डा.गोबिन्दबहादुर थापा
भारतले नेपालको भूमि आफूतिर तान्ने र आफ्ना मान्छे नेपालतिर पठाएर कालान्तरमा नेपालमा संकट खडा गर्ने रणनीति अपनाएको प्रतीत हुन्छ
खुला सीमानाका कारण देखाएर भारतले नेपालमा निरन्तर हस्तक्षेप गर्दै आएको छ । उसको हस्तक्षेप एउटा सार्वभौम सत्तासम्पन्न स्वतन्त्र राष्ट्रसँग गर्ने व्यवहार भन्दा बिल्कुल विपरीत छ । खुला सीमाना भारतका निमित्त नेपालमाथि थिचोमिचो गर्ने बहाना मात्र भएको छ । अर्थात् खुला सीमानाका नाममा भारतले नेपाललाई ब्ल्याक मेलिङ गरिरहेको छ । भारत ‘नेपालमा मुस्लिम आतंककारीको चलखेल हुने गर्दछ र तिनको उद्देश्य नेपाल—भारतबीचको खुला सीमाना दुरुपयोग गर्दै भारत प्रवेश गरी आतंक मच्चाउने गर्दछ’ भन्ने ठान्दछ । यसका निमित्त उसले काठमाडौंबाट दिल्लीका लागि उडेको इण्डियन एयरलाइन्सको विमानलाई तालिवान समर्थकहरुले दिल्ली नपुग्दै बीचैबाट अपहरण गरी अफगानिस्तानको कन्दहारमा पुर्याएको घटनालाई ज्वलन्त उदाहरणको रुपमा प्रस्तुत गरिरहन्छ । यो घटना यथार्थ नै भए पनि घटना भएपछि मात्र भारतले नेपालमा यस्तो हस्तक्षेप गर्न शुरु गरेको होइन । नेपालमा भारतको हस्तक्षेप त्यो भन्दा धेरै अगाडिदेखि गम्भीर ढंगले चल्दै आएको छ ।
त्यसैगरी, पाकिस्तानले आफ्नो भूमिमा नक्कली भारतीय नोट छापी त्यसलाई नेपालको बाटो हुँदै भारत भित्रयाउँछ भन्ने भारतको अर्को आरोप छ । यदाकदा यसो हुने गरेको कुराको इन्कार गर्न सकिँदैन । तर त्यसलाई त्यति गम्भिर र ठूलो घटना मान्न सकिँदैन । किनभने प्रथमतः यो अत्यन्त बिरलै हुने गर्दछ भने दोश्रो यो भारतीय अर्थतन्त्रको तुलनामा समुद्रमा एक थोपा पानीसरह नगन्य हुन्छ । साथै, यो कुरा नेपालको भन्दा भारतको आफ्नै भन्सार संयन्त्रले नियन्त्रण गर्नु पर्ने कुरा हो । आफ्नो मुलुकभित्र कहाँबाट के कुरा आउँछ, त्यसको निगरानी र आवश्यकता पर्यो भने नियन्त्रण गर्ने प्रयोजनका निमित्त नै कुनै पनि मुलुकमा भन्सार व्यवस्था गरिएको हुन्छ । त्यही प्रयोजनका निमित्त उसले पनि सीमानामा भन्सार कार्यालय स्थापना गरी काम गरिरहेको छ । भारतलाई शंका लागेका कुरामा उसले नेपालका सीमानामा राखेका भन्सार कार्यालयबाट त्यस्ता काम गराउँदै आएको छ । त्यसैले भारतले आफूलाई नोक्सान पार्ने बस्तु आफ्नो देशमा भित्रिन लाग्यो भने त्यसलाई नियन्त्रण गर्ने जिम्मेवारी भारतको आफ्नै हो । त्यस्ता कुरा नियन्त्रण गर्ने पहिलो कर्तव्य उसकै हो । ती भारतीय भन्सार कार्यालय नेपालका आफ्नै अदुवा, गोलभेडा, अम्रिसो जस्ता आन्तरिक कृषि उत्पादन भारत निकासी हुनलाग्दा व्यवधान खडा गर्ने उद्देश्यले मात्र राखिएका त होइनन् होला । यसरी भारतले आफूले गर्नु पर्ने काम नगरी त्यसको दोष नेपाललाई दिएर नेपाललाई दण्डित गरिरहेको छ । छिमेकीका हिसाबले नेपालले त्यसमा सक्दो सहयोग गर्ने एउटा कुरा हो, जुन नेपालले सधैँ सम्वेदनशील भई गर्दै पनि आएको छ । तर भारत यही कुरा भयङ्कर ठूलो र गम्भीर मुद्दा बनाएर नेपाल भित्र आफैँले त्यसको निगरानी गरिरहेको छ । भारतको पाकिस्तानसँगको शत्रुतापूर्ण सम्बन्धको परिणाम नेपालले भोग्नु परिरहेको छ ।
नेपाल भारतबीचका सीमा स्तम्भ सयौँको संख्यामा गायब पारिएको कुरा पटकपटक सञ्चारमाध्यमले जानकारी गराउछ । ती सीमा स्तम्भ त्यसै नास हुुने वा भारतबाहेक अन्यत्रका व्यक्ति आएर लैजाने त होइन । तब भारत के नियतले सीमा स्तम्भ यसरी गायब पारिरहेको छ ? के यो स्पष्टरुपमा भारतले सीमा अतिक्रमण गरेको होइन ? हजारौँ वर्षदेखि सँगै रहँदै आएको यति विशाल मुलुक भारतले सानो छिमेकी मुलुक नेपालको भूभाग यसरी बलजफ्ती र लुिकछिपी हडप्ने गरेपछि कसरी नेपालीहरु भारतप्रति सकारात्मक हुन सक्दछन् ? आश्चर्यको कुरा त यो छ कि, भारतले त्यसरी सयौँ सीमा स्तम्भ गायव पार्दासमेत नेपालका कसैले कुनै प्रतिक्रिया जनाउँदैनन् । न नेपालका कुनै राजनीतिक पार्टी न कुनै युवा र विद्यार्थी संगठन, न नागरिक समाज, कसैले पनि आपत्ति जनाएको पाइन्न । सञ्चारमाध्यम पनि यससम्बन्धी एउटा समाचार प्रेषित गरेपछि आफ्नो दायित्व पूरा भएको ठान्छ । उसले कहिल्यै अनुगमन गर्दैन । आफ्नो मातृभूमिको सीमा छुट्याउने सयौँ वर्षदेखि कायम सीमास्तम्भ गायव पारेर हाम्रो भूमि विदेशीले हडप्दा पनि कोही बोल्न र आवाज उठाउन नसक्नेबाट कसरीे देशको माटो सुरक्षित हुन सक्दछ ? यो भन्दा बढी निरीहत दुनियामा अरु कुनै होला ? जबकी दशकौँ पहिले भारतले त्यसो गर्दा नेपालमा जुलुस निस्कन्थ्यो, सडकमा नारा लाग्थ्यो र सरकारलाई जुलुस नियन्त्रण गर्न कठिन हुन्थ्यो, कयौँ दिनसम्म त्यो क्रम जारी रहन्थ्यो । र, भारतलाई पछाडि हटाएरै छाडिन्थ्यो । तर अहिले कतैबाट कुनै आवाज निस्कदैँन । त्यसैले भारत अरु आक्रामक भएर सीमा स्तम्भ गायब गरी सीमा मिच्न उदत देखिन्छ । यसैगरी, अहिलेसम्म उसले नेपालका हजारौँ हेक्टर जमीनमा कब्जा जमाइसकेको छ । नेपालको सरहदभित्र बसोबास र खेती गरिएको जमीन रातारात भारततिर पारिएका कयौँ घटना सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । त्यस्तो जमीनमा बसोबास गरिरहेका जनताको आर्तनाद कसैले सुनिरहेको छैन । तर यसप्रति नेपाल सरकार उदाशीन रहने गरेको छ । सरकारलाई जानकारी भए पनि थाहै नपाएको झैँ गर्छ ।
नेपालको पूर्व, पश्चिम तथा दक्षिणतर्फको सीमा सुरक्षित रहेन । नेपालको भूभागमा विदेशीले घरटहरा बनाएका छन्, हिजोसम्म नेपालभित्रका बस्ती भारततिर परेको छ, भारतीय नागरिक हूलका हूल सीमा सारिरहेका छन् र तिनलाई भारतीय सुरक्षाकर्मीले सुरक्षा दिइरहेका छन् । केही समयअघिसम्म प्यारातालसमेत नेपालकै भएको तथ्य उजागर भएको छ । प्याराताल भन्दा दक्षिणतर्फ गाडिएकै अवस्थामा सीमा स्तम्भ भेटिए । यी हुन् नेपालका सञ्चारमाध्यममा विगत धेरै वर्षदेखि सार्वजनिक हुँदै आएका समाचार । तर यी यस्ता समाचार भएका छन्, जुन सम्भवतः सबैभन्दा कम पाठकले पढ्छन् । वरिष्ठ सीमा विशेषज्ञ बुद्धिनारायण श्रेष्टले नेपालको सीमाको दयनीय अबस्थाबारे तथ्यपूर्ण पुस्तक नै लेखेका छन् । तर सीमा अतिक्रमणबारे सरकार, सेना, राजनीतिक दल र तिनका भ्रातृसंगठन, नागरिक समाज संवेदनाविहीन छन् कि मानौँ हाम्रो सीमा मिचिएको विषय चर्चा र चासोयोग्य विषय नै होइन । यस्तो त नेपालमा मात्र हुन्छ ।
सीमामा अलिकति मात्र छिसिक्क हुनासाथ सम्पूर्ण राष्ट्र एक स्वरमा खनिने गरेको भए भारतले यस्तो दुस्साहस गर्ने आँट गर्न सक्ने थिएन । के उसले पाकिस्तान वा बंगलादेशको सीमामा यसो गर्ने आँट गर्न सक्दछ ?
सरकारको पहिलो कर्तव्य मुलुकको सीमा सुरक्षा गर्नु हो । मानव समाजको विकासक्रममा जब राज्यको उत्पत्ति भयो तब त्यो राज्यको प्रथम दायित्व त्यसको क्षेत्र सके विस्तार गर्ने र नसके पनि भएको क्षेत्र रक्षा गर्ने थियो । आफ्नो राज्यको क्षेत्र विस्तारका लागि आरम्भिक वर्षहरुमा राज्य–राज्यबीच घमासान युद्ध हुन्थे । हाम्रा पृथ्वीनारायण शाहले पनि त्यसै गरेका थिए । राज्य बिस्तारको योजना नहुँदा भएको क्षेत्र जोगाउने कामलाई नै राज्यले सर्वाधिक महत्व दिन्थ्यो । त्यही प्रयोजनका निमित्त ती राज्यले सेना राख्दथे र त्यसको भरणपोषण गर्दथे, त्यसलाई प्रशिक्षण र हातहतियारले सुसज्जित पार्दथे । सेना प्रमुखको दायित्व आफ्नो राज्यको सीमा सुरक्षा गर्नु हुन्थ्यो । त्यसैले प्रत्येक राज्यले सेनालाई आवश्यक बजेट उपलब्ध गराएर हरबखत चुस्त दुरुस्त राख्दथ्यो । सेनाको रचना राज्यभित्रको प्रयोजनका लागि नभएर केवल बाहिरी आक्रमणबाट आफ्नो राज्य संरक्षण गर्ने उद्देश्यले गरिएको थियो, र होे पनि ।
हाम्रै छिमेकी मुलुकहरु भारत र चीन तथा भारत र पाकिस्तानबीच विगतमा सीमाको विवादलाई लिएर ठूला युद्धहरु भए । ती सबै युद्ध, युद्ध अभ्यासका लागि लडिएका थिएनन् । आफ्नो दाबी भूभाग फिर्ता लिन र सीमा सुरक्षाकै लागि लडिएका थिए । सीमाका विवाद कायमै रहेकाले भारत र चीन तथा भारत र पाकिस्तानबीचको सम्बन्ध अहिले पनि सौहाद्र्धपूर्ण छैन । सीमा विवादकै कारण ठूल्ठूला युद्ध भएका र चिसो सम्बन्ध कायम रहेका अन्य कयौँ मुलुक यो विश्वमा छन् । ती मुलुकहरु अहिले पनि आफ्नो देशको एक चिम्टी माटो पनि नछाड्ने कसम खाएर बसेका छन् । सबै मुलुकका निमित्त आफ्नो मुलुकको सीमासम्बन्धी चासो त्यति पेचिलो र संवेदनशील हुन्छ, जसका लागि त्यो देशका लाखौँ नागरिकले प्राण न्यौछावर गर्न तयार हुन्छन् । विश्वमा सम्भवतः नेपाल मात्रै एउटा यस्तो मुलुक देखिएको छ जहाँका मान्छे आफ्नो देशको माटो अरुलाई सुम्पेर आफ्नो निजी स्वार्थ पूर्ति गर्न हिच्किचाउँदैनन् ।
नेपालमा राष्ट्रियताबारे ठूल्ठूला र चर्का बहस हुने गर्छन् । तर अहिले प्रष्ट भएको छ कि राष्ट्रियताका ती कुरा साँचिच्कै देशको मायाले गरिएको होइन रहेछ । त्यस्ता कुरा या त आफ्ना काला कर्तुत ढाकछोप गर्न गरिएको रहेछ या त आफ्ना कुत्सित उद्देश्य हासिल गर्ने उद्देश्यले गरिएको रहेछ । आफ्नो राजनीतिक वा अन्य स्वार्थ पूर्ति गर्ने उद्देश्यले गरिएको रहेछ । व्यवहारमा देखिएका गतिविधिबाट यो कुरा छर्लङ्ग भएको छ ।
राज्यको सीमा अनुगमन गर्ने कार्यक्षेत्र भएको छुट्टै निकाय छ, त्यस अन्तर्गत विभाग र कार्यालय छन् । जिल्लामा प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रशासन छन् । दुई देशबीचको संयुक्त अनुगमन समिति छ । यी सबै कुरा हुँदाहुँदै पनि सीमाको यति बिघ्नबेवास्ता किन भइरहेको छ ? माटोको सुरक्षा गर्ने जिम्मेवारी लिएर बसेका निकाय र पदाधिकारी सीमाको त्यो हाल हुँदा कसरी चुप लागेर बस्न सकेका छन् ?
वाास्तवमा विगत धेरै वर्षदेखि नेपालको सीमा मिच्ने जुन अभियान चलाइएको छ । यसलाई नेपालको भूमि हडप्ने मौन युद्धको संज्ञा दिन सकिन्छ र यस युद्धमा नेपाल कुनै प्रतिवाद नगरी चुपचाप पछि हट्दैछ । मानौँ कि नेपालले विगतमा भारतको जमीन बलजफ्ती हडपेको थियो र अहिले भारतले त्यो जमीन धमाधम फिर्ता लिइरहेकाले नेपालले कुनै प्रतिवाद गरिरहेको छैन । यदि यही क्रम जारी रहन दिने हो भने कालान्तरमा नेपाल भन्ने मुलुक कति बाँकी रहला ? नेपालमा आफ्नो भूमि र त्यसको सीमा सम्बन्धमा जुन समवेदनाशून्य स्थिति छ । त्यसले पनि भारतको सीमा मिच्ने दुष्प्रवृत्ति प्रोत्साहित भएको छ । सीमामा अलिकति मात्र छिसिक्क हुनासाथ सम्पूर्ण राष्ट्र एक स्वरमा खनिने गरेको भए भारतले यस्तो दुस्साहस गर्ने आँट गर्न सक्ने थिएन । के उसले पाकिस्तान वा बंगलादेशको सीमामा यसो गर्ने आँट गर्न सक्दछ ? तर नेपालमा उसले जेसुकै गरे पनि सम्पूर्ण मुलुकले देखेको नदेख्यै, सुनेको नसुन्यै गर्दै आएकाले उसको दुस्साहस यसरी बढ्दै गएको हो ।
नेपाल आफ्नो सीमा सम्बन्धमा यति समवेदनाशून्य कसरी हुन सकेको छ ? यो सबैभन्दा गम्भीर र महत्वपूर्ण विषय हो । यस सम्बन्धमा गहिरो अध्ययन हुनु जरुरी छ । हिजो पञ्चायत जनतामा आधारित व्यवस्था नभएकाले त्यसले उठाएको राष्ट्रियताका कुरा फोस्रो राष्ट्रवाद हो, मण्डले राष्ट्रवाद हो भनियो । अहिले जनताको व्यवस्था आएको पनि अढाइदशक भयो । खै त सरकार र जनताको राष्ट्रिय भावना र व्यवहारमा सुधार ? हामीले विगत केही वर्षदेखि दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो भनिरहेका छौँ । खै त त्यो कालापानी फिर्ता लिन हामीले पहल गरेको ? अहिले प्याराताल हाम्रो हो भनेका छौँ । के गर्दैछौँ त त्यो प्यारातालमाथि हाम्रो स्वामित्व स्थापित गर्न ? कि नेपालको राष्ट्रियताको प्रश्नमा पनि अन्य क्षेत्रमा जस्तै भारतीय साम, दान, दण्ड, भेदको नीतिले काम गरिरहेको छ ? वास्तवमा भारतले नेपालको भूमि आफूतिर तान्ने र आफ्ना मान्छे नेपालतिर पठाएर कालान्तरमा नेपालमा संकट खडा गर्ने रणनीति अपनाएको प्रतीत हुन्छ । यदि यसै हो भने नागरिकहरु स्वयम्ले नै केही गर्नु पर्ने हो कि ? सोच्ने बेला आएको छ ।
नेपाल मात्रै एउटा यस्तो मुलुक देखिएको छ, जहाँका मान्छे आफ्नो देशको माटो अरुलाई सुम्पेर आफ्नो निजी स्वार्थ पूर्ति गर्न हिच्किचाउँदैनन्