राज्यको अवयव कमजोर हुनु सरकारको हालत पनि ‘स्वस्थानीका कथामा मरेकी सतीदेवी बोकेर कैलाशयात्रामा हिँडेको महादेव’ को झैँ हुनु हो
विशेष सम्पादकीय
१० साउनमा कञ्चनपुर उल्टाखाम, खोल्टीमा साथीको घर होमवर्क गर्न गएकी १३ वर्षीया निर्मला पन्त फर्किनन् । फर्केकी थिइनन् वा फर्कन दिइएन । तर उनको पाशविक बलात्कारपछि हत्याले संघीय संसदका बैठकहरुसमेत प्रभावित भए । कानुन बनाउने सांसदहरु नै कानुन फेरेर बलात्कारीलाई फाँसी दिने व्यवस्थाको कित्तामा उभिए । र, २५ दिनपछि कञ्चनपुर प्रहरीले कनिकुथी हत्यामा संलग्न आरोपमा ४१ वर्षीय दीलिप विष्टलाई सार्वजनिक गर्दा देशभरका अधिकारवादी खुशी थिए । पीडितका आँखा पनि ओभानो हुने यत्नमा निदायो त्यो रात । घटनाको २५ दिनपछि प्रहरीले पाएको सफलतामा नेपाल प्रहरी प्रमुख सर्वेन्द्रनाथ खनाल पनि नाकमा लागेको दाग ‘दीलिप विष्ट वर्षा’ले पखालियो भनेर मस्त निदाए होलान् पक्कै । तर २४ घण्टा नबित्दै कञ्चनपुरमा नागरिकसमाजको यस्तो भेलवाढी आयो कि, त्यो बाढी रोक्न प्रहरीले गोलीबारीको ‘ड्याम’ लगाउन खोज्दा प्रहरीका १ नम्बरका कमाण्डर कुमारबहादुर खड्का (सिडिओ) र निमित्त कमाण्डर डिल्लीराज विष्ट (एसपी) नै घाइते भएका छन् । घटनामा दोषी देखिएको भन्दै काठमाडौं तानिएका छन् । गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा छानबिन समिति बनेको छ । कुशल भनिएका–देखिएका गृहमन्त्री रामबहादुर थापाले बिलम्व नगरी एक्सन लिए । र, अपराधीलाई ठाउँको ठाउँ ‘इन्काउन्टर’ गर्दै न्यायको शासन लागू गर्ने सर्वेन्द्र खनाल नेपाल प्रहरी प्रमुख कार्यकालमा जसरी भक्तपुरको सातौँ इन्काउन्टरमा विवादित बने, त्यसैगरी उनका सकल दर्जाका एसपीले ‘बहुला (नागरिक समाजले भनेको)’ लाई बलात्कारी बनाएर सार्वजनिक गर्दा अरु ७ सय प्रतिशत बदनाम बन्यो संगठन ।
२४ घण्टा नबित्दै कञ्चनपुरमा नागरिकसमाजको यस्तो भेलवाढी आयो कि, त्यो बाढी रोक्न प्रहरीले गोलीबारीको ‘ड्याम’ लगाउन खोज्दा प्रहरीका १ नम्बरका कमाण्डर कुमारबहादुर खड्का (सिडिओ) र निमित्त कमाण्डर डिल्लीराज विष्ट (एसपी) नै घाइते भएका छन्
साथी रोश्नी बमकहाँ गएकी निर्मलाको हत्यामा हत्यारा पत्ता लगाउनु थियो । कयौँ हत्याका हत्यारा पत्ता लागेका छैनन् । कयौँ हत्यारा पत्ता लागेका छन्, तर अदालतमा हाजिर भएका छैनन् । कहिलेकहीँ हत्यारा पत्तो पाउन विलम्व हुन्छ । प्रहरी ‘जेट’स्तरमा अपराधी समात्न २४ सै घण्टा सक्रिय भए पनि अपराधी ‘रकेट’स्तरमा फरार भएपछि पत्ता नलाग्न सक्छ । तर यहाँ त हत्यारा नै नक्कली भनेर राज्यविरुद्ध नागरिक सडकमा आउँदा गोलीबारीले रोक्ने अपराध गरियो । शंकाको घेरामा रहेको एउटा अनुसन्धानमा नागरिकले प्रश्न राख्न पाउँछन् । ढोका थुनेर पिट्न खोजे बिरालोले त घाँटी चिथोर्छ भने मान्छे, त्यसमा पनि बलात्कारजस्तो मानवसभ्यतामै कलंक दागी बलात्कार र हत्याको घटनामा, कोही नागरिक गलत मुद्दा बोकेर प्रहरीविरुद्ध सडकमा उत्रन्छ ? जनता सडकमा उत्रिएकै दिन नेपाल प्रहरीले आफ्ना आङमा ठूलै भैँसीले लात्ती हानेको थाहा पाउनु पर्थ्यो । उल्टो गोलीबारी गरेर निहत्था नागरिकमाथि गरिएको प्रहारले प्रहरी संगठन कञ्चनपुरकै कारण बदनामीको पात्र भयो ।
अनुसन्धानका नाममा प्रहरीले चाहे जो पनि अभियुक्त बन्न सक्छ भन्ने भयले घर गरेको छ । यसको अर्थ यो होइन कि, मानव सभ्यता भन्दा प्रहरी संगठन ठूलो हो । नागरिकको आक्रोश रोक्न कफ्र्यू लगाउनु पर्ने अवस्था आयो । अर्थात् व्यवस्था विरोधमा नागरिक उत्रिए झैँ भयो प्रहरीलाई आन्दोलन । अपराधी ढिलोचाँडो पक्राउ पर्ला । अथवा आन्दोलित नागरिक समाज पनि न्यायको भोकमै थाक्ला । आन्दोलन मत्थर होला । तर, नागरिक राज्यविरुद्ध सडकमा आउने वातावरण बनाउने नेपाल प्रहरीमाथि लागेको यो कलंकको टीका कहिले मेटिएला ? अपराधी पत्ता लगाउने नाममा सक्कली अपराधमा नक्कली अभियुक्त देखाएर नेपाल प्रहरीले कञ्चनपुरमा जुन पटाक्षेप गर्यो । यसले प्रहरी संगठनप्रति विश्वास टुटेको छ । यो दाग मेट्न अब्बल प्रहरी कमाण्डरलाई निकै समय लाग्नेमा शंका छैन । गृहमन्त्रीले समयमै उनीहरुलाई भूमिकाविहीन बनाएर जनआक्रोश त कम पार्लान् । तर प्रहरीप्रति विश्वासको वातावरण बनाउन नेपाल प्रहरीलाई निकै समय खपत गर्नु भएको छ । राज्यको अवयव कमजोर हुनु सरकारको हालत पनि ‘स्वस्थानीका कथामा मरेकी सतीदेवी बोकेर कैलाशयात्रामा हिँडेको महादेव’ को झैँ हुनु हो ।
ढोका थुनेर पिट्न खोजे बिरालोले त घाँटी चिथोर्छ भने मान्छे, त्यसमा पनि बलात्कारजस्तो मानवसभ्यतामै कलंक दागी बलात्कार र हत्याको घटनामा, कोही नागरिक गलत मुद्दा बोकेर प्रहरीविरुद्ध सडकमा उत्रन्छ ?