राजेश जी सी
प्यूठान । जिल्लाको प्युठान नगरपालिका ९ मरन्ठाना चिसापानीका कृषक दिनबहादुर जिसी माछा पालन व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।
जिसीले वि.सं. २०६० सालमा जिल्लामै पहिलो पटक व्यावसायिक रूपमा माछा पालन व्यवसाय सुरु गरेका हुन । प्युठान जिल्लामा माछाको बजार राम्रो भए पनि जिल्ला कृषि विकास कार्यालयले माछा पालन व्यवसायका लागी सिफारिस नगर्दा व्यावसायिक रूपमा माछा पालन व्यवसाय फस् टाउन नसक्नुमा जिसीले चिन्ता व्यक्त गरे ।
सुरुमा ८ लाख रुपैयाँको लगानीमा माछा पालन व्यवसाय सुरु गरेका हुन् । उनले वर्षमा माछा बिक्री गरी झन्डै १६ देखि १८ लाख रुपयाँ आम्दानी गर्दै आएका छन् । उनले मत्स्य विकास केन्द्रबाट तालिम लिई व्यवसाय गरेका हुन् । १३ रोपनी जग्गामा १० वटा पोखरी निर्माण गरी माछा पालन गर्दै आएका छन् ।
माछा प्रति किलो ४ सय ५० देखि ५ सय रुपयाँ सम्म बिक्री हुने गरेको छ । चिसापानीमा माछा उत्पादन भएकाले यसको माग बढेको र माछा खरिदका लागी ग्राहकहरू घरमै आउने गरेको जिसी बताउछन । उनी भन्छन्,‘प्युठान जिल्ला माछापालनका लागी राम्रो वातावरण भए पनि कृषि विकास कार्यालयले माछापालनका लागी सिफारिस नगर्दा जिल्लाका कृषकले यो व्यवसाय प्रति चासो देखाएनन् त्यसमा पनि सरकारले यस व्यवसायमा लागेका कृषकलाई प्रोत्साहन नगर्दा कृषकहरूमा निराशा उत्पन्न भएको छ ।’
उनले अहिले माछा पोखरिमा मात्र नभएर खेतमा धान रोपेपछि माछा पालन गरेका छन् । उनले वार्षिक ३५ देखि ४० क्यून्टल माछा उत्पादन गर्दै आएका छन् । उत्पादन गरिएको माछा जिल्लामै खपत हुने गरेको र जिल्लाको मागअनुसारको माछा उत्पादन गर्न नसकेको जिसीले बताए । उनले भने,‘जिल्लामा माछाको बजार राम्रो छ तर माग अनुसार उत्पादन गर्ने सकिएको छैन,उत्पादनका गर्नका लागी पर्याप्त क्षेत्रफल नभएकाले जिल्लालाई पुग्ने गरी उत्पादन गर्न सकिएको छैन ।’ जिल्लाको झिमरुक उपत्यका तथा माडी क्षेत्र माछापालनका लागि उत्तम क्षेत्र मानिन्छ ।
जिसीले युवाहरूलाई माछा पालन व्यवसायतर्फ आकर्षित गर्न माछा पाल्ने तरिका सिकाउँदै आएका छन् । त्यसका साथै उनले माछाका भुरा उत्पादन गर्दै आएका छन् । तर भुराबाट भने सोचेजस्तो फाइदा लिन नसकेको बताए । उनले कमनकार्प,रौ नौनी,पङ्गसियास, छडी लगायतका प्रजातिका का छा पालन गर्दै आएका छन् । सिचाईको कमी र पोखरिमा पानी नअडि्दिने समस्याले सताएको त्यसका साथै सडकको अवस्था राम्रो नहुँदा माछाका भुरा बचाउन समस्या हुने गरेको उनले बताए ।
जिल्लामा कृषकहरू यस व्यवसायमा आकर्षित नहुँदा दैनिक लाखौँ रुपयाँ जिल्ला बाहिरिने गरेको छ । अहिले जिल्लामा दाङ,कपिलवस्तु,रुपन्देही लगायतका जिल्लाबाट माछा भित्रिने गरेको तथ्याङ्क रहेको छ ।
।