सन्देश पौडेलमनाङ । हिमाल पारीको जिल्ला मनाङमा तीर हान्ने प्रतियोगिता भएको छ । मनाङबासीको सस्कृतिसँग जोडिएको तीर हान्ने पर्वलाई जगेर्ना गर्न प्रतियोगिता आयोजना भएको हो ।
ङिसाङ गाउँपालिका वडा नम्वर १, पिसाङस्थित पिसाङ युवाक्लवको आयोजनामा प्रतियोगिता भएको हो । आफ्नो सँस्कार र सस्कृतिसँग जोडिएको पर्वलाई जगेर्ना गर्न प्रतियोगिताको रुपमा आयोजना गरिएको आयोजक पिसाङ युवाक्लवका अध्यक्ष राजु गुरुङले बताउनुभयो ।
दुई दिनसम्म भएको प्रतियोगितामा आयोजक पिसाङ युवा क्लवको समूहले नै उपाधी जितेको छ । प्रतिसमूह तीनजनाको प्रतियोगिता रहेकोमा विजेताले एकसय २ अंक ल्याएको थियो । उपाधी सँगै विजेता समूहले नगद २० हजारसहित शिल्ड र मेडल प्राप्त गरेको छ ।
प्रतियोगितामा माथिल्लो मनाङको समूह दोश्रो र माथिल्लो मनाङकै अर्को समूह तेश्रो भएको छ । उप–विजेता समूहले नगद १५ हजारसहित शिल्ड र मेडल प्राप्त गरेको छ भने तेश्रो भएको समूहले नगद पाँच हजारसहित मेडल प्राप्त गरेको छ ।
प्रतियोगितामा आयोजक पिसाङ युवाक्लवका धावा टसी लामा (गुरुङ) उत्कृष्ट खेलाडी भए भने सोहि क्लवका लाक्पा गुरुङ सर्वाधिक गोलकर्ता भएका थिए । दुवै विजेताहरुले जनहि पाँच हजार ट्रफी हात पारेका थिए ।
प्रतियोगिताका विजेताहरुलाई एक समारोहकाबीच गाउँपालिका अध्यक्ष कान्छा गुरुङ, वडा अध्यक्ष भुजु गुरुङ र वरिष्ठ समाजसेवी याङडुङ गुरुङले संयुक्तरुपमा पुरस्कार वितरण गर्नुभएको थियो ।
मनाङमा मनाईने चाड पर्वहरु मध्ये तीर पर्व एक मुख्य पर्व हो । विशेषगरी तीर पर्व चैतमा मनाउने चलन छ । वर्षमा एकपटक पर्वको रुपमा मनाउने गरेपनि संस्कृतिलाई लोप हुन नदिन र युवाहरुलाई आकर्षित गर्न अन्य समयमा पनि प्रतियोगिताको रुपमा आयोजना गरेको आयोजकले जनाएको छ ।