समकालिन हिन्दी वाङमयका चर्चित भारतीय व्यङ्ग्यकार हुन् ‘सम्पत सरल’ । नाम मात्र सरल होइन, उनी सरल शब्दमा सारतत्व समेटेर कडा प्रहार गर्छन् । उनको प्रस्तुतिमा हास्यको खित्का मात्र छैन, उनी एक वाक्यमा सागरको सार खिचेर पस्किन सक्छन् । उनको अभिव्यक्ति ‘एक थोपामा समुन्द्र अटाए जस्तै’ हुन्छ । भारतीय प्रधानमन्त्री मोदीको बिकास भिजनमाथि व्यङ्ग्य गर्दै सम्पत सरलले भने , ‘म एक पटक हवाई जहाजमा न्युयोर्क जाँदै थिए । यद्यपि यो झुठ हो । तर मैले मोदीजीसँग सिकेको छु मानिसले भुठ बोले पनि हुन्छ तर भिजन ठूलो देखिनुपर्छ ।’ भारतीय लोकतन्त्रको ६५ बर्षको अभ्यासलाई उनले दुई वाक्यमा यसरी वयान गरे । ‘१५ रुपैयाँमा मिनरल पानीको बोतल पाइनु बिकास होईन । लोकतन्त्रकोे गालामा झापड हो । स्वतन्त्रता पाएको ६५ बर्षमा पनि देशको सरकारले जनतालाई शुद्ध पानी पिलाउन सकेन । ’ सम्पत सरलले उच्च डिजिटलयुक्त प्रविधि र बजारवादमाथि गरेको व्यङ्ग्य प्रहारको उतार यहाँ प्रस्तुत गरेका छौं ।
बजारवाद
वजार वैदिक युगमा पनि थयो । बजार हुनु नराम्रो होइन तर बजारवाद भने उचित होइन । मनुष्यको आवश्यकता अनुसार वस्तु उत्पादन गर्नु ठिक हो तर वस्तु बनाएर मानिसको आवश्यकतामा परिणत गर्नु उचित होईन । ‘डिजिटल प्रविधि र विद्युतिय सञ्चारमाध्यमहरुले बजारको गुणमा चुम्बकीय शक्ति भरिदियो र मनुष्यलाई फलाम बनाइदियो ।’ पुरै समाजको कदम बजारवाद तर्फ उन्मुख छ । हेर्नुहोस् बजारको चरित्र, कुम्भको मेलामा रोटीको विज्ञापन देखाइयो । हरेकको घरमा दुई वस्तु फाइनान्स गराएर ल्याइँदै छ । मोटरसाईकल र टेलिभिजन । मोटरसाईकलमा सवार भएर धरातलिय मार्गबाट गाउँ शहरमा पुग्छ । टेलिभिजनको माध्यमले आकाशमार्गबाट शहर गाउँमा पस्छ । बजार घर–घरमा शयन कक्षसम्मै पुगेको छ । हामी आवारा पुँजीवादको छत्रछायाँमा जीवन व्यथित गर्दैछौं । जसको काम हो मनुष्यको अन्तस्करणमा असुरक्षा पैदा गर्नु । बैंकमा लाखौ करोडौ रकम खातामा छ । तर पनि मनमा भय छ, ‘भोली के हुन्छ ?’ दराजभरी कपडा हुन्छ तर कुन पहिरिने तय गर्न मुस्किल हुन्छ ।
डिजिटल प्रविधि
जतिसुकै समर्ट सिटी बनाएपनि मानिसमा द्वेष , इष्र्या , लोभ र लालच त रहिरहन्छ । डिजिटल बटन थिचेर यी सव चिज मेटिदैन । डिजिटल प्रविधि र इन्टरनेटको जति गुनगान गाएपनि गुगलबाट रोटी डाउनलोड हुन सक्दैन । ‘मानिसले आयु मागेर ल्याएका थिए ४ दिन, दुई दिन इन्टरनेटले लियो दुई दिन टेलिभिजनले ।’ ‘अहिले कसैले एक सय ४० अक्षरसम्मको ‘भलो काम’ गरेको रहेछन् भने त्यसलाई मिल्काउने ट्विटरभन्दा उत्तम नदी कतै छैन । जसले केही गर्न सक्दैनन् उसले पनि ट्विट गर्न सक्छ र जसले एक पटक ट्विट गर्छ,फेरी उसले केही गर्न सक्दैन । मात्र ट्विट गरिरहन्छ ।’ म त सामाजिक सञ्जालको इस्पाति गुणलाई देखेर कायल भएँ । एक जना सज्जनले युट्युवमा कवि सम्मेलनको मेरो एउटै भिडियो क्लिपलाई सय पटक हेरेछन् र कमेन्टस्मा गाली लेखेछन् । धिक्कार छ सम्पत सरललाई एक वर्षसम्म एउटै रचना दोह¥याई रहेछ । नालायकले रचना नफेरे पनि कपडा त फेर्नु !
महात्मा गान्धी भन्नुहुन्थ्यो, ‘प्रविधि साधन हो साध्य होईन ।’ हामी प्रविधिको दुनियाँमा बाँचिरहेका छौ । तिव्रगतिमा समाज परिवर्तन भईरहेको छ । पिताको अनुभव अब छोराछोरीलाई काम लाग्ने भएन । प्रविधिको सबैभन्दा ठूलो लाभ यो भयो कि, ‘मनुष्यको चेतना बढ्यो तर सहनशिलता घट्यो ।’ भौगोलिक दुरी कम भयो तर मनुष्यसँग मनुष्य टाढा भए । अब त मनुष्य आफैदेखि पनि टाढा हुँदैछ । पहिलेको समयमा पनि मनुष्यको जीवनमा दौडधुप र संघर्ष उस्तै थियो तर रोमाञ्च पनि थियो । तर आजको मनुष्यको जीवनमा रोमाञ्च कम छ । तपाईलाई मर्सिडिजमा त्यति आनन्द महसुस हुँदैन जति आनन्द त्यो जमानामा बुवाले २ सय हालेर किनिदिएको साईकल चढेर आएको थियो । ४ बटा रोटी खाएपछि ४० को एभरेज दिन्थ्यो ।
ती दिनहरु कस्ता थिए ? जव घडी एक दुईजनासँग हुन्थ्यो तर समय सबैसँग थियो । आजको जस्तो समय थिएन । ‘फेसबुकमा ५ हजार फ्रेन्ड्स छन् तर घरपरिवारमा बोलिचाली बन्द छ ।’ मोवाईल, टेलिभिजन, ईन्टरनेट र कम्प्युटरमा अल्झिएको युवापिढी शब्दसँग प्रेम गर । पुस्तक पढ । आफ्ना अग्रजहरुको शानिध्यमा बस । संसारको जति उच्च प्रविधि भएपनि उज्यालो बनाउन सकिन्छ तर पारिलो घाम बनाउन सकिदैन ।
पुरानो जमानामा मोवाईल त के ल्याण्डलाईन फोन पनि थिएन । अतः मानिस आपसमा भेटेर मात्र झुठ बोल्थे । पहिले खानपिन शुद्ध थियो त्यसकारण स्मरणशक्ति पनि उच्च थियो । मानिसलाई आफ्नो सात पुस्ताको नाम याद हुन्थ्यो । झगडा र गालिगलौज हुँदा अरुको पनि सात पुस्ताको वयान गर्न सक्थे । हिजो हाम्रो जीवन कछुवा गतिमा थियो आज खरायोको गतिमा छौं । हामी सबै दौडिरहेका छौं तर गन्तव्यमा कोही पनि पुग्न सकिरहेका छैनौ ।
सोसल मिडिया
के हो यो सोसल मिडिया क्रान्ति ? म त छक्क पर्छु । ‘८१ बर्षे बुढोले १८ बर्षिया तरुनी केटी बनेर फेसबुकमा दिउँसो १२ बजे गुडनाइट लेखिदिन्छन् । हजारौ निर्मोही युवाहरु रात–रातभर जागेर त्यसमा लाइक गरिहन्छन् । कमेन्ट लेख्छन् ।’ एउटा नयाँ आयाम थपिएको छ–सेल्फी । कतिपय महिलाहरुले पनि मेरो पेज लाईक गरेका छन् । त्यसमा म देख्छु, ‘हरेक १० मिनेटमा महिलाहरुले सेल्फी लिएर अपलोड गरिरहन्छन् ।’ तपाईहरुलाई म सत्य बताउन चहान्छु । फेसबुकमा ती सुन्दरीहरुको तस्विर हेरर मेरो मनमा त्यही भाव जाग्छ, जुन भाव ऐनामा पद्मिनीलाई देखेर अलाउद्दिन खिल्जीको मनमा जागेको थियो । केही सुन्दरीहरुसँग त प्रत्यक्ष भेट नै भयो । बडो धोका भयो साहव । जसलाई मैले पद्मिनी ठानेको थिए–उ त स्वयं अलाउद्दिन खिल्जी जस्तै रहिछिन् ।
बडो धोकाको संसार छ हजुर–‘सोसल मिडिया’ । तर यसको केही फाईदा पनि छन् । पहिलो फाईदा मानिस घरमै बसेर आवारापन देखाउन सक्छन् । सोसल मिडियाको सबैभन्दा ठूलो फाइदा भयो ,‘बेरोजगारी पुरै अन्त्य भयो ।’ किनकी हरेक हातले काम पायो । दिनभरी किवोर्डमा औंला चलिरहन्छ । एसएमएस गर्नेलाई के थाहा ! उहिले प्रेमपत्र लेख्दा कसरी प्रेमिलहरु मुटु झिकेर पत्रमा पठाउँथे । भलै पत्रमा व्याकरण अशुद्ध हुन्थ्यो तर आचरण शुद्ध थियो ।
आम सञ्चार माध्यम
टेलिभिजनको त के कुरा गरौं हजुर । प्रशंसा हुने काम गरिरहेका छन् । न्युज च्यानलहरुमा हुने बहसलाई हेर्नुहोस् । उहिले अवधका नवाबहरुले मनोरञ्जनका लागि कुखुरा जुधाए जस्तो । बहसमा ४ जना हुन्छन् । एक मुद्दाको समर्थक,एक मुद्दाको विरोधी,अर्को एक बुद्धिजीवि दुबैलाई उचाल्ने अनि अर्को एक जना प्रस्तोता तीनैजनालाई भडकाउने । बहसको विषय हुन्छ– ‘गरिबीको रेखा’ तर बहस भइरहेको हुन्छ, ‘रेखाको गरिबीमाथी’ । पछिल्लो १२÷१५ वर्षमा विद्युतिय सञ्चारमाध्यमहरुले गरेको अपराध के हो भने, ‘जुत्ता बनाउने हातहरु भोकै मर्दैछन् तर जुत्ता खाने व्यहोराहरु सेलिब्रेटी बनाइए ।’ एकताका टेलिभिजनको होइन रेडियोको युग थियो । हामी यसरी निहुरिएर ‘विविसी’ सुन्थ्यौं जसरी आज पत्नीले भनेको सुन्छौ । टेलिभिजनले गरेको नोक्सान के हो भने मनुष्यको सुन्ने कलालाई हेर्ने कलामा परिवर्तन गरिदियो ।
केही आशा अखवारबाट थियो । त्यो पनि डुब्दै छ । अखवार पनि टेलिभिजनसँग प्रतिस्पर्धामा उत्रियो । अखवारमा पनि ‘शब्दहरु घट्दै छन्,चित्रहरु बढ्दै छन् ।’ भारतमा अखवार तीन चजिका लागि पढिन्छ । ‘लोडसेडिङ्गको तालिका र राशिफल’ को लागि अखवार सर्वाधिक हेरिन्छ । तर पनि दैनिक नै नयाँ अंक छापिन्छ । एक दिन अखवारको कार्यालयबाट एक जना आइपुगे– भने, सम्पत जी नयाँ अखवार लञ्च भएको छ, ग्राहक बनिदिनुस् ।
अखवारको अब कोही पाठक छैनन् । जो छन्–ग्राहक नै छन् । एक रुपियाँमा १६ पातोको पत्रिका । तपाई ग्राहक बन्नुस् भन्ने आग्रह सुनेपछि मैले भने, ‘बरु २ रुपैयाँ लानुस् तर १६ पाना खाली दिनुस् ।’ त्यसपछि मैले अनुसन्धान गरे, किन अखवार यति धेरै बिक्री हुन्छ ? एक दिन अचानक अखवारको कार्यालयबाट फोन आयो । भन्यो, सम्पत जी आजको अखवारमा तपाईको नाम छापिएको छ । मैले भने पत्रिका कहाँ पाईएला ? उत्तर आयो जसको नाम पत्रिकामा छापिन्छ उनीहरुले नै पत्रिका किनेर बाँड्छन् । पत्रिका बाँड्ने छुट्टै हकर छैन ।
प्रस्तुति– अर्जुन थपलिया