राजेश जिसी
प्युठान । गाउँमै दालमोठ बनाउने उद्योग खोलेर कार्किडाडाका महिलाहरू स्वरोजगार बन्दै छन् ।
सानो आर्थिक कामका लागी पनि अरूको भरपर्नुपर्ने बाध्यताको अन्त्य गर्दै प्युठान नगरपालिका ४ कार्किडाडाका महिलाहरूले सामूहिक दाल मोठ बनाउन थालेका छन् । गाउँमा घासदाउरा गर्दै आएका उनीहरूले आर्थिक पाटो बलियो बनाउन भन्दै सामूहिक दालमोठ बनाउने पेसामा लागेका हुन् । गाउँका ५ जना महिलाहरूले सामूहिक रूपमा विजुवारको खेलकुद मैदान नजिकै दालमोठ उत्पादन थालेका हुन ।
सामूहिक रूपमा उत्पादन थालिएको दालमोठ उद्योगमा अहिले दैनिक १५ किलोसम्म उत्पादन हुँदै आएको मिलीजुली दालमोठ उद्योगकी अध्यक्ष रेष्मा कार्कीले बताउनुभयो ।‘एक किलो र आधा किलोका दुई प्याकेट उत्पादन गर्दै आएका उनीहरूले साना प्याकेटमा पनि उत्पादन थाल्ने तयारीमा लागेका छन् ।’
स्थानीय रेष्मा कार्की, राधिका महतरा, निम कार्की, गीता कार्की र लक्ष्मी कार्कीले सामुहिक रूपमा दालमोठ उद्योग सञ्चालनमा ल्याउनु भएको हो । ‘गाउँमा बसी घरायसी काम गर्दा आम्दानी नै नहुने भन्दै दाल मोठ बनाउने व्यवसायमा लागेको उहाहरुको भनाई छ ।
प्युठान नगरपालिका र वडा नम्बर ४ को सहयोगमा सञ्चालन गरिएको तालिमबाट उहाहरुले दाल मोठ बनाउन दक्ष भएको सुनाए । सामूहिक दाल मोठ उत्पादन थालेका ५ जना महिलाहरू एकै गाउँका हुन् । ७ दिनको विजुवार भाकामा व्यवस्थापन र ५ दिनको दालमोठ उत्पादन गर्ने तालिम लिएका उनीहरूले अहिले दैनिक १५ किलोसम्म दाल मोठ उत्पादन गर्दै आएका छन् ।
गाउँमै रहेका सामागी्रहरुको प्रयोग गरी दालमोठ उत्पादन गर्दा आफूहरूलाई खुसी लागेको ’अध्यक्ष कार्कीले सुनाउनुभयो ।गाउँमै काम गरेर आम्दानीको श्रोत फेला परेकोमा उनीहरू अहिले साह्रै खुसी छन् । बिहान बेलुका घरको काम गर्न पनि पाइने र दिउसोको समयमा दालमोठ बनाउने उद्योगमा काम गर्दै आएको उहाँले भन्नुभयो । वडाले पनि विभिन्न आवश्यक सामाग्री र उपकरण सहयोग गरेको छ ।
महिलाहरूले मिलीजुली दालमोठ उद्योग समूह गठन गरी सामूहिक रूपमा उद्योग सञ्चालन गरेका छन् । तालिमको व्यवस्था गरी महिलालाई स्वरोजगार बनाउने अभियानमा आफूहरू लागेको वडा अध्यक्ष लक्ष्मी प्रकाश राजभण्डारी बताउनुभयो । बाहिरी जिल्लाको आयातलाई रोक्न वडामै व्यवसाय सञ्चालन गर्न सहयोग गरेको वडा अध्यक्ष भण्डारीले बताउनुभयो ।