विचार बिश्लेषणमुलुकमा पछिल्लो समय आफूले गरेका कामको श्रेय र अरुले गरेका काममा ‘डोमिनेसन’ले हरेक क्षेत्रमा राजनीतिक प्रतिशोध झांगिएको छ । हत्या, हिंसा, बलात्कार, आपराधिक क्रियाकलापमा राजनीतिले प्रसय जमाएपछि न्याय सम्पादनमा कठिनाइ उत्पन्न भएको छ । दुःख कहाँनिर छ भन्दा बलात्कारीलाई फाँसी सजाय माग गर्दै भर्खर मुण्डन गरेकी सावित्री सुवेदीको अभियान कतातिर गइरहेको छ ? उनले निर्दोषलाई फाँसीमा झुण्ड्याउन त खोजिरहेकी छैनन् ? यो प्रश्न अनुत्तरित रहनेछ, जबसम्म लासमाथिको राजनीति हट्दैन ।
मुलुकमा केही समय यता पनि दर्जनौँ घटना भइसकेका छन् तर ती घटनाको फैसलाप्रति जनता सन्तुष्ट छैनन् । हरेक समय प्रहरीमाथि सर्वसाधारणको विश्वास गुम्दै गएको छ । जघन्य अपराधका घटनामा जनताले विश्वास नगर्नु पनि राजनीतिक खिचातानी नै हो । कसैलाई संरक्षित गर्न खोजिन्छ भने ‘न्याय’ले कहिल्यै न्याय पाउने छैन । न्याय दिने निकायलाई पनि दबाब र अतिरञ्जित पार्न खोजिन्छ भने त्यहाँ न्यायको कल्पना पनि गर्न सकिदैन ।
परिष्कृत हुँदै गएको समाजमा दिनप्रतिदिनका घटनाले पछिल्लो पुस्तालाई झनै जटिल मोडमा धकेलेको छ । उनीहरुको मानस्पटलले दिनहुँ हत्या, हिंसा, बलात्कारबाहेक अरु सुन्न सकिरहेको छैन । एक सम्पादकले डेक्समा बसेर दिनहुँ बलात्कारका घटनामा कोण–प्रतिकोणमा तर्क ग्रहण गरिरहेको हुन्छ । विचार बनाइरहेको हुन्छ । सुन्दर समाज निर्माण गर्ने अठोट र संकल्प बोकेका ती सम्पादक बलात्कार र अपराधका घटना नियाल्दा–साक्षी बस्दा आफ्नो कपाल फुलेको पत्तो पाउँदैनन् । अहिले बढिरहेका आपराधिक क्रियाकलापले समाज विभत्स बनेको छ । मानिसले कतै पनि सुरक्षा महसुस गरेको छैन । न्यायिक निकायको मौनताले मुलुकमा सन्नाटा छाएको छ ।
यतिमात्र होइन न्याय गरिब, दुःखीका लागि नभइ हुनेखानेहरुका लागि मात्रै हो कि भन्ने भान पछिल्लो समय हुँदैछ । टाउको मुण्डन, अर्धनग्न प्रस्तुतीले न्याय होइन अराजकता निम्त्याएको छ समाजमा । अहिलेको अराजक परिस्थिति अन्त्य नहुने हो भने अपराधी होइन निर्दोष फाँसीमा झुण्डिनेछ । यो बहस समाज सुधारमा चलाउनु बेस छ, लाग्छ फाँसी समस्याको समाधान होइन, ‘सिस्टम’ सुधार महत्वपूर्ण हो । फाँसी चढाइने मुलुकमा आपराधिक क्रियाकलाप घटेका छैनन् ।