–मिङमार टि. लामा
पिआर भएका युवायुवतीलाई ज्वाँई वा बुहारी बनाउन नेताहरु नै अगाडि सरेर सके आफ्नोमा नसके आफन्त परिवारमा जोड्न प्रतिस्पर्धा गर्छन्
राज्यले निर्माण गरेको कानुनबमोजिम विधि र प्रक्रिया पूरा गरेर नागरिकता लिन सकिन्छ । गैरआवासीय नेपाली (बाँकी आलेखभर ‘एनआरएन’ लेखिएको छ) लाई नागरिकता दिने विषयमा नेपालका सबै दल एकठाउँमा उभिएको पाइन्छ । एनआरएनले एकपटक नेपाली सधैँ नेपाली भनेर ठूलै स्वरमा यो नारा घन्काए । सीमित अधिकारसहित नागरिकता दिने विषय करिब अन्तिमचरणमा पुगेको विषय सञ्चारमाध्यममा आइसकेका छन् । सीमित अधिकारसहितको नागरिकता दिन तयार हुने राज्यले कुनै विदेशीलाई नेपाली बनाउन लागेको कदापि होइन । जो नेपाली थिए, तिनैलाई दिने हो । यदि नेपाली हो भन्ने लागेर नागरिकता दिने हो भने किन भेदभाव ? राजनीतिक अधिकार नदिने भन्ने विषय प्रष्ट रुपमा उठाउन जरुरी छ । नेपालमा राजनीति गरिरहेका नेतालाई यदि कुनै एनआरएन नेपाल आएर राजनीति गरे नेपालका नेताले प्रतिस्पर्धा गर्न सक्दैन वा एनआरएनहरु नेपालको राजनीति गर्न योग्यता र क्षमता पुग्दैन भन्ने लागेको हो रु किन राजनीतिक अधिकार दिन सकिँदैन भन्ने विषय प्रष्ट पार्न आवश्यक छ ।
नेपालमा तथाकथित उपल्लो जातिले दलितका नामबाट शोषण गर्दै आएका समुदायको पक्षमा गाइएको एक हरफ गीत पस्कन सान्दर्भिक ठानेको छुः ‘मान्छे मान्छे एउटै हो नि, फरक किन भो ? श्रम चल्छ, सीप चल्छ, पानी नचल्ने भो’ भने झैँ एनआरएन दोस्रो दर्जाका नागरिक भै कति दिन टिक्न सक्लान् ? एनआरएनको पैसा चल्छ, सीप चल्छ, खानपिन चल्छ, विदेश सवारी हुँदा आतिथ्य सत्कार चल्छ, सुटबुट र आइफोन जस्ता उपहार त झन खोजिखोजी चल्छ । चुनावका भेलामा दुई चार पैसा सहयोग जरुर चल्छ। राष्ट्रमा प्राकृतिक विपत्ति आइपरे सरसहयोग चल्छ । यतिमात्र कहाँ हो र ? विदेशमा पिआर भएका युवालाई सजिलै ज्वाँईका रुपमा र युवतीलाई बुहारीको रुपमा पनि घरव्यवहार चल्छ। साँच्चै भन्ने हो भने पिआर भएका युवायुवतीलाई ज्वाँई वा बुहारी बनाउन नेताहरु नै अगाडि सरेर सके आफ्नोमा नसके आफन्त परिवारमा जोड्न प्रतिस्पर्धा गर्छन् ।
विदेशका नेपालीप्रति कतिपय नेपालका नेताहरुको सोचाई संकीर्ण र संकुचित छ भन्ने भनाई उनीहरुले समयसमयमा दिने अभिव्यक्तिले छर्लङ्ग पार्छ । भर्खरै विदेश भ्रमणमा रहनुभएका परराष्ट्रमन्त्रीले कसैको भनाइबाट चित्त दुःखे ‘सरी’ भन्न चाहन्छु भनी दिएको अभिव्यक्तिले पनि प्रष्ट पारेको छ । तर राज्यले एनआरएनलाई दिन खोजेको सहुलियत र मान्यताका लागि नेपाल राज्यप्रति एनआरएन झुकेर सलाम गर्नै पर्छ । एनआरएनले राज्यले दिन चाहेको सुविधा सही सदुपयोग पनि गर्न सक्नु पर्दछ। यदि गलत उपयोग गरे कानुन निर्माण गरि सजाय दिनु पर्छ । जहाँसम्म राजनीतिक अधिकारको विषय छ, विदेशमा रहेका नेपालीलाई राजनीतिक अधिकार दिए कति जना एनआरएन नेपालमा राजनीति गर्न फर्केलान् ? फर्किए पहिलो कुरा एनआरएन ले चाहना राख्दैमा राजनीति गर्न सजिलो छैन । गरिहाले त्यसले खासै असर पार्न सक्दैन । एनआरएनलाई नेपालको राजनीतिक अधिकार प्राप्त गरे नेपालका राजनीतिक दलहरुले स्थान नदिएसम्म वा नस्वीकारेसम्म कुनै पनि एनआरएन राजनीतिमा न माथि आउन सक्छ न त सफल नै हुन्छ । न त नेपालको राजनीतिक पार्टीमा संख्याका हिसाबले वा सैद्धान्तिकरुपमा हावी हुन सक्छ । राजनीतिमा कुनै ठाउँ प्राप्त भयो भने त्यहीँ भेदभाव र भ्रष्टाचारचाँहि हुँदैन र गर्दैन भन्ने कुरामा ढुक्क हुन सकिन्छ कि बरु ? केही न केही सकरात्मक प्रभाव एनआरएनले नेपाली समाजमा पारेको विषय कसैले नजरन्दाज गर्न सक्दैनन्। जे जस्तो भए पनि सरकारले नेपालीलाई आफ्नो हो भनी पहिचान दिने कुरा अत्यन्त स्वागतयोग्य र सलाम गर्न लायक छ तर यस विषयमा एनआरएन का नेतृत्वकर्ताले नागरिकताको विषयमा तर्कसंगत र व्यवहारिक विषय उठान गर्न सक्नु पर्दछ ।
१. जसले पहिले नै नेपाली नागरिकता प्राप्त गरेका छन् र तिनीहरूले नेपाली नागरिकता नत्यागेको हकमा नागरिकतामा निरन्तरता हुनु पर्दछ ।
२. विदेशी नागरिकता प्राप्त गर्न नेपाली नागरिकता त्याग गर्न निवेदन दिर्इ त्यागेकालाई दोस्रो नागरिकता दिने व्यवस्था गर्नु पर्दछ।
३. विदेशमा बस्ने नेपालीले सरकारसमक्ष नागरिकता नत्यागेसम्मा ती व्यक्तिको नेपाली नागरिक रहिरहने अधिकार सुनिश्चितता हुनुपर्दछ ।४. एनआरएनबाट विदेशमा जन्मेका दोस्रो पुस्तालाई नेपालसँग सम्बन्ध कायम राख्न विशेष पहल र सहुलियत दिन सकिने व्यवस्था हुनु पर्दछ ।
५. एनआरएनले नेपाल आवतजावत गर्दा अध्यागमनमा सहज र नेपाल र नेपालीमैत्री बनाउन आवश्यक छ ।
६. विदेशमा नेपालीले कसरी विदेशी नागरिकता प्राप्त गर्छन् भन्ने विषयमा नेपाल सरकार र सरोकारवालालाई विस्तृत रुपमा बुझाउन सक्नु पर्दछ ।
विदेशबाट आफ्ना नागरिक स्वदेश फर्किँदा अध्यागमनका अधिकृतहरुले अभिवादन गर्दै हाउ वाज योर भिजिट भनेर सोध्छन । कुनै अधिकृतले हाउ वाज योर स्टे हाउ वाज योर भ्याकेसन पनि भन्छन् । र, अन्तिममा वेलकम होम भनेर स्वागत गर्दै राहदानी हस्तान्तरण गर्छन् । यसरी आफ्नो नागरिक सकुशल स्वदेश फर्किएकामा गर्वका साथ स्वागत हुन्छ । नेपालमा पनि एनआरएनले चाहेको त्यही हो । नेपालको अध्यागमनका अधिकृतले पनि जन्मभूमिमा स्वगत छ भनेर कुनै एनआरएनलाई भने अध्यागमनका अधिकृत सानो दर्जामा गनिदैँन। बरु एनआरएनको छाती गर्वले फुल्छ र आफू सुरक्षित भएको महसुस गर्दै जन्मभूमि हो भनी पुनःस्मरण गराएकामा ती अधिकृतप्रति नमन गर्छ । भौतिकरुपमा विदेशमा रहे पनि एनआरएनले नेपाल राष्ट्रलाई घात गरेका छैनन् । विदेशी भूमिमा सबैले आआफ्नो हैसियत निर्माण गरी नेपालप्रतिको माया र सामाजिक दायित्वबाट पछि नहटी पूरा गरेका छन् । अनौपचारिकरुपमा अन्य मुलुकसँग स्थायी राजदूतको भूमिका एनआरएनले गरेका छन् । यी शुभकार्यको निरन्तरता पाइरहने छ भन्ने लाग्छ ।
राजनीतिमा कुनै ठाउँ प्राप्त भयो भने त्यहीँ भेदभाव र भ्रष्टाचारचाँहि हुँदैन र गर्दैन भन्ने कुरामा ढुक्क हुन सकिन्छ कि बरु
विभिन्न राष्ट्रमा दोहोरो नागरिकतासम्बन्धी नियम अध्ययन गर्ने हो भने दोहोरो नागरिकता स्वीकार गरेका सबै राष्ट्रहको आआफ्नै नियम छ । कसलाई दोहोरो नागरिकता दिने र नदिने विषय सम्बन्धित राष्ट्रको अधिकार हो । हालसम्म करिब ४२ राष्ट्रले दोहोरो नागरिकता स्वीकार गरेको पाइएको छ । अमेरिका, युके, अष्ट्रेलिया, क्यानडा, स्विट्जरल्याण्ड, डेनमार्क, बेल्जियम, फ्रान्स, फिन्ल्यान्ड, स्वीडेन, हंगेरी, आइसल्याण्ड, स्पेनलगायतका देशमा दोहोरो नागरिकता स्वीकृत छ । एसियका केही मुलुकः बंगलादेश, साउथ कोरिया, थाइल्याण्ड, श्रीलंका र पाकिस्तानले पनि आफ्नो देशका नागरिकलाई दोहोरो नागरिकताको सुविधा दिएको पाइन्छ। जुन मुलुकले यो सुविधा दिएका छन्, सबैको नियम बनाएर लागु गरेका छन् । पाकिस्तानले १६ देशका नागरिकलाई दोहोरो नागरिकता दिने कुरा उल्लेख गरेको छ । इजिप्ट, टर्की र जर्मनीमा पूर्वस्वीकृति लिनु पर्ने विषय उल्लेख छ । स्पेनले निश्चित ल्याटिन अमेरिकन देशलाई मात्र स्वीकार गरेको छ ।
अमेरिका, युके, स्विट्जरल्याण्ड र अष्ट्रेलियामा कुनै छेकबार नगरी त्यस देशको कानुनले योग्य स्वीकृत (इलिजिबल) भएपछि सहजरुपमा नागरिक बन्न सकिनेछ । यी मुलुकमा दोहोरो नागरिकता प्राप्त गर्न आफ्नो नागरिकता त्याग गरेको हुनु पर्दैन । तर नेपालको कानुनले जबर्जस्तरुपमा त्याग्न बाध्य गराउँछ । यसलाई सच्याउन जरुरी छ। नेपालका अधिकांश नेता तथा सरोकारवालाको बुझाईमा नेपाली नागरिकता त्याग गरेपछि मात्र विदेशी नागरिकता प्राप्त गर्न सकिन्छ भन्ने विषयले जरा गाडेको पाइन्छ । जुन कुरा दोहोरो नागारिकता स्वीकार गरेका देशमा आवस्यक पर्दैन। यसलाई एनआरएनले निराकरण गर्न जरुरी छ ।
दोहोरो नागरिकता स्वीकार गरेका देशमा लागु गरेका विषयलाई आधार मानेर आफ्नो अनुकुल नेपालले कानुन निर्माण गरी दोहोरो नागरिकता दिने विषयलाई सकरात्ममक ठान्नु पर्दछ । एनआरएनले नेपाल सरकारसाग राखेका मागमा सबैको ध्यान केन्द्रीत होस् । एकपटकको नेपाली सधैँ नेपाली । नेपाली नागरिकता निरन्तर रहोस् । नेपाली नागरिकता त्यागेका र नेपाली नागरिक बन्न योग्य रहेका विदेशमा हुर्केका नेपालीलाई नेपाली बन्न पाउने अवसर मिलोस् ।
नेपालमा राजनीति गरिरहेका नेतालाई यदि कुनै एनआरएन नेपाल आएर राजनीति गरे नेपालका नेताले प्रतिस्पर्धा गर्न सक्दैन वा एनआरएनहरु नेपालको राजनीति गर्न योग्यता र क्षमता पुग्दैन भन्ने लागेको हो