एउटा हात ज्ञानेन्द्र शाहसँग र अर्को हात नेत्रविक्रम चन्द विप्लवसँग जोडिन पुगे आश्चर्य हुने छैन ।
–खिबराज शर्मानेपाली कांग्रेस पंक्ति विगतमा कम्युनिस्टले बुढाबुढीलाई गोली ठोक्छ भन्थ्यो । यो उसको पहिलो भाष्य स्टण्ट थियो । जब कम्युनिस्टले सरकार सञ्चालन अवसर पायो, वृद्धभत्ताको कार्यक्रम ल्याएर कांग्रेसी गैरजिम्मेवार स्टण्टको पर्दा च्यातियो । कम्युनिस्टले दिदीबहिनी मान्दैन, महिलालाई इज्जत दिँदैन भन्थ्यो । कम्युनिस्ट पार्टीका युद्ध र आन्दोलन जोडबलले नेपालको संविधानमै महिलाका अधिकार व्यवस्था गरेपछि कांग्रेसी दोस्रो भाष्य स्टण्टले पनि काम गरेन । आफ्ना नीति(योजना, राज्यसत्ता सञ्चालन गर्ने कौशलताका आधारमा अरू भन्दा हामी ठीक छौँ भन्दैन काग्रेस इतिहासदेखि नै । कांग्रेस आफू दौडेर प्रथम हुने मति पनि कहिल्यै राख्दैन । अर्कैको खुट्टा तानी लडाएर आफू प्रथम हुने उसको स्वभाव हो ।
त्यसकारण छुद्र र निम्नकोटीको राजनीतिक संस्कृति कांग्रेसको पहिचान हो । यसकारण चुनावताका कांग्रेसका सभापति एवम् तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा अर्को भाष्य स्टण्ट प्रयोग गर्दै कम्युनिस्ट अधिनायकवादविरूद्ध कांग्रेसलाई भोट मागेँ । त्यति नै बेला वामपन्थी दलहरू मुलुकमा राजनीतिक स्थिरतामार्फत विकास र समृद्धिको गुरूयोजना कोर्दै थिए । कांग्रेस सरकारको नेतृत्वमा थियो। उसैको नेतृत्वमा चुनाव भयो । नागरिकले एक–एक गरी भोट खसाले । चुनावी परिणाम राजनीतिक स्थिरताका पक्षमा आयो । कम्युनिस्ट अधिनायकवादविरूद्धको भाष्य स्टण्टलाई जनताले अस्वीकृत गरिदिए । र, पनि कांग्रेस ब्युझेन । निरन्तर भनिरह्यो र भनिरहेको छ, ‘अधिनायकवादविरूद्ध संघर्ष । हिजो आज ऊ यसैको रिहर्सलमा छ ।
हरेकले शब्दलाई आफूअनुकुल खेलाउन खोज्छन् । राज्यसत्ता सञ्चालनजस्तो शुद्ध सामाजिक विज्ञान र योसँग जोडिएर आउने शब्द र तीनका भाव आफ्नै तरिकाले लगाउने गरिन्छ । तर तिनलाई छट्टाउने एउटा आधार भने जीवन्त रहन्छ । त्यो जनता र तिनको अभिमत हो । इतिहासमा जनताको नाम भजाएर जनविरोधी सत्ता सञ्चालन गर्ने अभ्यास भए तर जनताको दुहाई दिन तिनीहरू कुनै पल चुकेनन् । विश्वका ठूला तानाशाह, नेपालकै राजामहाराजा यसै भन्थे र निरंकुशताको उच्चतम अभ्यास गर्थे । काम जनताका सबै अधिकार आफूले लिने तर भनाईमा प्रजातन्त्रको विकासको लागि भन्ने गर्थे । त्यसकारण निरंकुश शासकले प्रजातन्त्रलाई गलत तरिकाले अभ्यास गरी जनतालाई दिग्भ्रमित परे । आज अधिनायकवादको प्रयोग ज्यादा हुने गरेको छ नेपाली राजनीतिको एउटा आयामभित्र ।
कांग्रेस अधिनायकवादविरूद्ध जेहाद छेड्छु भन्छ । जनतालाई अनावश्यक उद्देलित गरी राजनीतिक भ्रमको विकास गर्न चाहन्छ । जुन भ्रमको आवरणले आफू सत्तामा रहँदा गरेका सबै कुकर्म छोपिउन् भन्ने ऊ चाहन्छ । जो चोर उसकै ठूलो स्वर भनेजस्तै कांग्रेस आफूभित्र रहेको हैकमी पारा र अधिनायकवादी व्यवहार जनताको नजरबाट लुकाउन चाहन्छ । कांग्रेस पार्टी कति हैकमी छ कति अधिनायकवादी छ, कांग्रेस पार्टीको जीवन पढ्दा छर्लंग हुन्छ । जुन पार्टीको नेतृत्व छनौट पूर्ण प्रजातान्तिक छैन । कार्यकर्ताबाट अनुमोदन नभई टीका लगाई नेताको खल्तीबाट नेपाली कांग्रेसका नेता जन्मिन्छन् । त्यही पार्टी अधिनायकवादविरूद्द डंकापिटाई केवल चोरले खुट्टा उचालेजस्तै हो ।
अर्को कुरा, सत्ता सञ्चालक अधिनायकवादी चरित्रबाट रोक्न शक्ति पृथकीकरण व्यवस्था छ । हामीकहाँ पनि स्वतन्त्र न्यायालय छ । ताजा जनादेशबाट बनेको फ्रेस व्यवस्थापिका छ । दुईतिहाई भन्दा पनि बढी जनताका प्रतिनिधिले बनाएको सरकार छ । र, कहाँबाट आयो अधिनायकबादको गन्ध ? यो सरकार यसरी निर्माण हुन पुग्यो । जुन अधिनायकबादको पाठ जनतालाई दिनरात पढाउदा पनि कांग्रेसी पढ़ाई झुठ र गलत सम्झी पढ्न नचाहेको कारण निर्माण भएको सरकार हो । अर्को कुरा, कांग्रेसकै सरकारले होइन, न्यायालयको प्रमुखलाई महाअभियोग लगाएको । शक्तिसन्तुलनको संरचनामाथि खुनी पञ्जाले चिथोर्ने र शक्ति पृथकीकरणको मर्ममाथि प्रहार गर्ने पनि कांग्रेसकै सरकार हो नि । सत्ता सञ्चालन विधि र प्रक्रिया छोडेर सबैभन्दा कनिष्ठलाई नेपाल प्रहरीको प्रमुख बनाउने कांग्रेसकै सरकार । अनि ती सबै विषय पुरै बिर्सेर सुशासनको भाष्य स्टण्ट गर्ने पनि कांग्रेस ।
समय धेरै भएको छैन, भ्रष्टाचारीले चुनाव लड्न पाउनु पर्छ भनी संसदमा लामो ज़िद्दी गरी भ्रष्टाचारीले चुनाव लड्ने कानुन पास गराउन सफल पनि कांग्रेस । तर यति छिटो सबै बिर्सेर ओली सरकारले भ्रष्टाचारलाई बढ़ावा दियो भन्दै भाष्य स्टण्टमा पनि कांग्रेस अगाडि । हिजो सत्तामा रहँदा डा. गोविन्दकेसी र उनका मागप्रति बारबार उपेक्षा र उदाशीनता, प्रतिपक्षमा हुँदा केसीको प्रवक्ता बनेर सडकमा आउने पनि कांग्रेस डा. केसीसँगको सम्झौतापछि सम्झौताबमोजिम त्रिवि उपकुलपतिलगायतलाई कारबाही भए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिने पनि कांग्रेस नै थियो । कांग्रेस मुद्दाविहीन र विचारविहीन हुँदै दिशाहीन पार्टीका रूपमा परिणत भएको छ । ऊ त्यसकारण केबल भाष्य स्टण्टका रूपमा देखा पर्दैछ । कांग्रेसले भन्ने अधिनायकवाद यसै अवस्थाको समुच्च स्वरूप हो ।
चुनावमार्फत नेपाली जनताले वामपन्थीको स्थिर सरकार दिए । त्यसअनुरूप अहिले केपी ओली नेतृत्वको सरकारले राज्यसत्ता सञ्चालन गर्न खोज्दै छ । राज्यसत्ताका मालिक सार्वभौम जनता र तीनै जनताले निर्वाचित गरेका प्रतिनिधिले सरकार बनाएको भनिए पनि राज्यसत्ता पूर्णरूपमा जनताका हातमा आइसकेको छैन । राणाकालीन र पञ्चायतकालीन लिगेसी बोकेको कर्मचारीतन्त्र जननिर्वाचित सरकारको अगाडि प्रतिद्वन्द्वी भाव प्रकट गर्दै ठिंग उभिन खोज्दछ । ऊ जनताको सरकारलाई नसुनेरै हैरान पार्ने मानसिकतामा देखिन्छ । सरकारले कतै सरूवा गरे आन्दोलनमा जाने धम्की दिन्छ ।
समाजवादी राजनीतिक दर्शनलाई पाखण्ड सम्झनु हुन्न । वामपन्थी शक्ति निर्वाचनबाट अगाडि आई सत्ताको स्टेरिङ समात्दा निदहराम भएको छ । विश्लेषकको त्यो पंक्ति पनि स्थिरताका लागि नेपाली जनताले दिएको शुद्ध अभिमतमाथि बलात् आक्रमण गरिरहेको छ । यो पंक्ति नै हो मुख्यरूपमा आवरणमा स्वतन्त्र लेखक देखिने तर सारमा ओली सरकारविरूद्ध जनमत निर्माण गर्ने गरी लागिरहने देखिएको छ ।अधिनायकवादको हौवा यिनै बुर्जुवा चिन्तक लेखक र विश्लेषकले गराएका हुन् । प्रभुत्ववादी र विस्तारवादीका स्थानीय दलालबाटै शृंखलावद्द जनमतविरूद्ध भ्रमका सिलसिला विकास गरिँदै छ । जुन नेपाली जनताको र सरकारको सचेत हस्तक्षेपबाट पानीको फोका सरी फुट्नेछ ।मुद्दामा पनि झोसिन थालेको कांग्रेस ओली सरकारविरूद्ध लाग्ने क्रममा आफ्नो हैसियत, इतिहास बिर्सेर विभिन्न किसिमका अपारदर्शी समूहमा जोडिन पनि पुग्नेछ । त्यो क्रममा एउटा हात ज्ञानेन्द्र शाहसँग र अर्को हात नेत्रविक्रम चन्द विप्लवसँग जोडिन पुगे आश्चर्य हुने छैन ।