जयन्ती पुडासैनी काठमाडौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो शिखर सम्मेलन राजधानीमा शुरु भएको छ । बिमस्टेकको रौनक राजधानी उपत्यकाका सडक र भित्तामा मात्रै होइन, सामाजिक सञ्जालमा पनि उस्तै देखिएको छ ।
बिमस्टेक चौथो शिखर सम्मेलनले राजधानी उपत्यका बेहुलीझै सिंगारिएको छ । दिउँसो मात्र होइन, रातका समयमा पनि धपक्क बलेको छ राजधानी । आम नेपालीले कमै कल्पना गर्ने रुप बनाएको छ, राजधानी उपत्यकाले ।
राजधानीका सडक र भित्ता जसरी बिमस्टेकले रंगिएको छ । त्यसरी नै रंगिएको सामाजिक सञ्जाल पनि । बिमस्टेकलाई लिएर सामाजिक सञ्जालमा थरिथरिका टिप्पणी देखिएका छन् ।
कृष्णहरि घिमिरेले सिंगारिएको काठमाडौंबारे आफ्नो फेसबुकमा लेखेका छन्, पारिबाट जन्ती आउँदै छन् रे, यता बेहुली सिंगारिँदैछ । सम्मेलनलाई लक्षित गरी सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ भने सवारीसाधनमा समेत जोर बिजोर प्रणाली लागु गरेको छ । यसैलाई व्यङ्ग्यात्मक शैलीमा सबिना ट्विट गर्छिन्, आज कलेज बिदा किन दिएको रै’छ भनेर बल्ल थाहा पाएँ, आज जोडी मात्र हिँडन मिल्ने रैछ, हामीजस्ता एक्लाहरु कसरी कलेज जाओस त ।
रातारात सजाइएको उपत्यकालाई अर्का एक युवाले देखावटी सिंगारिएको भनेर टिप्पणी गरेका छन् । लेखेका छन्, देखावटी सिंगार गर्नेको भित्रिरुप कस्तो हुन्छ थाहा पाउन नेपालको बिमस्टेक तयारीलाई हेर्दा थाहा हुन्छ । त्यस्तै अर्का युवा श्रीकृष्ण ट्विट गर्छन्, अरु देशका मै हुँ भन्ने राष्ट्रप्रमुखलाई पनि थाहा छैन कि तिनकुनेभित्र के छ । बिमस्टेक सम्मेलनले जसरी राजधानी सिंगारिएको छ, नेपालको वास्तविकता सम्झाउनतिर युवा पुस्ताको स्ट्याटस र ट्विट बढी देखिएका छन् । धेरैको आशय छ, विदेशी पाहुना आउँदा बनेको जस्तै शहर सँधैभर देख्न पाइओस् ।