लोकेन्द्र प्रसाद जोशी दार्चुला । सडककालोपत्रे गरेर महाकाली लोकमार्ग नामाकरण गरिएको दार्चुलाको प्रमुख सडकको व्यवस्थापन हुन नसक्दा जिल्लाबासीले बेला बेला सास्ती भोग्नुपरेको छ । बर्षात शुरु भएसंगै भगवान भरोसामा यात्रा गर्नुपर्ने बर्षौ देखिको बाध्यता हालसम्म हट्न सकेको छैन । शनिबार बिहान महाकाली लोकमार्गको गोकुलेश्वर–खलंगा सडकखण्डअन्तर्गत पर्ने काकँडाखोलामा पानीको सहत बढ्दा जिल्लाको यातायात नै ठप्प भएको छ ।
शुक्रबार रातीको अविरल वर्षाका कारण खोलामा पानीको सतह बढेपछि जिल्ला भित्रिने र जिल्लाबाट बाहिरिने छोटो तथा लामो दुरीमा दर्जनबढी सवारी साधन र सयौं यात्रुहरुले घण्टौ खोलाकै छेउँमाबिताउँनु परेको छ । महाकाली नगरपालिका वडानम्बर–८ स्थित पर्ने काकँडा खोलामा समयमै पुल निर्माण हुन नसक्दा पानीको सतह बढ्ने वित्तिकै यातायात ठप्प हुने गरेको छ ।
शनिबार खोलाले सडक पुरै कटान गरेपछि यातायातका साधनहरु चल्न नसकेको जिल्लाप्रहरी प्रवक्ता प्रहरी निरिक्षक हिक्मतबहादुर बोहराले जानकारी दिनुभयो । काँकडा खोलामा मोटर पुल निर्माणाधिन अवस्थामा रहेको छ ।
पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीको लापरवाहीका कारण पुल अलपत्र अवस्थामा छ । २०७२ सालमा आएको बाढीले उक्त खोलमा रहेको मोटर पुल बगाएपछि बर्षातको समयमा यस्तै समस्या दोहोरीने गरेको हो ।
काकँडासहित महाकाली लोकमार्गको गोकुलेश्वर दार्चुला सडकखण्डमा विभिन्न खोलाहरुमा ७ ओटा मोटरपुलहरु निमार्णधिन अवस्थामा रहेपनि सबैको म्याद सकिएको छ । तर कुनैपनि पुल निमार्ण सम्पन्न हुन सकेका छैनन । खोलाहरुमा पानी बढ्दा धनगढी, महेन्द्रनगर, काठमाण्डाैँबाट जिल्ला आउने तथा जिल्लाबाट बाहिरिने लामो तथा छोटो दुरीका सवारी साधनहरुबीच बाटोमै रोकिएका छन् ।
गएराती भएको वर्षाका कारण महाकाली लोकमार्गको आधा दर्जन स्थानमा पहिरो आएर सडक अवरुद्ध भएको थियो । सडकमा पहिरो र खोलामा पानी बढेका कारण यातायातका साधनहरु ठप्प हुँदा यात्रुहरुबीच बाटोमै अलपत्र परेका छन् ।