काठमाडौं । प्रविधिको विकास र लोकप्रियतासँगै टेलिभिजन प्रसारणमा नयाँ प्रतिद्वन्द्वी थपिएका छन् ।
सञ्चार जगतमा पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकले टेलिभिजन प्रसारणलाई चुनौती दिँदै नयाँ फड्को मार्न थालेपछि उसलाई टेलिभिजनको नयाँ प्रतिद्वन्द्वीका रुपमा हेर्न थालिएको हो । विश्वमै धेरैको चासोको विषय रहेको खेलकुदका विभिन्न प्रतियोगिताहरुको प्रसारण गर्ने अधिकार अनलाइनका साथै सामाजिक संजालहरुले पनि लिन थालेपछि टेलिभिजनलाई चुनौति देखिएको हो ।
विश्वभरका फुटबल पारखीहरुमाझ चर्चित क्लब फुटबल प्रतियोगिता स्पेनिस ला–लिगा अब भारतीय उपमहाद्धीपमा आगामी शुक्रबारबाट फेसबुकको लाइभ ब्रोडकाष्टिङमार्फत मात्र देखाइने भएको छ । ला–लिगासँग फेसबुकले भर्खरै सम्झौता गरेपछि टेलिभिजन प्रसारणका क्षेत्रमा नयाँ चुनौति थपिएको विश्लेषण गर्न थालिएको छ । सम्झौता अनुसार स्पेनिस फुटबल प्रतियोगिता ला–लिगाका अबका तीन सिजन भारतीय उपमहाद्वीपका भारत, अफगानिस्तान, बंगलादेश, भुटान, नेपाल, माल्दिभ्स, श्रीलंका र पाकिस्तान लगायतका देशहरुमा फेसबुकको लाइभ ब्रोडकास्टिङबाट मात्र हेर्न पाइने भएको छ । यसअघि भारतीय उपमहाद्वीपमा स्पेनिस लालिगा प्रदर्शनका अधिकार सोनी पिक्चर नेटवर्कले पाएको थियो ।
ला–लिगा प्रसारण सम्बन्धी अधिकार फेसबुकले कति मुूल्यमा खरिद गरेको भन्ने नजनाएपनि यसअघि सोनी पिक्चर नेटवर्कले ला–लिगालाई दिएको ३ करोड २० लाख अमेरिकी डलरभन्दा पक्कै निकै बढी भएको अनुमान गरिएको छ । शुरुमा ला–लिगाका खेलहरु निःशुल्क हेर्न सकिने फेसबुकले जनाएको छ । तर प्रसारणबाट नाफाका लागि केही उपाय विचार गरिरहेको फेसबुक ग्लोबल लाइभ स्पोर्टका निर्देशकले रोयटर्सलाई बताएको समाचारमा उल्लेख छ् । फेसबुकले कुनै खेल प्रसारणको अधिकार खरीद गरेको यो पहिलो पटक भने होइन । यसअघि अमेरिकी दर्शकका लागि बेसबलको मेजर लिग खेल प्रसारणको अधिकार फेसबुकले लिएको थियो । अमेरिकी जनताले बेसबलको खेल हेरेबात फेसबुलाई प्रति खेल १ डलर बुझाउनु प¥थ्यो । यस्तै ईङ्ल्याण्डको प्रिमियर लिग पनि टेलिभिजनमा यो सिजन अन्तिम पटक प्रसारण हुने भएको छ । प्रिमियर लिगको आगामी सीजनका २० वटै गेमको प्रसारण अधिकार अमेजन डट कम ले लिइसकेको छ । अमेजन डट कमले अमेरिकाको नेशनल फुटबल लीग (अमेरिकन फुटबल) प्रसारण अधिकार पनि किनिसकेको छ । यसको लागि अमेजनलाई ट्वीटर, युट्युब र भेरिजनसँग बोलकबोलमा प्रतिष्प्रर्धा गर्नुपरेको थियो ।
यसरी फेसबुक, ट्वीटर, युट्युब, अमेजन लगायतका सामाजिक सञ्जाल तथा अनलाइनहरुले टेलिभिजन प्रसारणको एकाधिकार रहेको विभिन्न कार्यक्रम तथा खेलकूद प्रतियोगिताका संस्करणहरुको प्रसारण अधिकार लिन थालेका छन् । जसले आगामी दिनमा टेलिभिजन प्रसारणलाई ठूलै चुनौती दिने विश्लेषकहरुको बुझाई छ । (एजेन्सीको सहयोगमा)