हुमाकान्त पोखरेल
गुल्मी । अहिले जिल्ला–जिल्लामा महालेखा परीक्षण (मलेप) गर्नेको चटारो छ ।
केही स्थानीय तहको अहिले सदरमुकाम तम्घासमा मलेप भइरहेको छ । भने केही सदरमुकाम आउन स्रेस्ता कुम्लो पार्दैछन् । मलेप सम्बन्धित कार्यालयमा पुगेर गर्नुपर्ने कानुनी व्यवस्था छ तर काठमाण्डौंबाट आएको महालेखा परीक्षकको एउटा टोलीले सदरमुकाम तम्घासमै बसेर मलेप गरिरहेका छन् । जिल्लाका दुई नगर र १० गाउँपालिकामा महालेखा परीक्षकको कार्यालयका निर्देशक बलबहादुर कार्की र दिव्य दर्शन अधिकारीको दुई टोलीले मलेप गर्दैछ ।
कार्कीले जिल्लाको मुसिकोट नगरपालिका, गुल्मी दरबार, छत्रकोट, इस्मा, चन्द्रकोट र काली गण्डकी गाउँपालिकामा मलेप गर्दैछ । भने अर्को निर्देशक दिव्यदर्शन अधिकारीको टोलीले रेसुंगा नगरपालिका, मालीका, मदानी, धुर्कोट, सत्यवती र रुरू गाउँपालिकामा मलेप गर्दैछ ।
त्यस मध्येका निर्देशक अधिकारीको टोलीले सोमबारदेखि सदरमुकाम तम्घासको साबिकको प्राविधिक कार्यालममा रेसुंगा नगरपालिका र सत्यवती गाउँपालिकाको मलेप गरिरहेको छ । निर्देशक अधिकारीले आफूहरू गाउँमै जाने भनेर आए पनि दुर्गम र बर्खाको कारण सदरमुकामै मलेप गर्न थालेको बताए । आफूहरूले गर्ने जिम्मा पाएका स्थानीय तह मध्ये रुरू र धुर्कोट बाहेक अरूलाई सदरमुकाममै बोलाएको अधिकारीले बताए ।
त्यस मध्येका अर्का टोलीका निर्देशक कार्कीले छत्रकोट गाउँपालिका सकेर अहिले गुल्मी दरबार गाउँपालिकाको मलेप गरिरहेको छ । निर्देशक कार्कीले मलेप सम्बन्धित कार्यालयमै गएर गर्नुपर्नेमा स्वीकार गर्छन् । कार्कीले कुनै ठुलो समस्या परे मात्रै समन्वय गरेर सदरमुकाममा गर्न सक्ने भए पनि कार्यालयलाई फाइल बोकेर आउन मुस्किल पर्ने बताए । ‘अहिले दुई स्थानीय तहको काम गरिरहेका छौ, सकेसम्म गाउँ पुगौँ भन्ने हो,’ उनले भने,‘ समस्या परे सदरमुकाम बोलाउँछौ ।’
गाउँको काम सदरमुकाममा मलेप सुहाएन : जनप्रतिनिधी
सत्यवति गाउँपालिका प्रमुख पारिश्वर ढकालले पहिले मलेपको टोलीले आफुहरुलाई गाउँमै आउने जानकारी गराएपनि पछि सदरमुकाम तम्घासमै बोलाएकाले कर्मचारी फाइल बोकेर गएको बताए । उनले पनि काम भएकै ठाउँमा गएर महालेखा परिक्षण गर्नुपर्ने बताए । त्यस्तै इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले पनि पहिले आफुहरुलाई १२ भदौको मिति दिएपनि पछि सदरमुकाममै आउन भनेकाले कर्मचारीहरु तम्घास जाने तयारी गरिरहेको बताए ।
उनले पनि गाउँमा भएको काम कारबाहिको सदरमुकाममा बिल हेरेर मात्र मलेप नहुनेमा जोड दिए । ‘महालेखा परिक्षकको कार्यालयको सुचनानै भरपर्दो भएन, कहिले गाउँ कहिले तम्घास ?उनले भने,‘ मलेप कागजी प्रक्रिया हेर्ने मात्र हैन ।’ त्यस्तै एकिकृत ग्रामिण विकास समाजका अध्यक्ष हिरा एसीले पनि स्थानीय तहमा भैरहेको खरिदका बारेमा चर्को आलोचना भैरहेका बेला जिल्लामा मलेप हुनु दुखद पक्ष भएको बताए । ‘गाउँमा किनेको सोफा वा फर्निचरको अवस्था मलेपलाई तम्घासमा के थाहा ? सामग्री ल्याउने कुरा भएन,’उनले भने,‘ बिल जस्तो पनि हुन्छ ।’ उनले अहिले जिल्लाका धेरै स्थानीय तहमा गाडी पुग्ने र पानी पनि त्यति नपरेकाले समस्या नभएको बताए ।
गाउँ जान निर्देशन भएको छ: प्रजिअ
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले आफुले शुरुमा गाउगाउँमै पुगेर मलेप गर्न निर्देशन दिएको बताए । उनले कार्यालयका सुविधाका लागि भन्दा मसिनो गरि कार्यालयका आर्थिक गतिविधी हेर्न भनेको बताए । ‘जिल्लामै बसेर मलेप गर्ने भए स्थानीय तह पोको बोकेर काठमाण्डौं गए भयो,’उनले भने,‘मैले फेरि फोन गरेर पनि गाउँ नै जान भन्छु ।’ कोष तथा लेखा नियन्त्रक सशिन्द्र खातीका अनुसार स्थानीय सरकारले गाउँ सभा, ऐन नियम र कार्यक्रम अनुसारको बजेटको श्रेस्ता र खरिद बिक्रीको लेखाजोखा गरिन्छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलले टोलीलाई गाउँ पुग्न गाह्रो परे खबर गर्न समेत भनेको बताए ।