काठमाडौं । नेपाल युवा परिषदले आयोजना गरेकोे राष्ट्रिय युवा सम्मेलन २०१८ सम्पन्न भएको छ। सातै प्रदेशलाई ७५ हजार रुपैयाँ बराबरको कार्ययोजना दिँदै सम्मेलन सम्पन्न भएको हो ।
अन्तरास्ट्रिय युवा दिवसका अवसरमा राजधानीमा ३ दिनसम्म चलेको सम्मेलनको अन्तिम दिन सहभागीले पेश गरेको परियोजना मध्येबाट उत्कृष्टलाई सिड मनिका रुपमा ७५ हजार नगद सहयोग गरिएको हो ।
२५० युवाहरुको सहभागी रहेको सम्मेलनमा आ–आफ्नो प्रदेशस्तरिय ७/७ वटा कार्ययोजना तयार पारेका थिए । त्यसमध्ये जुरीहरुले प्रत्येक प्रदेशबाट उत्कृष्ट १/१ वटा कार्ययोजना छनौट गरेका थिए ।
जसमा प्रदेश नं १ मा तनाव ब्यवस्थापन सम्बन्धि कार्ययोेजना छनोट भयो भने प्रदेश नं २ का लागि ४० जना युवाहरुलाई प्रत्यक्ष रुपमा स्वरोजगार तालिम दिने योजना छनोट भएको थियो।
प्रदेश नं ३ मा फोहोरमैला व्यवस्थापन गरी उद्यमशिलताको व्यवस्थापन गर्ने, प्रदेश नं. ४मा गण्डकीको लागि ११० किशोरकिशोरीलाई यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी तालिम दिने, प्रदेश नं. ५ मा उद्यमशिलता तथा प्राबिधिक शिक्षा, प्रदेश नं ६ कर्णालीमा स्थानीय खाद्यान्नको प्रबर्द्धन गर्ने र प्रदेश नं ७ मा लागि पर्यटन क्षेत्रको प्रबद्र्धन गर्नको लागि त्यस्ता स्थानको पहिचान गरी सामाजिक सञ्जालमा राख्ने तथा त्यससँग सम्बन्धित वेबसाइट बनाउन युवालाई तालिम दिने योजना छानिएको थियो ।
स्नेहाराज भण्डारी, राजन कोइराला र हेमपाल श्रेष्ठको छनोट समितिले ति योजनाहरुको छनौट गरेका थिए। युएन नेपालसँगको मुख्य सहकार्यमा आयोजित सम्मेलनमा कृषि, पर्यटन, सूचना, प्रविधि र युवा उद्यमशिलता बिषयमा बिभिन्न विज्ञहरुले कार्यपत्र समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको शहरी बिकास मन्त्री मोहम्मद इश्तियाक राईले उद्घाटन गर्नुभएको थियो।