भगीरथ भण्डारी
इलाम । दुर्लभ वन्यजन्तुको सूचीमा सूचीकृत भएको रेडपाण्डा (हाब्रे) सङ्कटमा पर्न थालेको छ ।
कुकुरको आक्रमण र रेडपाण्डाको आहारा मानिसले तरकारी खानुका साथै बिक्री गर्न साथै घरपालुवा कुकुरको आहारा बन्न थालेपछि रेडपाण्डा सङ्कटमा परेको हो ।
इलामको सन्दकपुर गाउँपालिकाको मामु दोभाने, जाैवारी, हाँगेथाम, जमुनाको चोयाटार, माईजोगमाई गाउँपालिकाको प्याङ पातला सामुदायिक वन, जोगमाईको माथिल्लो सामुदायिक वनलगायतमा पाइने मालिंगो र भालुचिण्डेको टुसा भाँचेर स्थानीयले तरकारी खाने र टुसा विक्री गर्न थालेपछि रेडपाण्डा सङ्कटमा पर्न थालेको हो ।
लजालु स्वभावको भएको रेडपाण्डा कुकुरले सजिलै आफ्नो आहारा बनाउन सक्ने भएपछि सोही कारणले पनि यसको सङ्ख्यामा वृद्धि हुन सकिरहेको छैन । केही वर्ष अगाडि रेडपाण्डाको सङ्ख्या वृद्धि गर्न ‘मालिंगो रोपौँ, रेडपाण्डा जोगाउन्’ भन्ने अभियान चलाइएको भए पनि अभियानले सार्थकता पाउन सकेको छैन ।
रेडपाण्डा पाउने ठाउँका सामुदायिक विद्यालयमा रेडपाण्डाको बारेमा जनचेतनाको कार्यक्रम सञ्चालन गर्दै आए पनि वनभित्र छिरेर मालिङ्गोको टुसा र भालुचिन्डे भाँच्ने कार्य नरोकिएका कारण रेडपाण्डाको आहारा मासिन थालेपछि रेडपाण्डा संकटमा परेको हो । मालिंगोको टुसाको बजारमा राम्रै मूल्य भएपछि यसको ब्यापार नेपालमा मात्र हैन भारतका विभिन्न ठाउँमा समेत हुने गरेको छ ।
सामुदायिक वनमा मालिङ्गोको टुसा र भालुचिण्डे खोज्न कडाइ गरिए पनि छिटफुट छिरेर भाँच्ने काम भइरहेको प्याङ पातल सामुदायिक वनका अध्यक्ष कुमार बुढाथोकीले बताए ।
रेडपाण्डा संरक्षणकै लागि रेडपाण्डा पाउने क्षेत्रका सवै सामुदायिक विद्यालयमा रेडपाण्डासम्बन्धी पाठ्यक्रम समावेश गर्ने योजना रेडपाण्डा नेटवर्कले बनाएको छ । हाल सन्दकपुर गाउँपालिका ५ जमुना इङलाको राष्ट्रिय आधारभूत विद्यालयमा पठनपाठन सुरु भएको छ ।
स्थानीय भाषामा हाब्रेको नामले चिनिने कालो, रातो र सेतो रङ मिसिएको हुन्छ भने पुच्छर ठूलो र लामो गरेको बिरालो जस्तै हुन्छ । पोथी रेडपाण्डाको तौल ३ देखि साढे ४ किलोसम्म हुन्छ भने भाले रेडपाण्डाको तौल ६ किलोसम्मको हुन्छ । समुन्द्री सतहको १६ सय मिटरदेखि २४ सय मिटरसम्म यसको बासस्थान उपयुक्त मानिन्छ । रेडपाण्डा पूर्वि पहाडका इलाम, पाँचथर र ताप्लेजुङमा पाइन्छ ।