सइन्द्र राईको टिप्पणी
काठमाडौं ।राष्ट्रिय राजनीतिमा छाइरहने राष्ट्रिय जनमोर्चा , नेपालका अध्यक्ष चित्रबहादुर केसी आजभोलि गुमनामजस्तै हुनुहुन्छ । अध्यक्ष केसी गुमनाम बनेसँगै, संघीयता विरोधी आवाज पनि हराएर गएको छ ।
न विद्रोहको विगुल बजाएर रणमैदानमा जाने हिम्मत, न मूलधारे संसदीय राजनीतिमै रमाउन सक्छ । आफूलाई बिछट्टै अलग पहिचानधारी कम्युनिस्ट पार्टी दाबी गर्ने राष्ट्रिय जनमोर्चा हरेक संसदीय निर्वाचनमा भने गिलास लिएर आउँछ । अर्थात्, राष्ट्रिय राजनीतिमा राष्ट्रिय जनमोर्चाको गिलास हराएको भने छैन, तर अलमलमा भने पक्कै परेको छ । बरू, गत मंसिर यता राष्ट्रिय जनमोर्चाका राष्ट्रिय अध्यक्ष चित्रबहादुर केसी भने लापत्ताजस्तै छन् । न मिडियामा देखिन्छन्, न त कुनै सार्वजनिक मञ्चहरुमा ।
चित्रबहादुर केसी यस्ता नेता हुन् । जो कहिले राजनीतिक एजेण्डा त कहिले वैयत्तिक भिन्नतामार्फत् राष्ट्रिय राजनीतिमा सदावहार छाइरहन्थें । तर, गत मंसिरमा सकिएको संघीय निर्वाचनले चित्रबहादुर केसीको पार्टीलाई राष्ट्रिय दलको मान्यता दिएन । थ्रेसहोल्ड कटाउन नसकेको राष्ट्रिय जनमोर्चाबाट पार्टी अध्यक्ष केसी नै सांसद बन्न सकेनन् ।
प्रसंग, चित्रबहादुर केसी गुमनाम बने भन्ने मात्रै होइन, तथ्य त केसीले जोडका साथ बोल्दै आएको संघीयविरुद्धको बोली पनि हरायो । बरू, संघीय संरचनाअनुसार सम्पन्न निर्वाचनमा भाग लियो, र केही प्रदेश सांसद पनि निर्वाचित भए । जबकी, २०६८ फागुन पहिलो साता सम्पन्न राष्ट्रिय सम्मेलनमार्फत् संघीयताको विरोधमा राष्ट्रिय जनमोर्चा लगातार बोल्दै आएको थियो ।
तर, नेपाली जनताले चित्रबहादुर केसीको कुरा सुनेनन् र, राष्ट्रिय जनमोर्चालाई मत दिएनन् । त्यसैले, पहिलेका भन्दा यसपटकको निर्वाचनमा राष्ट्रिय जनमोर्चाको मत स्वात्तै घट्यो । तर, वाम गठबन्धनका तर्फबाट प्रत्यक्ष निर्वाचन लडेकी दुर्गा पौडेल संघीय सांसद चुनिएकी छन् । र, संघीय संसदमा पौडेलको बोली पनि राष्ट्रिय जनमोर्चाकै जस्तो छ– न सत्ता पक्ष न प्रतिपक्ष । भिडियो हेर्नुहोस्ः
https://www.youtube.com/watch?v=KOfCJ0mO5BU