शिलु अधिकारी
काठमाडौं । देशले रगत मागे, बनेको छ पहाराले, मेरो टोपी कैलाशको शरीर जस्तो, पश्चिम कोही पूर्व घर, नेपाली नेपालको माया छ कि छैन लगायतका सदाबहार गीतका स्रष्टा गोपाल योञ्जनको आज ७६ औं जन्म जयन्ती ।
राष्ट्रप्रेमका गीतहरुका स्रष्टाको रुपमा चिनिन्छन् गोपाल योञ्जन । नेपालको सांगीतिक आकाशमा गोपाल योञ्जनलाई एक ध्रुवताराका रूपमा लिइन्छ । उनका प्रायः गीतहरुले देशीय स्वभाव र एकात्मकताको सन्देश बोकेका छन् । भारतको दाजिर्लिङमा वि.सं. २००० भदौ शुक्ल पूर्णिमाका दिन जन्मेका संगीत स्रष्टा गोपाल योञ्जनले नेपाललाई नै कर्मभूमि बनाए । भारतको दाजिर्लिङमा स्वर सम्राट नारायण गोपालसित उनको मित्रता बढेपछि नारायण गोपाल र गोपाल योञ्जनले एकापसमा मीत लाएका थिए ।
सानैदेखि गीतसंगीतमा गहिरो रुचि राख्ने गोपाल योञ्जन नारायण गोपालकै सल्लाहमा नेपाल आई संगीत कर्ममा लागेका थिए । बि.सं. २०३० सालमा दार्जिलिङवाट नेपाल आएका योञ्जनलाई नेपाल ल्याउन उनका सहपाठी गीतकार नागेन्द्र थापाले विषेश पहल गरेका थिए ।वाद्यवादकका रुपमा संगीत जगतमा प्रवेश गरेका गोपालले सिर्जना गरी तयार पारेका धुनका निम्ति कसैले रचना नदिएपछि गोपाल आफैंले कलम अघि सारे र आफ्नै रचनामा गीत लेख्न सुरु गरेका थिए ।
नेपाल आएपछि आधुनिक संगीतका लागि जुटेका योञ्जनले नारायण गोपालसँग केही समय काम गरे । चलचित्र ‘सिन्दुर’ मा संगीतकारको भुमिका निर्वाह गरेका योञ्जनले त्यसपछि बदलिंँदो आकाश, पहिलो प्रेम, मायाप्रीति लगायत दर्जन बढी चलचित्रमा काम गरे । यी सबै चलचित्रमा योञ्जनसँगै नारायण गोपालको पनि संलग्नता थियो । पछि अर्को चलचित्र ‘विश्वास’ मा काम गर्ने क्रममा योञ्जन र नारायण गोपालको सम्बन्ध टुट्यो । त्यसपछि उनले पछिल्ला पुस्ताका सर्जकसँग काम गर्न थाले ।
वाद्यवादकका रुपमा संगीत जगतमा प्रवेश गरेका गोपालले सिर्जना गरी तयार पारेका धुनका निम्ति कसैले रचना नदिएपछि गोपाल आफैंले कलम अघि सारे र आफ्नै रचनामा गीत लेख्न शुरू गरे
गीत तथा संगीत सिर्जनाको कुरामा कहिल्यै पनि कुनै पनि खालको सम्झौता गर्न नचाहने योञ्जनले गीतसंगीत क्षेत्रमा पुर्याएको अतुलनीय योगदानबापत उनलाई राज्यको तर्फबाट शुभ राज्याभिषेक पदक, गोरखा दक्षिणबाहु जस्ता विभूषणबाट विभूषित गरिएको थियो भने दार्जिलिङमा सम्पन्न भएका थुप्रै सांगीतिक प्रतिस्पर्धामा उनले प्रथम पुरस्कार जितेका थिए । उनले सन् १९६८ मा रेडियो नेपालबाट उत्कृष्ट संगीतकारको पुरस्कार हासिल गरेका थिए । लायन्स क्लब फिल्म अवार्ड, प्रिया रजत वर्ष अवार्ड, डोरेमी सम्मान र छिन्नलता पुरस्कार आदि उनले प्राप्त गरेका केही सम्मान र पुरस्कारहरू हुन् ।
अमेरिकाको कोर्नेल युनिभर्सिटी लाइब्रेरीले उनका गीतसंगीतहरूको संग्रहलाई आफ्नो पुस्तकालयमा संग्रहित गर्ने घोषणा गरेको छ । विश्वको इतिहासमा समेत अभिलेखबद्ध हुन पुगेका कालजयी संगीतज्ञ गोपाल योञ्जनको विसं २०५४ जेठ ७ गतेका दिन भारतको दिल्लीस्थित अपोलो अस्पतालमा जन्डिस रोगको उपचार गर्दागर्दै निधन भएको थियो ।
जनस्तरबाट नेपाली संगीत क्षेत्रका संगीत सम्राटले सम्बोधित गोपालको स्मृति दिवस मनाउन राज्यले कुनै चासो लिएको पाईंदैन । यस्तै गीतसंगीतसंग सम्बन्धित संघ संस्थाले पनि खासै वास्ता गरेको पाईंदैन । नेपाली संगीतमा योञ्जनको योगदान अतुलनीय छ । थुप्रै कालजयी गीतहरु नेपाली संगीत क्षेत्रका लागि दिएका उनलाई जति सम्मान दिइनुपर्ने हो त्यो भने दिन नसकेको सर्जकहरुको गुनासो रहँदै आएको छ ।