वीरेन्द्रनगर । केही वर्षअघिसम्म दुई–चार जनाको जमातमा उभिएर बोल्न उहाँलाई संकोच लाग्थ्यो । महिला, त्यसमा पनि दलित समुदायको । बोल्दा गलत भइहाल्ने हो कि भन्ने चिन्ता उहाँलाई भइरहन्थ्यो । एक वर्षयतादेखि उहाँले कार्यपालिका सदस्य भएर सिंगो नगरपालिका नै हाँकिरहनुभएको छ । नगरका मुख्य योजना बनाउने काममा पनि अग्रपंक्तिमै हुनुहुन्छ उहाँ । गुुुुर्भाकोट नगरपालिकाको कार्यपालिका सदस्य हुनुभएपछि पैंतीस वर्षीया सरस्वती नेपाली अहिले ढुक्कसँग बोल्न मात्र होइन सजिलैसँग सभामा पनि आफ्ना विचार राख्न सक्नुहुन्छ ।
अहिले उहाँको हस्ताक्षर बिना योजना नै बन्दैन । त्यसैले गाउँका पुरुषहरुले पनि उहाँको सरसल्लाह लिन थालेका छन् । ‘नीति निर्माण र योजना बनाउने ठाउँमा पुुुुगेपछि सबैले हेर्ने दृष्टिकोणमा फरक देखेकी छुुुु,’ उहाँले भन्नुभयो – ‘दलित भनी घृणा गर्नेहरु अहिले नमस्कार भन्न थालेका छन् ।’ श्रीमती तथा बुहारीको नातामा सीमित परिचय वडाको सदस्यसम्म पुग्न कम्ता संघर्ष गर्नुपरेन सिम्ता गाउँपालिकाका नम्रता लोहारलाई । दिउँसो बैठक हुने दिनमा बिहानै उठेर त कहिले राति अबेरसम्म तयारी सकेर भएपनि उहाँ समय निकाल्नुहुन्छ । घरपरिवारको सहयोगले कामलाई निरन्तरता दिँदै गएपछि अहिले सफलता मिलेको उहाँ बताउनुहुन्छ । उहाँको काम देखेर पूरै परिवार खुशी छन् । घरायसी अथवा मेलापातको काममा मात्र घरबाहिर निस्कने नम्रता अहिले विभिन्न योजनाका काम लिएर जाने गर्नुहुन्छ ।
‘पहिले हाम्रा अगाडि नपत्याएर होच्याउने र छाडा बोल्ने पुरुषहरु अहिले राम्रोसँग बोल्नुहुन्छ,’ उहाँ भन्नुहुन्छ – ‘हामीलाई नपत्याउने व्यक्तिहरुले हामीलाई नमस्कार भन्न थालेका छन् ।’ त्यतिमात्र होइन अहिले अन्य जातिका व्यक्तिहरु आफूसँग सँगै बसेर खाना खान थालेकामा उहाँ खुशी हुनुहुन्छ । काखमा दुधेबच्चा च्याप्दै सोही गाउँपालिकाकी राधिका नेपाली पनि वडाका बैठकमा सहभागी हुन थाल्नुभएको छ । उहाँ वडाका लागि आवश्यक पर्ने योजनाहरुबारे निर्णय लिने छलफलहरुमा पनि सहभागी हुनुहुन्छ । बुहारीको परिचयमा सीमित उहाँ विभिन्न कार्यक्रममा वडा सदस्यको परिचय दिन पाउँदा खुशीको अनुभव गर्नुहुन्छ । त्यसमाथि पनि गाउँका पहिले दलित भनेर हेयको दृष्टिले हेर्ने पुरुषहरुले नै नमस्कार गर्दा उहाँको मन गद्गद् हुन्छ । बर्षौसम्म पुरुषहरुले नेतृत्व गरेको पदमा काम गर्न सकिँदैन कि भन्ने त्रास थियो तर पनि हिम्मत नहारेर पद सम्हाल्दैआएको उहाँ बताउनुहुन्छ । घरायसी सानोतिनो काममा निर्णय नगर्नुभएकी उहाँलाई एक्कासी पद सम्हाल्न चुनौती थियो । महिला दिदीबहिनीले साथ दिएपछि सफल भएको उहाँको भनाइ छ । अझै अगाडि बढेर पछि परेका दलित महिलाको हकअधिकार र उनीहरुलाई अगाडि बढाउन लागिपर्ने उहाँको चाहना छ । नेतृत्वमा आएपछि आफूहरुमाथि पहिलेको जस्तो छुवाछूत र विभेद कम भएको उहाँ ठान्नुहुन्छ ।
‘हामी कमजोर र नेतृत्व तहमा नभएका कारण नै हामीमाथि छुवाछूत र विभेद गरिएको रहेछ,’ उहाँले भन्नुभयो । निर्णायक पदमा पुगेपछि समाजले हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको वीरेन्द्रनगर नगरपालिकाका वडा सदस्य बुद्धिसरा विकको अनुभव छ । ‘नेतृत्व तहमा पुगेपछि मसँग आशा गर्नेहरु धेरै छन्,’ उहाँले भन्नुभयो – ‘त्यसैले गर्दा पनि मप्रतिको उनीहरुको व्यवहारमा फरक छ । अहिले सबैको अगाडि बोल्दा सबैले कदर गर्ने गरेका छन् ।’ दलित महिला नेतृत्वमा आएपछि उनीहरुमाथि हुने छुवाछूत जस्ता विभेद हटेको अनुभव गरेका यी प्रतिनिधि महिला हुन् । नेतृत्वमा पुगेपछि आफूहरुमाथि समाजले आदर गर्नुका साथै छुवाछूत जस्ता विभेदहरु हटेको अनुभव जिल्लाका नौ वटा स्थानीय तहका ९९ वटा वडामा नेतृत्व गरेका महिला वडा सदस्यहरुको अनुभव छ । पहिले महिला त्यसमाथि पनि दलित भनेपछि कुनै पनि निकायमा उनीहरुको वास्तै हुँदैन्थ्यो । तर, अहिले दलित सदस्यको घरघरमा पुगेर भए पनि योजनाको बारेमा पुरुष सहकर्मीहरु सरसल्लाह लिन पुग्छन् । यसरी घरमा आएकाहरुसँगै बसेर खाना खान थालेको वडा सदस्य राधिका बताउनुहुन्छ । उहाँले भन्नुभयो – ‘पहिले खाना खानु भन्दा बहाना बनाएर जान्थे तर, अहिले सँगै बसेर खान थालेका छन् ।’
दलित महिलामाथि हुने विभेदमा विस्तारै कमी आएको लेकवेसी नगरपालिकाका नगर प्रमुख गगनसिंह सुनारले बताउनुहुन्छ । नेतृत्वमा आएपछि दलित महिलाहरु सशक्त हुनाको साथै उनीहरुको कदर पनि हुन थालेको सुनारले बताउनुभयो । अहिले जिल्लाका ९९ वडामा १९९ दलित महिला जनप्रतिनिधि छन् । जनप्रतिनिधि मात्र होइन समुदायको अन्य स्थानीय संरचना तथा निकायहरुको नेतृत्व गर्दै आएका दलित महिलाहरुमाथि गरिने व्यवहारमा पनि परिवर्तन आएको छ । त्यसकै प्रतिनिधि पात्र हुनुहुन्छ गुर्भाकोट नपा वडा नं ३ की मुसी बाँठा । उहाँ गाउँकी स्वयंसेविका हुनुुहुन्छ । गाउँमा स्वास्थ्य समस्या भएमा, गर्भवती भएमा तथा परिवार नियोजनको सल्लाह लिनुपरेमा गाउँभरिका मानिस उहाँको घर जान्छन् । नेतृत्वको अवसरले गर्दा उनीहरुको आत्मबल बढेको प्रावि विद्यालयमा अध्यापन गराउँदै आउनुभएकी शिक्षक चन्द्रावती खत्रीले बताउनुभयो । घरपरिवारको काममा मात्र सीमित महिलालाई घरबाहिरको काममा पनि सहभागी गराए उनीहरुमा आत्मविश्वास बढ्नाको साथै समस्या समाधान गर्ने क्षमता पनि बढ्छ ।
अझै पनि दलितहरुमाथि हुने विभेदका घटनाहरु उस्तै भएपनि नेतृत्व तहमा पुगेका महिलाहरुमाथि छुवाछूतको व्यवहार नभएको गुर्भाकोट नपाका उपप्रमुख मैना बिक बताउनुहुन्छ । कानूनको डरले गर्दा पनि पछिल्लो समय दलितमाथि हुने विभेदका घटनामा केही कमी आएको उपप्रमुख मैनाले बताउनुभयो । दलित महिला नेतृत्वमा पुगेपछि पछिल्लो समय दलित महिलाको हकहितका लागि योजनाको साथै कार्यक्रमहरु पनि सञ्चालनमा आएका छन् ।