–रामकुमार एलनसाँझ ढल्दै थियो । साथीहरुले खबर गरेका थिए, हामी आउँदैछौँ, तिमी भट्टी पुगेर पिर्का कुनो कब्जा जमाइराख ।
जब पुगेँ पिर्का कुनो । एक्लै थिए । पुतलीले एक गिलास पानी दिएन् । पानीभन्दा पनि सगुन दिइन् । मत्याउँदो वैँशको एक सिरेटो हावा फ्याँकिन् ।
केही अर्डर गर्नै पर्थेन, पुगेपछि सधैँजसो मस्किँदै आउँथिन् पुतली र पुतलीका हातभरि हामीले मन पराउने आइटम । मेनु त उसलाई कण्ठ थियो ।
हान्ने गोरूको पारामा टेबलमा आइपुग्यो रक्सी ।
ऊ नै दौडेपछि बाटो छेक्ने कुरै आएन ।
टक्क अडियो र सोध्यो, ‘अहिलेसम्म कति पिइस् ?’लामो समय उसकै संगत गरेकाले भनेँ, ‘कसले नापेर पिउने गरेको छ र ?’ऊ झन जंगियो, ‘कतिको पिइस् ?’‘भुटनदेवी रोडमा दैनिक एक गिलास सातु पिएजस्तो भए पो थाहा हुनु ?’उत्तरमा ऊ खुश थिएन । सायद अरुले पनि चिढाएको हुनुपर्छ ।‘कति पिउने गर्छस् ?’‘यसको कुनै हिसाब छैन,’ बकिदिएँ ।‘कसरी’भनेँ, ‘कथा लामो छ,’‘सुनौँ त,’ उसले अत्तो थाप्यो ।‘कहिले दिउँसै पिइन्छ, कहिले मध्यरातिसम्म ।’सोध्यो, ‘अनि ?’कहिले साथीभाइले थपेर पिलाउँछन्, कहिले साहुनी देखेर पनि पिउँपिउँ लागिरहन्छ ।’‘त्यसपछि,’ पुरै पुलिसले थर्ड डिग्री लगाए झैँ सोध्यो ।‘कहिले खुशियालीमा पिइन्छ, कहिले तनावमा ?’‘कस्तो तनाव ?’कहिलेकहीँ आफूसँगै पढ्ने साथी पास भएकामा, कहिलेकहीँ सँगै पढेको साथी फस्ट भएकामा !’‘कति जति पिइयो होला ?’ लगातार प्रश्नको बोतल बर्सिरहेको छ ।‘नाप्ने बानी बसेन, भर्ने गरिएन, हिसाब राखिएन, खाता बनेन, पैसा नहुँदा पनि पिएर नै घर गइयो,’ झ्याँको झार्ने सुरले भनेँ, ‘भो अब ?’‘कहाँ हुन्छ, ग्लुकोज पिएको हो र ? बिर्सन ?’, ऊ झन रत्तियो, ‘मागेर पिएको मोही हो र ? तिर्खा मेटेपछि चासो नलिन ?’‘अनि के त ?’ यसपटक सोधेँ ।
[caption id="attachment_12727" align="alignright" width="150"]
–रामकुमार एलन[/caption]
‘चोर औँलालाई बुढी औँलामा रगड्दै उसले सोध्यो, ‘कतिजति सकियो होला ?’भनेँ, ‘हिसाब राखिएन, आफूले भन्दा बढी अरुले तिरे, आधाजसो त उधारै होला विभिन्न भट्टीमा ।’‘त्यहाँबाट फोन आउँदैन ?’ उसले फेरि काउसो नै हाल्यो ।‘मलाइ आउँदैन,’ भनिदिएँ ।‘किन आउँदैन फोन ? नम्बर फेरेको ?’‘होइन, भट्टी र साहुनी फेरेको, पिउने जमात बदलेको ।’‘किन नि ?’‘साथीहरुले जहाँ लगे, त्यहीँ पिइयो, अहिलेसम्म आफूले त एउटा भट्टी पनि चिनेको छैन ।’‘कति जतिको पिइयो होला ?’ एकबोतल रक्सीले आज यति धेरै प्रश्न ग¥यो कि, न जाँचमा यति धेरै प्रश्न आएको थियो, न स्कुलबाट भागेर फिल्म हेर्न जाँदा भोलिपल्ट कक्षा शिक्षकले चौरमा उभ्याएर यसरी सोधेका थिए । न त साथीकहाँ जान्छु भने रातभर सिउरानीको जात्रामा रल्लेको थाहा पाउँदा पनि भोलिपल्ट बुबाले नै आँगनमा सिस्नुपानी लगाउँदै पिडुँलामा सुम्ला बस्ने गरी कटबासले हिर्काउँदै सोध्नु भएको थियो । एक बोतल रक्सीले आज अलंकार पारिरहेको थियो ।‘अनि पिएपछिको कुनै प्रगति सुनौँ न,’ रमरम भएपछि ग्राहक साहुनीसँग रौसिए झैँ रक्सी झन वरवर हुन थाल्यो ।‘छैन केही प्रगति, रक्सी पिएर प्रगति हुन्छ ?’ हल्का रिसाएँ ।रक्सीले सोध्यो, ‘रक्सी पिएका दिन यसरी कसैसँग रिसाएको याद छ ?’छैन ।
‘किन नरिसाएको त ?’‘म्यारिज खेल्दा माल नपरेजस्तो, टणेला आउँदा ढूस भएजस्तो होइन नि त रक्सी पिउने कुरा, त्यसैले किन रिसाउने ?’ तर्क गरेँ ।‘भट्टीमा पिइरहँदा कोही नचिन्ने फोनमा कुरा गर्दै आएर तिमीले आधी खाएको सेकुवा क्वाच्च घोचेर खाएनन् ?’ रक्सीको गम्भीर प्रश्न ।‘घोचे, खाए, म रिसाइनँ ।’‘के ग¥यौ त ?’ उसले एक प्याक थपेझैँ प्रश्न थप्यो ।‘बाँकी सेकुवा उसैलाई खान दिएँ, परिचय गरेँ, ऊ निकै डरायो, म रिसाउनै परेन,’ उसलाई ढाँटेँ ।‘अनि पिएर घर जाँदा कहिले बाटोमा जुत्ता हराएको छ ?’छैन ।‘पिएर घर गएपछि पत्नीले किचकिच गर्दा बूढीलाई एक दुई थप्पड हानिएको छ ?’छैन ।‘पिएर जाँदा कहिल पाइन्टमै पिशाब फेरिएको छ ?’छैन ।‘पिएर बाबुआमाका अगाडि भाइबहिनीलाई गाली गर्ने बल आउँदैन ?’आउँदैन ।‘पिएर मोटरसाइकल चलाउँदा कतै एक–दुईपटक उत्तानो परिएन ?’परिएन ।‘मोटरसाइकल चलाएर जाँदा अर्को दिशाबाट ट्रक दुई वटा हेडलाइट बालेर आइरहेको हुन्छ, ल, दुईतिरबाट गाडी आयो, बीचबाट मोटरसाइकल छिराउँछु भनेर दुई वटा हेडलाइटमा गएर ड्याम्म ठोक्किएको छैन ?’छैन ।‘रक्सी पिएर कहिले लोकल बसमा महिलाको सिटमा बसेको छैन ?’छैन ।‘रक्सी पिएको पैसा तिर्न नसकेर कहिले औँठी, सिक्री, घडी, मोबाइल होटलमै छाडेर हिँड्नु परेको छैन ?’छैन ।‘अनि रक्सी पिएर साथीको घर जाँदा छोरीलाई उठाएर मध्यराति गितार सिकाइदिन्छु भन्दै अनेक हर्कतमा उत्रँदा चप्पल छाडेर भाग्नु परेको छैन ?’छैन ।
‘रक्सी पिएर ट्याक्सीमा घर फर्कँदा घर नै भुलेर बजार घुमिरहेको याद छ ?’‘त्यो त मैल होइन, हाम्रो अफिसको सम्पादक दाइ हो,’ यसपटक अलि लामो उत्तर दिएँ ।यति धेरै प्रश्न ग¥यो कि, एक जना सम्पादक भन्थे, कसैलाई अन्तरवार्ता लिनु छ भने ५० वटा प्रश्न तयार पार्नुहोस् । नभन्दै आज रक्सीले मसँग यस्तो सम्वाद ग¥यो कि, लगातार उत्तर दिइरहन प¥यो । अहिलेसम्म पिइएको नसा सबै उतारेर म¥यो ।‘पुग्यो अब ?’ मेरो पालो आयो सोध्ने ।अहँ । ऊ झन अह्ररो देखियो ।भन्यो, ‘किन पिइरहेको छौ ?’‘मतलब ?’ सोधेँ ।
‘करिबन करिबन २० लाख जतिको घुट्क्यायौ होला । चना, मेथी, लट्टेदेखि बँदेल नपाए बन्दाको सुकेको पाप्रा पनि चबायौ होला । यत्रो पिउँदा पनि एउटा हर्कत गर्न सकेनौ ?’ उसले सोध्यो ।‘सकिनँ,’ जवाफ दिएँ ।‘किन पिइरहेका छौ, छाडिदेऊ ।’किन ?‘उसले विस्तार लगायो,’ एफएमले पुरानो समाचार विस्तृतमा भने भनेझैँ, ‘रक्सी पिएर कसैको दाँत झारेनौ, आफ्नो पनि झार्न दिएनौ, अस्पताल भर्ना हुनु परेन, एक्सरे गर्न परेन ।’‘अनि ?’ सोधेँ ।‘एक त मदिराकै मानहानी भयो । मदिरा यस्तो सत्य हो, जो नक्कली पिउँदा पनि मात लाग्छ, सक्कली पिउँदा पनि मात लाग्छ । मात लागेपछि मान्छे बहुलाउँछ । तिमी त बहुलाउने त के घर गएर पत्नीलाई ‘तँ चुप लाग’सम्म नभनी निदाउँछौ,’ उसले मलाइ निकै पेच पारेर भन्यो ।‘तिमीले पिएर मध्यराति घर आएको छिमेकीले थाहा पाएनन् ।’हो ।तिमीले पिएर झगडा गरेको रिपोर्ट प्रहरीमा छैन ।छैन ।‘तिमीले पिएर पार्टीका नेतालाई फेसबुकमा केही लेखेको छैनौ ।’छैन ।‘तिमीले पिएर कोही महिलालाई दुव्र्यवहार गर्दैनौ ।’गर्दिनँ ।‘तिमीमा रक्सीको लगानी खेर गइरहेको छ ।’‘हो र ?’‘हो, तिमीले पिउन छाड,’ उसले हपा¥यो ।‘पिएर कुनै हर्कत नगर्ने, अस्पताल, प्रहरी, परिवारलाई अलिकता पनि ‘व्यापार’ नदिने तिम्ले पिउनुको अर्थ छैन, तिमीमा भइरहेको लगानी नउठ्ने देखिन्छ, अरु त अरु यही पुतली साहुनीलाईसमेत अब तिमीसँगै आउनेले दुलही बनाउँदैछ ।’ उसले अर्ती र सूचना दिइरह्यो ।हो ?‘हो, आइन्दा नपिउनू, अब नआउनू ।’जब रक्सीले नै आफ्नो मानहानी भएको, रक्सी पिएर कुनै उधूम नगरेको गुनासो ग¥यो भने आफूलाई सच्याउनै पर्छ ।टेबलमा आइपुगेको ग्रिन सलादका ‘ठोस’ चबाउँदै साहुनीलाई आँखा झिम्क्याउँदै भनेँ, ‘ आजदेखि रक्सी फिर्ता ।’उनी पुलकित हुँदै परसम्म हेरिरहेकी थिइन् । म नपिई गएको देखेर भाइबरमा सन्देश पठाइन्, ‘आज खुस्कियो कि क्या हो ?’
धेरै भयो भट्टीतिर नदेखिएको, साँझ साथीहरुको बैठकमा नबोलाइएको । सपनीमा रक्सीले भन्छ, ‘मेरो इज्जत नराख्नेले फर्केर पनि नहेर्नू के ?’ पिउन छाडेपछि पनि ऊ पेच हानिरहन्छ, सपनामा पनि । तपाईंले पनि पिएर यस्तै उधूम मच्चाउनु भएको छैन भने आउनुहोस् खोला एउटा क्लब र राखौँ नाम, ‘भूतपूर्व मदिराप्रेमी क्लब ।’ अचेल पुतलीको भट्टी झन चलेको छ, मेरै पियक्कड साथी मनोज पुतली र पुतलीको भट्टीको पनि मालिक भएको छ । बोलाउँछ कहिलेकहीँ, ‘ओइ, कफी पिउन आउँदैनन् ?’ भट्टीमा कफी पिउँदा भट्टीकै बदनाम होला भनेर त्यता जान छाडियो–छाडियो ।
–बुख्याँचा टोल, नेपाल ।