विकास पराजुलीबुटवल । म्यानमारका राष्ट्रपति विन मिन्टले बुद्धजन्मस्थल लुम्बिनीको भ्रमण गरी काठमाडौं फर्केका छन् । काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) सम्मेलनमा सहभागी हुन आएका राष्ट्रपति मिन्त बुधबार चार्टर विमान मार्फत लुम्बिनी भ्रमणमा आएका हुन ।
विहान ११ बजे लुम्बिनी आएका मिन्टले मायादेवी परिसरमा ४५ मिनेट विताएका थिए । विमस्टेक सम्मेलनका लागि नेपालमा आएका म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौंबाट चार्टर विमानमा ३८ जनाको टोलीसहित भैरहवा विमानस्थलमा आएका थिए । भैरहवा विमानस्थल बाट हेलिकप्टरमा लुम्बिनी आएका राष्ट्रपति मिन्तलाई पर्यटन मन्त्री रविन्द्र अधिकारी र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रदेश प्रमुख उमाकान्ता झा र लुम्बिनी विकास कोषका उपाध्यक्ष अवदेश त्रिपाठीले स्वागत गरेका थिए ।
राष्ट्रपतिले मायादेवी मन्दिरमा केही बेर पूजाआजा गरेपछि पश्चिम तर्फ रहेको पोखरी नजिक औपचारिक कार्यक्रममा सहभागि भएका थिए । सोही अवसरमा राष्ट्रपति मिन्तलाई लुम्बिनी गुरु योजनाको बारेमा लुम्बिनी विकास कोषका सूचना अधिकृत हरिध्वज राईले जानकारी गराएका थिए । त्यस्तै लुम्बिनीको साँस्कृतिक महत्वको बारेमा पूरातत्वविद् वसन्त विडारीले जानकारी गराई । मायादेवी परिसरबाट बाहिरिएपछि राष्ट्रपति मिन्त मोनाष्टी गुम्बामा गएका थिए । होटल कासाईमा खाना खाएपछि उनी राष्ट्रपति मिन्ट ३ बजे काठमाडौं फर्किएका थिए । राष्ट्रपति मिन्टको सुरक्षामा नेपाली सेनाको कमाण्डो फोर्स खटिएको थियो । राष्ट्रपति मिन्टलाई नेपाली सेनाका मेजरको नेतृत्वमा १५ जनाको फोर्सले सुरक्षा दिएको थियो ।
यता सुरक्षाको कारण देखाउँदै पत्रकारलाई मायादेवी मन्दिर भित्र, मोनाष्टी गुम्बामा प्रवेश निधेश गरिएको थियो । नेपाल टेलिभिजन र राससलाई अनुमती दिएपछि निजी तथा सामुदायिक सञ्चारमाध्यमका पत्रकारहरु बाहिरी बसेरै भिडियोहरु कैद गरेका थिए ।
गुरुयोजनाको काम ७० प्रतिशत सम्पन्न
अहिले सम्म लुम्बिनी गुरुयोजनाको काम ७० प्रतिशत पुरा भएको छ । सन् १९६७ अप्रिल २३ तारेखमा राष्ट्रसंघका तत्कालीन महासचिव उथान्तले लुम्बिनीलाई अन्तर्राष्ट्रियकरण गर्न गुरुयोजना तयार गरी विकास गर्ने सोच बनाएपछि उनले विश्वविख्यात जापानीज वास्तुविद् प्रो केन्जो टांँगेलाई गुरुयोजना बनाउने जिम्मा दिएका थिए । अब ३० प्रतिशत गुरुयोजनाको काम सम्पन्न गर्न करिव ६ अर्ब लाग्ने बताइएको छ ।बृहत् गुरुयोजनाले लुम्बिनीमा राष्ट्रिय (अन्तर्रािष्ट्रय बौद्ध संस्कृतिका जीवन्त परम्परालाई झल्काउने, लुम्बिनीको ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक र धार्मिक महत्वलाई संरक्षण गरी अन्तर्रा्ष्ट्रिय मापदण्डको पवित्र तीर्थस्थलको रुपमा संरक्षण र संवद्र्धन गर्ने लक्ष्य राखेको पाइन्छ ।विश्वकै बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र तथा सम्पूर्ण धर्मावलम्बीका लागि आकर्षक गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिएको गुरुयोजना उत्तर दक्षिण पाँच वर्ग माइल क्षेत्रमा फैलिएको छ । उत्तरबाट मध्य भागमा एक वर्ग माइलको तीन खण्डलाई क्रमशः पुरातात्विक क्षेत्र पवित्र उद्यान, अन्तर्रा्ष्ट्रिय बौद्ध विहार क्षेत्र र नयाँ लुम्बिनी गाउँसमेत गरी मुख्यतया यो भूखण्डलाई तीन क्षेत्रमा विभाजन गरिएको छ ।राष्ट्रिय गौरवको परियोजनाको रुपमा रहेको यो परियोजनाको गुरुयोजनाअनुरुप निर्माण गर्नुपर्ने कतिपय संरचना निर्माण भइसकेका छन् भने कतिपय महत्वपूर्ण संरचना निर्माणका क्रममा रहेका छन् ।
लुम्बिनीको सबैभन्दा महत्वपूर्ण पवित्र उद्यान क्षेत्र गुरुयोजनाको सबैभन्दा दक्षिणतर्फ रहेको छ । यहाँ मायादेवीको मन्दिर, अशोक स्तम्भ, अशोककाल र पूर्व मौर्यकालका इँटाको संरचना, बुद्धकालसम्मका इँटाको बुट्टा, सांस्कृतिक अवयव, प्राचीन बौद्ध विहारको भग्नावशेष आदि रहेका छन् । सन् १९९७ देखि युनेस्कोको विश्व सांस्कृतिक सम्पदामा सूचीकृत सम्पदा यहाँ रहेका छन् । यस पवित्र उद्यान क्षेत्रमा लुम्बिनी गुरुयोजनाअनुसारको चार पोखरी, विश्व सम्पदास्थल वरिपरिका ८० वर्ग मिटर तथा केही साना गरी ४१ चाक्लामा हरियाली सदाबहार उद्यानको प्रारम्भिक चरणको निर्माणका कार्य सम्पन्न भएका छन् ।
लुम्बिनी गुरुयोजना वरिपरि सुरक्षा पर्खाल निर्माण कार्य सम्पन्न भएको छ भने लुम्बिनीको मेरुदण्डको रुपमा रहेको गुरुयोजनाअनुसारको केन्द्रीय नहर पूरा भई गुरुयोजनाअनुसार नै तीर्थयात्री एवं पर्यटकलाई उत्तरतर्फबाट बुद्ध जन्मस्थलसम्म जान र आउन डुँगा सञ्चालन गरिसकिएको छ । यस्तै प्रो टाँगेले तयार पारेको शैलीमा प्रशासकीय भवन तथा पर्यटक सूचना केन्द्र निर्माण कार्य सम्पन्न भएर सञ्चालनमा आएको छ । लुम्बिनी गुरुयोजनालाई सूचना प्रविधिका तर्फबाट सहज र अत्याधुनिक बनाउन थालिएको छ ।
केन्द्रीय नहरको पूर्वपट्टि १३ देशका विहार निर्माणार्थ छुट्याइएका क्षेत्रमा नेपाललगायतका मुलुकका सात वटा विहार निर्माण भएका छन् भने पश्चिमपट्टि महायानी २९ चाक्लामध्येको भूखण्डमा १२ मित्रराष्ट्रका विहार बन्ने गरी २१ वटा क्षेत्रमा निर्माण कार्य जारी छ ।यस्तै, गुरुयोजनाखअनुरुपको नयाँ लुम्बिनी गाउँको उत्तरतर्फ सर्वसाधारणदेखि पर्यटक बस्ने हाल उच्च तथा मध्यम दुई जापानी होटल तथा सरल श्रीलंकाली तीर्थयात्री आवास निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । गुरुयोजनाको यस क्षेत्रमा कोषको प्रशासनिक भवन, तीर्थयात्री सूचना केन्द्र, संग्रहालय, पुस्तकालय, सभा बैठककक्ष, क्याफे रेष्टुराँ, उपहार पसल, बैंक, प्रहरी सुरक्षा, स्वास्थ्य चौकी जस्ता संरचना रहेको लुम्बिनी सांस्कृतिक केन्द्र क्षेत्रमा लुम्बिनी गुरुयोजनाअनुसारका निर्माण कार्य चलिरहेको छ ।