तिब्ब्त तर्फ बढी निकासी हुने सतुवा, कटुकी, वनलसुनको अव्यवस्थित संकलन भएकाका कारण लोप हुने अवस्थामा पुगेको भन्दै जिल्ला परिषद बझाङले २ वर्षको संकलनमा रोक लगाएको छ । पा“चऔले विश्व मै लोपोन्मुख प्रजातीमा रहेकोले यसको संकलनमा नेपाल सरकारले नै प्रतिबन्ध लगाएको छ भने रातो च्याउ ओसार पसारको लागी के व्यवस्था गर्र्र्ने भन्ने प्रस्ताव मन्त्रीपरिषदमा विचाराधिन रहेको बझाङका जिल्ला वन कार्यालय बझाङले जानकारी दिएको छ ।
रक्तचन्दनको ट्रान्जिट
२०६८ साल चैत्रमा बझाङ प्रहरीले चीनको तिब्बत तर्फ लैजाँदै गरेको अवस्थामा रिठापाटाको बारिल भन्ने ठा“उबाट करिब ३५ क्विन्टल रक्त चन्दन ८६ जना भरियासहित पक्राउ गर्यो । सबै भरिया बाजुराका थिए । त्यही वर्ष असोजमा १ सय ५० भन्दा बढी भरिया लगायर करिव ५० क्विन्टल रक्त चन्दन तिब्बत पुराइएको कुरा सार्वजनिक भएको थियो । बझाङका भरियाहरुबाट खुलासा भएको उक्त रक्तचन्दन तस्करी काण्डमा बझाङको प्रहरी प्रशाशनको पनि मिलेमतो रहेको आसंकाहरु गरिएको थियो ।
त्यसयता यस नाका भएर तिब्बत पुग्ने रक्त चन्दन पक्राउ परेको छैन । तर प्रत्येक वर्ष रक्तचन्दन यस नाका भएर तिब्बत आउने गरेको यहाँका स्थानीय र यो बाटोमा होटल व्यवसाय गर्नेहरु बताउँछन् । ‘यो वाटो भएर रक्तचन्दन आउन थालेको ६/७ वर्ष जति भयो’ तिब्बतको लुपु भन्ने ठाँउमा ११ वर्ष देखी होटल व्यवसाय गरि वसेका हुम्लाका एक जनाले भने ‘पहिला पहिला बाघका छाला, कस्तुरी जस्ता सामान बढी आउँथ्यो आजकाल बढी रक्तचन्दन आउछ’ २०७३ सालमा बाजुरा साप्पाटाका १ सय २३ जना भरिया प्रयोग गरेर झण्डै ४० क्विन्टल जति रक्त चन्दन तिब्बत गएको र २०७४ को तिहार ताका दैलेखका १ सय भन्दा बढी भरियाले ३५/३६ क्विन्टल रक्तचन्दन तिब्बत तर्फ ओसारेको आफ्नै आ“खाले देखेको उनले बताए । प्राय बाटोका सबै होटलहरु उठिसके पछि दशै र तिहारको आसपास र चैत्रको अन्त्य तिर रक्तचन्दनको ओसारपसार बढी हुने गरेको उनको भनाइ छ ।
तातोपानी नाका बन्द भएपछि रसुवा र अन्य नाकामा हुने कडाइका कारण तस्करहरुले नाका फेरेर बझाङको नाकालाई प्रयोग गर्न थालेका हुन । तिब्बतको भुमिमा पुर्याइसके पछि यहाँ रक्तचन्दनको खुला व्यापार हुने भएको र बझाङको नाकामा सुरक्षा व्यवस्था नभएका कारण यो नाका भएर रक्तचन्दन सप्लाई गर्न सजिलो भएकाले तस्करहरुले धेरै जसो यो नाका प्रयोग गर्ने गरेको नेपाल चीन उद्योग व्यापार संघ अन्र्तगतको कैलास व्यापार संघका सचिव बताउछन् ।
बाघको छालामा कडाइ, कस्तुरीको विना महंगियो
केही वर्ष पहिले निर्वाध रुपमा बाघको छाला हातमै बोकेर मोलमोलाई गर्न सकिने ताक्लाकोट प्रशासनले अन्तराष्ट्रिय दवाबका कारण बाघको छाला खरिद विक्रीमा प्रतिबन्ध लगाए पछि २ वर्ष यता यो नाका भएर आउने बाघको छाला र हड्डीको कारोवार घटेको जानकारहरु बताउछन् ।
गत वर्ष मात्र बाघको छाला र हड्डीको मुख्य खरिदकर्ताको रुपमा रहेको एक जनालाई तिब्बत प्रशासनले पक्राउ गरे पछि यसको कारोबारमा निक्कै कमी आएको तिब्बतको ताक्लाकोटमा फुरु (काठका भाँडाको ) व्यापार संचालन गर्दै आएका कैलास व्यापार संघका सचिव जगत तामाङले बताए । ‘पहिला पहिला धेरै बेचेको सुनिन्थ्यो । एक वर्ष जति भयो त्यस्तो खालको मान्छे ताक्लामा भेटिएको छैन’ उनले भने ‘पहिला जस्तो छैन, गर्नेले त भित्र भित्र गरेकै होला ।’
बाघको छाला र हड्डीको कारोबार घटे पनि कस्तुरीको विनाको मुल्य र निकासी भने प्रति वर्ष बढ्दै गएको बताइन्छ । ताक्लाकोटमा गत वर्ष प्रतितोला ३५ हजार सम्म किनबेच भएको कस्तुरीको विना यो वर्ष ५५ देखी ६५ हजार सम्म कारोबार भएको ताक्लाकोटमा ११ वटा कस्तुरीको विना बेचेर फर्किएको बझाङ काँडाका एक जनाले नाम नबताउने सर्तमा जानकारी दिए । आफुले ५ वटा विना बझाङको साविक दाँतोला र ४ वटा सुर्मा र दौलिचौर गाविसका शिकारीबाट खरिद गरेको वताउने उनले २ वटा काँडाको शिकारीबाट प्रतितोला २५ देखी ३० हजारमा खरीद गरेको बताए ।
कस्तुरीको व्यापार गर्ने बझाङ र हुम्लाका गरी ५/७ जना व्यापारी रहेको र उनीहरुले यो वर्ष बझाङबाट मात्र ५० वटा जति कस्तुरीको विना संकलन गरेर तिब्बत पुर्याएको उनको भनाइ छ ।
नियन्त्रण गर्न विषेश व्यवस्था आवश्यक
बझाङको यो नाकामा भन्सार कार्यालय खोलिनु पर्ने र सिमा सुरक्षाको लागी विषेश खालको सुविधा सहित ससस्त्र प्रहरीलाई खटाइनु पर्ने भनेर साइपाल गाउँपालिका मात्र नभएर जिल्ला मै पटक पटक आवाज उठ्ने गरेको छ । चुनाव ताका उम्मेदवारहरुको प्रमुख एजेन्डा बन्ने गरेको यो नाकामा भन्सार कार्यालय र सुरक्षा व्यवस्था गर्नका लागि तत्कालिन बझाङ जिल्ला परिषदले पटक पटक निर्णय गरेर केन्द्रमा पठाएको र यसको सुनुवाई नहुदा उरै नाका तस्करका लागी सहज वन्दै गएको बझाङका अधिकारीहरु बताउछन ।
भन्सार कार्यालय र प्रहरीको उपस्थिति राम्रो भएमा जिल्ला वनले पनि आफ्नो पोष्ट खडा गर्ने र प्रहरी प्रशाशन संग मिलेर तस्करी नियन्त्रण गर्न सहज हुने जिल्ला वन अधिकृत असोक कुमार श्रेष्ठ वताउछन । ‘बर्षेनी ठुलो मात्रामा बन्यजन्तुका अंग र जडिबुटी जान्छ भन्ने त हामी पनि सुन्छौ’ उनले भने ‘हामी संगको जनशक्ती र सीमा सुरक्षा चौकीमा अहिले भएका प्रहरी कै भरमा यो नियन्त्रण गर्न सम्भव छैन ।’ सीमामा सरकारको उपस्थिती शुन्य हुँदा बर्षेनी करोडौं राजश्व समेत गुमिरहेको वताउदै उनले भने ‘प्रहरीको उपस्थिति बाक्लो बनाउने सुराकी परिचालन गर्ने र सरकारका अन्य निकायको पनि उपस्थिति हुने हो भने नियन्त्रण गर्न पनि गाह्रो छैन ।’
जडिबुटी र वन्यजन्तुका अखेटोपहारको तस्करी यो नाकाबाट भैरहेको बारेमा आफुले जानकारी पाए पनि रक्त चन्दन तस्करीको विषय थाहा नभएको प्रहरी नायव निरिक्षक क्रृषिराम कँडेलले बताए । अहिलेको सीमा सुरक्षा चौकी रहेको ठाँउ धुलीबाट सीमासम्म पुग्नै ३ दिन लाग्ने र तस्करीको सुचना पाए पनि प्रहरी पुग्दा सम्म तस्कर भागिसक्ने भएकोले सिमामा हुने गैर कानुनी गतिबीधी रोक्नका लागी सिमा नजिकै प्रहरीको उपस्थिती हुने खालको व्यवस्था हुनु पर्ने जानकार बताउछन् ।
तत्कालका लागि केही प्रहरी संख्या बढाएर नियन्त्रणको प्रयास गर्ने बताउँदै उनले ठुलो क्षेत्रफल भएका कारण प्रहरीलाई छलेर अर्कैबाटो लैजाने गरेकाले सिमामै स्थायी पोष्ट स्थापना गर्नुको विकल्प नभएको उनको भनाइ छ ।