शिलु अधिकारीकाठमाडौं । पछिल्लोसमय कलाकारहरुलाई आफ्नो सिर्जना स्रोता दर्शकमाझ ल्याउन पहिलेजस्तो गाह्रो छैन । कुनै सिर्जना स्रोता दर्शकमाझ ल्याउन फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालका कारण निकै सहज बनेको छ । युट्युबबाटै राम्रो आम्दानी हुने भएपछि कलाकारहरु हौसिएका छन् । अधिकांश कलाकारले आफ्नै युट्युव एकाउन्ट सञ्चालनमा ल्याएका छन् ।
विभिन्न म्युजिक कम्पनीबाट सिर्जना सार्वजनिक गर्दै आएका कलाकारहरुले उचित प्रतिफल नपाएपछि अहिले आफ्नै अकाउन्टबाट सिर्जना सार्वजनिक गर्न थालेका छन् । अहिले युट्युवको कारण कलाकारहरुलाई सजिलो भएको छ । युट्युवबाट हुने आम्दानीबाट नयाँ सिर्जना सार्वजनिक गर्न सहज भएको कलाकारहरु बताउँछन् । अहिले सुगम पोखरेल, प्रमोद खरेल, एड्रियन प्रधान, फिरोज स्याङ्देन, मेलिना राई, बाबु बोगटी, प्राश्ना शाक्य, तृष्णा गुरुङ, सुनिल गिरी, कमल खत्री, कमल के क्षेत्री, टीका प्रसाईं, सञ्जिव पराजुली, निशा देशार, आस्था राउत लगायतका प्रायःजसो कलाकारहरुले आफ्नै युट्युव अकाउन्ट सञ्चालन गरिरहेका छन् । उनीहरुले आफ्ना नयाँ नयाँ सिर्जना आफ्नै एकाउन्टबाट अपलोड गर्न थालेका छन् ।
नयाँ सिर्जना सार्वजनिक गर्न पनि सहज
गायक कमल के.क्षेत्री कलाकारले आफ्नो पहिचानका निम्ति पनि निजी युट्युव च्यानल हुन जरुरी भएको बताउँछन् । यसबाट कलाकारको भविष्य सुरक्षित हुने आशा गर्न सकिने उनको धारणा छ । गायक सुनिलसिंह ठकुरीले युट्युव कलाकारको कमाई खाने आधार बन्न सक्ने भएकोले आफूले पनि निजी अकाउन्ट खोलेको बताए । गायक भीम तुलाधर पनि कलाकारहरुले युट्युवको महत्वलाई बुझेर अघि बढ्नैपर्ने आवश्यकता रहेको औंल्याए । सबैको व्यस्तताको कारण रेडियो , टिभीभन्दा युट्युव सहज माध्यम भएको उनको धारणा छ।
गायक सञ्जीव पराजुलीले नाई मलाई थाहा छैन गीत आफ्नै च्यानलबाट अपलोड गरेका थिए । जुन गीत अहिलेसम्म २ करोड बढी पटक हेरिसकिएको छ । गायनमा टीका प्रसाईंले पनि उनलाई साथ दिएकी थिइन । गायक पराजुली आफ्नै च्यानलबाट गीत अपलोड गर्दा त्यसको आर्थिक लाभसंगै गीतको सफलताको बारेमा डिटेलमा बुझ्न पाउने बताउँछन् ।
नाई मलाई थाहा छैन गीतले राम्रो मुनाफा आर्जन गरेपछि गायिका टिकाले पनि आफ्नै च्यानलबाट पछिल्लो गीत माया लुकी लुकी सार्वजनिक गरिन् । जसले २ करोड बढी भ्यूज प्राप्त गरिसकेको छ । टिका पनि आफ्नै च्यानलबाट गीतहरु अपलोड गर्दा धेरै झमेला नपर्ने तथा त्यसको सम्पूर्ण मुनाफा आफैले उपभोग गर्न पाउने बताउँछिन् ।
आफ्नो सिर्जना आफ्नै एकाउन्टबाट राख्दा उक्त सिर्जनाको आम्दानी विशुद्धरुपमा आफूले मात्र उपभोग गर्न पाउने भएकोले हरेक कलाकार आफ्नै युट्युव एकाउन्ट सञ्चालनमा लागेको गायक उदेश श्रेष्ठ बताउँछन् । यसले कलाकारहरुलाई सहज भएको उनको अनुभव छ । पछि गएर आफ्ना सन्ततिले समेत उक्त सिर्जनाहरुको रोयल्टी उपभोग गर्नसक्ने र आफ्नो सिर्जनाको संरक्षण समेत गर्न सकिने गायक उदेश्यले बताए ।
कलाकारकाे पहिचानका निम्ति पनि निजी युट्युव च्यानल जरुरी
यता गायक सुनिल गिरी पनि आफ्नो यूट्यूब च्यानलबाट भएको सोलिड आम्दानीको कारण नयाँ नयाँ सिर्जनाहरु निर्माण गर्न सहज भएको बताउँछन् । सुनिलले सिर्जनाको सर्वाधिकार आफैमा रहने हुँदा भावी दिनमा कुनै समस्या झेल्नु नपर्नेे धारणा राख्दै फ्यानहरुको सम्बन्धित कलाकारसंग सहज पहुँच पुग्ने भएकोले कलाकारलाई पनि अझै फाईदा पुग्ने बताए । करिब १ वर्ष मै १÷२ वटा सिर्जना बाटै ६ लाख कमाई भएको पनि सुनिलले बताए ।
विगतका वर्षदेखि आफ्नै च्यानलबाट गीतहरु अपलोड गर्दै आएका गायक कमल खत्री आफूलाई यूट्यूबबाट राम्रो आम्दानी हुनेमा पहिले विश्वास नलागेको तर मनिटाईज भएपछि मात्र विश्वास लागेको बताए । पछि आफूलाई अलि अगाडि नै च्यानल खोलेको भएहुन्थ्यो भन्ने लागेको अनुभव उनले सुनाए। सामाजिक सञ्जाल युट्युव च्यानलको कारण हरेक कलाकारलाई नयाँ नयाँ सिर्जना बाहिर ल्याउन केहि हदसम्म टेवा पुगेको छ। कलाकार र स्रष्टाहरुले उचित रोयल्टी नपाएको गुनासोहरु सुनिरहेका बेला यसले कलाकारहरुलाई आर्थिक राहत दिनुको साथ उत्साहित पनि बनाएको छ ।