–प्रेम बुढाबर्दिया । केही दिनअघिको कुरा, जिल्ला प्रशासन कार्यालयमा रिपोर्टिङका लागि पुगेको थिएँ । प्रमुख जिल्ला अधिकारीको कक्षमा जिल्लाका सुरक्षा निकायका प्रमुखलगायतका केही अन्य सेवाग्राही थिए । जिल्लाको वर्तमान अवस्थाका विषयमा सामान्य विचार राख्ने काम भइरहेको थियो । त्यसैक्रममा राष्ट्रिय राजनितिमा पहुँच राख्ने तथा समाज सुधारमा आशा गरिएका मधुवन नगरपालिकाका केही नेता र समाजसेवी भित्र पसे ।
बर्दियामा रहेका ८ स्थानीय तहमध्ये विकासका हरेक कोणबाट अब्बल हुँदै गएको मधुवनको प्रशंसामा ती नेताले केही शब्द भन्न मात्रै भ्याएका थिए । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले भने, ‘मधुवन नगरपालिका ५ वर्षमा जिल्लाकै नमूना र समृद्ध नगरपालिका बन्छ तर एउटा कुरा, तपाइईंको नगरपालिकामा भइरहेको लागुपदार्थको कारोबार रोक्नु पर्छ अन्यथा सम्भव छैन ।’ सिडिओ कुरुम्बाङको भनाइले समाज कुन अवस्थाबाट गुज्रिरहेको छ भन्ने अवस्था प्रष्ट पारेको छ भने सामाजिक चिन्तामा सरोकार निकायले खेल्न नसकेको भूमिकामा व्यंग्य भएको छ ।
३ छोरा, ४ छोरीका पिता मधुवन नगरपालिकाका ७० वर्षीय बलबहादुर विकले लागुऔषध सेवन गरेर कुलतमा फसेको छोरोको अवस्थाले तनावमा परेर पारिवारिक विचलन हुने अवस्थाबाट जोगिएको ती दिन बिर्सन खोजिरहेका छन् । उनले भने, ‘आफूले नुन खुर्सानी खाएर पालेको छोरो ।’ चौकी धाउने हरेकका बाबुआमा छोरा सुधारिदिन भन्दै रोइरहेका हुन्छन् । मधुवन नगरपालिका जो बर्दियाकै सबैभन्दा बढी लागुपदार्थको प्रयोग र कारोबार हुने क्षेत्र हो । पछिल्लो समय कुलतमा फसेका युवा वर्गका कारण समाजमा त्रासदि छ । पछिल्लो ७ दिनमा मात्रै गुलरिया र मधुवन नगरपालिकामा लागुपदार्थ कारोबारी तथा सेवन गर्दै गरेका १४ युवालाई प्रहरीले पक्राउ ग¥यो । लागुऔषध सेवन गरेका युवाले बोक्ने घरेलु हतियारका कारण जोखिम अझ बढेको छ । घरका सिलिन्डर ग्यास चोरी, साना तथा ठूला पसलमा चोरी हुने क्रम बढेको छ ।
इलाका प्रहरी कार्यालय सानोश्रीका प्रमुख प्रहरी नायब निरीक्षक गणेशमान खड्काले मधुवनमा ८० प्रतिशत भन्दा बढी युवा लागुऔषध ओसारपसार र प्रयोगकर्ताका रुपमा रहेको बताए । सीमाक्षेत्रका स्थानीय तहमा भइरहेको लागुऔषध प्रयोगकर्ताको जालो पछिल्लो समय अरु जिल्लाकै उत्तरतिरका नगरपालिकामा सरेको छ । इलाका प्रहरी कार्यालय बाँसगढीका अनुसार बाँसगढी नगरपालिकामा लागुऔषध कारोबारीको संख्या बढेसँगै चुनौति थपिएको छ । बाँसगढीका लक्ष्मण थारु लागुऔषध कारोबारमै पक्राउ परेपछि पुर्पक्षमा छन भने विकास थारुबारे अनुसन्धान चलिरहेको प्रहरी निरिक्षक बसन्त गौतमले जानकारी दिए । १६ वर्षदेखि २५ वर्ष उमेरसमूहका व्यक्ति लागुऔषधका अम्मली छन् । सीमाक्षेत्रबाट थोरै अवैध लागु पदार्थ ल्याइ प्रयोग गर्ने तर बारम्बार ल्याउने गरेको प्रहरीको भनाइ छ । आइतबार सानोश्री प्रहरीले लागुपदार्थ बिक्री वितरण गरिरहको अवस्थामा ५ जनालाई पक्राउ गरेकामा १९ वर्षदेखि २४ वर्षका छन् ।
गत शनिबार मधुवन नगरपालिकामा १८ वर्षकी युवती र एक अर्का युवक लागुपदार्थ सेवन गरिरहेको अवस्थामा पक्राउ परे । केही दिनअघि जिल्ला प्रहरी कार्यालयबाट खटिएको गस्ती टोलीले गुलरिया नगरपालिकाको वडा नम्बर ७ चौगर्जीबाट ३ तथा वडा नम्बर ४ बाट ४ गाँजा सेवन गरिरहेको अवस्थामा पक्राउ परे । गाँजा, चरेस, ब्राउन सुगर प्रयोग गर्ने विद्यार्थीका कारण शिक्षक नै डराउनु पर्ने अवस्था छ । सीमा क्षेत्रका विद्यालयका शिक्षकको अझ ठूलो गुनासो छ । प्रहरीले गरेका हरेक कार्यक्रममा सहभागीले लागुऔषध नियन्त्रण गर्न नसकेको भन्दै प्रहरीमाथि दोष थुपार्ने गरेका छन । जिल्ला प्रहरी कार्यालय बर्दियाले भने सबै नागरिकको सहयोग लिई अघि बढ्ने उद्देश्यसहित रणनीतिक योजना बनाइरहेको बताएको छ ।
बिग्रिएका सन्तान सुधारिदिन प्रहरीमा पुग्ने अभिभावकको संख्यासमेत बढेको छ । जिल्लामा नयाँ प्रहरी प्रमुखको आगमनसँगै लागुऔषध नियन्त्रणमा प्रहरीले सक्रियता देखाएको छ । जुन पछिल्लो समय पक्राउ पर्नेको तथ्यांकले देखाउँछ । भारतीय सीमाबाट अवैध लागुपदार्थ निकासी गर्ने व्यक्ति पक्राउ नपर्दा अम्मली बनेका युवाको संख्या दिनप्रतिदिन बढिरहेको छ । नियन्त्रणका लागि प्र्रशासनले सीमासँग जोडिएका भारतीय समकक्षीसँग पनि छलफल प्रक्रिया अघि बढाइ सहकार्य गर्न जरुरी छ । प्रहरीप्रशासनको कडिकडाइ र सामाजिक अभियन्ताले जनचेतनामूलक तथा स्वरोेजगारमूलक कार्यक्रम ल्याउन ढिलो भइसकेको छ । लागुपदार्थ सेवन गर्ने नसाका कारण समाज प्रताडित छ भने भविष्यमा समाज तथा देश विकासमा भूमिका खेल्ने युवाको वर्तमान अवस्थाले समाज खोक्रो हुँदै गएको छ ।