रामजीप्रसाद लम्साल
कास्की । जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा पोखरामा हुने “१७ औँ जिल्ला स्तरिय अन्तर विद्यालय इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता–२०७५” को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।
कास्की जिल्ला ब्याडमिन्टन सङ्घका सचिव दुर्गा प्रसाद जोजिजुका अनुसार २०७५ भदौ ९ देखि १२ गते सम्म पोखरा रङ्गशालाको ब्याडमिन्टन कोर्टमा सञ्चालन हुने प्रतियोगितामा २४ विद्यालयका छात्र–छात्रा गरी करिब २ सय जनाको सहभागिता रहने बताइएको छ ।
प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य कास्कीमा नयाँ ब्याडमिन्टन खेलाडीको पहिचान तथा खेलाडी उत्पादन गर्नु रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा आधारभूत तह कक्षा ८ सम्म छात्रा–छात्र सिंगल्स, माध्यमिह तह ८ कक्षा देखि १० सम्म छात्रा–छात्र सिंगल्स र डब्बलस्का इभेन्ट्सहरु हुने सचिव जुजिजुले बताउनुभयो ।
प्रतियोगितामा यो संस्करणबाट कक्षा १२ का विद्यार्थीहरूको पनि सहभागिता रहने बताइएको छ । कक्षा १२ तर्फ छात्रा–छात्र सिंगल्स र डबल्सका सबै इभेन्ट्सहरु हुनेछन् ।
विजयी प्रतियोगीहरूले मेडल, ट्रफी, प्रमाणपत्रका साथमा आकर्षक पुरस्कार वा प्रोत्साहन स्वरूप स्पाेर्ट साइकल प्रदान गरिने भएको सचिव जोजिजुले जानकारी दिए । प्रतियोगिताका संयोजक शेर बहादुर क्षेत्रीका अनुसार कास्की विद्यालय स्तरिय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख ९५ हजार खर्च लाग्ने जानकारी दिनुभयो ।
कास्की जिल्ला ब्याडमिन्टन सङ्घले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न विविध कार्यक्रमहरू गर्दै आएको सङ्घका अध्यक्ष डम्बर सिंह गुरुङले बताउनुभयो ।
हाल पोखरा रङ्गशाला भित्र ३ करोड ५० लाख को लागतमा अन्तर्राष्ट्रिय स्तरको ब्याडमिन्टन कोर्ट निर्माण सम्पन्न भए सँगै सङ्घले अब कास्कीमा ब्याडमिन्टन एकेडेमी सञ्चालन गर्ने सोच बनाएको अध्यक्ष गुरुङले बताए ।
भदौ ९ गते गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।