-मनोरञ्जन डेस्क
काठमाडौं । छायाँकन सुरु हुन एक साताबाँकी हुँदा चलचित्र ‘गोपी’का मूख्य कलाकारहरुमा हेरफेर भएको छ ।
अन्तिम समयमा आएर चलचित्रबाट अभिनेता खगेन्द्र लामिछाने बाहिरिएका छन् । यसअघि यो चलचित्रबाट अभिनेत्री वर्षा शिवाकोटी निकालिएकी थिइन्।
चलचित्र निर्माण टिमले काठमाडौंमा मंगलवार पत्रकार भेटघाट आयोजना गर्दै अब यो चलचित्रमा यी दुबै कलाकार नरहेको जानकारी गराएको हो ।
चलचित्रका निर्देशक दीपेन्द्र लामाले पत्रकार भेटघाटका क्रममा भने,‘सुरुमा गोपीको स्कृप्ट पढेर अनुबन्धित भएका अभिनेता खगेन्द्र लामिछानेले यतीबेला आएर हाम्रो फिल्मको स्क्रिप मन नपरेको भन्दै सिनेमामा नरहने बताए । सोही कारण अब यो चलचित्रमा खगेन्द्र लामिछाने रहने छैनन् ।’
यो चलचित्रको छायाँकनको पूर्व सन्ध्यामा दुई कलाकार हटेपनि यसको छायाँकन निर्धारित समयमै हुने निर्माण पक्षले बताएको छ । निर्माता मणिकरणले यो चलचित्रको छायाँकन ३ भदौबाट काठमाडौंदेखि सुरु गर्ने बताए ।
अभिनेत्री वर्षा शिवाकोटी यो चलचित्रमा नरहनुको कारणबारे यसका कार्यकारी निर्माता श्रीधर पौडेलले चलचित्र गोपीप्रति अभिनेत्री शिवाकोटी गम्भिर नभएको बताए । सोहीकारण शिवाकोटीलाई टिमबाट हटाउनु परेको बताएका छन् । निर्माता पौडेलले अभिनय कार्यशालामा पनि अभिनेत्री वर्षा गम्भिर नभएको बताए । उनले केही घटनाहरु पत्रकार भेटघाटका क्रममा सुनाए ।
यसका लेखेक एवम् पत्रकार सामिप्यराज तिमिल्सिनाले पनि स्क्रिप्ट प्रति अभिनेत्री वर्षा गम्भिर नभएको बताए । यो चलचित्रमा सुरुमा अनुबिन्धत भएका कलाकार मध्यबाट अभिनेत्री सुरक्षा पन्त यथाबत रहने छिन् । अब गोपिमा गोपीको भूमिकामा खगेन्द्र लामिछानेको ठाउँमा बिपिन कार्की र बर्षा शिबाकोटीको भूमिकामा वर्षा राउत हुनेछिन् ।
रंग पत्रकारितामा जमेका निर्देशक लामाले यसअघि सफल चलचित्र घामपानीको निर्देशन गरेका थिए ।